ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतमा करदाता कार्यालय स्थापना

२०७७ भदौ, २४  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

पर्वत । पर्वतमा करदाता सेवा कार्यालय स्थापना भएको छ । जिल्लाको कुश्मा नगरपालिका–५ मा सोमवारदेखि कार्यालय सञ्चालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कार्यालयबाट एक जना सेवाग्राहीलाई पान नम्बर दिएर र बोर्डको अनावरण गरी करदाता सेवा कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यालयले सोमवारबाटै सेवा शुरू गरेको हो । बागलुङबाट दिँदै आएको सेवा लिन पर्वतवासीलाई अपायक भएको गुनासो आएपछि पर्वतमै सेवा कार्यालय स्थापना गरिएको आन्तरिक राजस्व कार्यालय बागलुङले बताएको छ । सरकारले २४ ओटा जिल्लामा करदाता सेवा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार पर्वतमा पनि कार्यालय स्थापना गरिएको प्रमुख कर अधिकृत हेमराज सुबेदीले बताए ।

कार्यालय स्थापनापछि करचुक्ता प्रयोजन तथा व्यवसायलाई मूल्य अभिवृद्धि कर तथा स्थायी लेखा नम्बर लिनका लागि बागलुङ जानुपर्ने बाध्यता हटेको छ । जिल्लामा करीब ७ हजार भन्दा बढी करदाताहरू छन् । पछिल्लो समय पर्वतमा मूल्य अभिवृद्धि करबाट कारोबार गर्नेको संख्या पनि पर्वतमा बढिरहेको छ । सरकारले कर्मचारीको व्यक्तिगत पान नम्बर समेतलाई अनिवार्य गरेसँगै करदाताको संख्यामा अझै धेरै वृद्धि हुँदै गएको छ ।

पर्वतको दक्षिणी क्षेत्रका करदातालाई बागलुङ अपायक भएको गुनासो व्यवसायीहरूले गर्दै आएका थिए । शिक्षक, कर्मचारी लगायत अन्य रोजगारीमा रहेकाहरूको व्यक्तिगत पान नम्बर लिनु पर्ने व्यवस्थाका कारण पनि कार्यबोझ बढेको अवस्थामा नयाँ कार्यालयले कुश्माबाटै सेवा दिन थालेको छ । करदाता सेवा कार्यालय सञ्चालन भएपछि पर्वतमा उद्योगी व्यवसायीलाई सहज भएको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्