ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘हामीले व्यापार गरेका होइनौं’ : प्रधानसेनापति थापा

२०७७ भदौ, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक कल्याणकारी कोष, पेट्रोल पम्प सञ्चालन, सडक निर्माणलगायत क्षेत्रमा सेनाको क्रियाशीलतालाई व्यापार गरेको अर्थमा नबुझ्न आग्रह गरेका छन् ।

आफ्नो कार्यकालको दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधवार वरिष्ठ सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘हामीले व्यापार गरेका होइनौं । त्यसरी बुझिदिन भएन ।’ नेपाली सेनाको व्यावसायिक गतिविधिमा बढ्दो सक्रियतालाई लिएर आलोचना भइरहँदा प्रधान सेनापति थापाले सैनिक कल्याणकारी कोष, पेट्रोल पम्पलगायतको क्षेत्रबाट आउने रकम सेनापति वा उच्च सैनिक अधिकारीको खल्तीमा नजाने प्रस्ट्याए ।

‘हाम्रो राज्य त्यस्तो अवस्थामा पुगिसकेको छैन, जसले अपेक्षा अनुरूपको सेवा सुविधा दिन सकोस् । यदि हामी कल्याणकारी कोषलगायत क्षेत्रमा क्रियाशील भएनौं भने भोलि सेनामा जागीर खान्छु भनेर को आउँछ ?’ उनले बताए ।  

जसरी बैंकहरूले सीएसआर भनेर कार्यक्रम सञ्चालन गर्छन्, त्यसरी नै कल्याणकारी कोषको काम पनि सीएसआर नै रहेको थापाले बताए ।

‘फरक यत्ति हो कि बैंकले सीएसआरमा एक प्रतिशत खर्च गर्छ भने कल्याणकारी कोषले सीएसआरमा शतप्रतिशत खर्च गर्छ । त्यसकारण यो व्यापार होइन,’ उनले बताए ।

नेपाली सेनामा काम गरेर जागीर छोडेका वा सेवानिवृत्त भएका थुप्रै जवान वा सिपाहीलाई आपूmले काठमाडौंको भोटाहिटीमा ठेलागाडा चलाउँदै गरेको या नारायणगढका सडकमा माग्दै हिँडेको अवस्थामा देखेको थापाले सुनाए । ‘ती दृश्य देख्दा मलाई दुःख लाग्छ । आजको हाम्रो आवश्यकता भनेको त्यस्तो अवस्थाको अन्त्य गर्नु हो,’ उनले बताए ।  

बाहिर प्रचार गरिएजस्तो सेनाले हाइड्रोपावर सञ्चालन गर्ने कुनै निर्णय नगरेको र त्यो छलफलमै रहेको थापाले प्रष्ट पारे । नेपाली सेनाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको र नागरिक सर्वोच्चतालाई सदैव सम्मान गर्ने उल्लेख गर्दै थापाले सेनाको ‘लोकतान्त्रिकीकरण’ भन्नुभन्दा ‘व्यावसायिकीकरण’  भन्ने शब्द प्रयोग गर्नु उपयुक्त हुने धारणा राखे ।

स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डाबीच कुनै द्विविधा नरहेको थापाको भनाइ थियो । स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको म्यान्डेटअनुसार गरिएको भन्दै उनले त्यसका लागि अहोरात्र खटिने जर्नेलहरू र मन्त्रालयका कर्मचारीलाई निरुत्साहित गर्न नहुने उनले बताए ।

औषधि आयातको क्रममा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको स्पष्ट गर्दै थापाले बताए, ‘सरकारको निर्णयबमोजिम नै रक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार प्रक्रियागत रूपमा खरीद गरिएको हो, यसमा कुनै द्विविधा छैन ।’  

कोरोना महामारी नियन्त्रणमा आइसोलेन, क्वारेन्टिन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत काम सेनाले अन्य सुरक्षा अंग र सरकारी निकायसँगको सहकार्यमा गर्दै आएको प्रधान सेनापति थापाको भनाइ छ ।  सम्पादकहरूसँगको अन्तरक्रियामा थापाले सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्ने बताए । ‘यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरू अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो,’ उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्