भदौ २४, कास्की । गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले कास्कीको पोखरा महानगरपालिकाका नौ जना, बाग्लुङ एक जना र नवलपरासीमा एक जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
पोखरा महानगरपालिकाका सात ओटा वडामा नौ जना, बागलुङको तमानखोला गाउँपालिकाका– १ का २६ वर्षीय पुरुष र नवलपरासि (सुस्ता पुर्व) को गैंडाकोट नगरपालिकाका–१ का ५४वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशक डा शर्माले बताए ।
पोखरा र बागलुङका १० जनाको क्षयरोग उपचार केन्द्र पोखरामा जाँच भएको थियो भने गैंडाकोटका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा जाँच गरिएको हो ।
पोखरा महानगरपालिका–१३ का ३८ वर्षीय महिला साउदी अरबबाट आएकी हुन् । पोखरा– १७ का र वार्ड नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङकाका आधारमा फेलापरेको निर्देशनालयले जनाएको छ।
संक्रमित सबैलाई आईसोलेशन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशक डा शर्माले बताए । योसँगै प्रदेशमा संक्रमण हुनेको संख्या २ हजार ६७२ पुगेको छ। गण्डकी प्रदेशमा १ हजार ७६६ जना निको भएर घर फर्किएका छन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल चितवनमा उपचाररत नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ ।
उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पताल कोभिड सघन उपचार कक्षमा भर्ना भएका उनको उपचारका क्रममा मंगलवार साँझ मृत्यु भएको हो ।