ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हेलम्बुमा गोल्डेन एप्पल खेती विस्तार गरिंदै      

२०७७ भदौ, २४  
वाग्मती प्रदेश
Image Not Found

भदौ २४, चौतारा । गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम राखिएको छ ।     

गत वर्ष हेलम्बु गाउँपालिकाले रू.४ लाख लगानी गरी किसानलाई ५० प्रतिशत अनुदानमा इटालीबाट झिकाई २०० स्याउका बोट रोपिएको चार महीनामै असोजमा फल्न शुरु गरेको थियो । गोल्डेन बोलिसेस, फुजी र गाला प्रजातिका स्याउका बोट कलमी भएकाले औसतमा होचो हुन्छ । 

फलेका स्याउ बजारमा पाइनेभन्दा निकै स्वादिलो रहेको कृषि प्राविधिकको जिकिर छ । यस वर्ष करीब ४०० किलोग्राम स्याउ फल्ने पालिकाका पशु तथा कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए ।     

 विदेशबाट झिकाइएका बिरुवा वडा नं १ को हेलम्बु, वडा नं २को किउल र वडा नं ५ को महांकालमा लगाइएको छ । त्यसबाट राम्रो प्रतिफल दिन थालेपछि यस वर्ष पनि रू. १ लाख ७५ हजार लगानी गरी ७५ प्रतिशत अनुदानमा थप २०० बिरुवा झिकाई रोपिएका छन् ।

करीब २६ रोपनी क्षेत्र स्याउको बिरुवाले ढाकेको छ । प्रत्येक वर्ष विस्तार गरिँदै लाने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । त्यहाँ उत्पादित स्याउ हाल स्थानीयस्तरमा खपत हुने बताइएको छ ।     

नेपालमा स्याउको उत्पादन नभएका समयमा विसं २०३० सालमा हेलम्बुमा गोल्डेन स्याउले निकै चर्चा कमाएको थियो । त्यहाँका अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने र घर फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोप्ने गरेका थिए ।

परीक्षणका रुपमा रोपिएका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि कृषकले उत्साहित हुँदै ऋृण गरेर थप बिरुवा लगाएका थिए । तत्कालीन समयमा यातायातको सुविधा नहुँदा पनि ज्यामीद्वारा ढुवानी गरी उत्पादित स्याउ राजधानीसम्म पुग्ने गरेको स्थानीयवासी अझै सम्झने गर्छन् ।

यसरी राम्रो उत्पादन दिंदादिंदै केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउका बोटको नामोनिशान हराएको स्थानीय किसान दुःखेसो सुनाउँछन् ।     

लामो समयको अन्तरालपछि २०६९ सालमा केही स्थानीयवासीले आफ्नै पहलमा भारतका हिमाञ्चल प्रदेश र त्यसअन्तर्गत सिमलाबाट स्याउका बिरुवा पुनः ल्याएर रोपेका थिए । हेलम्बुको मेलम्चीघ्याङ आसपासका गाउँमा रोपिएका ती बोटले उत्पादन दिन थालिसकेका छन् ।     

यस वर्षदेखि स्याउ किसानको समूह बनाई गोडमेल, मलखाद, औषधोपचार तथा अनावश्यक हाँगा काँटछाँट जस्ता सामान्य प्राविधिक ज्ञानका बारेमा तालीम दिने कार्यक्रम रहेको कृषि शाखा प्रमुख बरुवालले जानकारी दिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्