ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना

२०७७ भदौ, २५  
प्रदेश ०१
NA

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।

१५ ओटा वडा रहेको नगरपालिकालाई प्रांगारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको रू. ३ करोड ३२ लाखको लागतमा एकैठाउँमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको छ’, उनले भने, ‘भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

नगरपालिकाका अनुसार मेशिन तथा औजार खरीदमा रू. १ करोड १७ लाख र ट्रस भवनलगायतका संरचना निर्माणमा रू. ३९ लाख खर्च भएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा १ हजार केजी प्रांगारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताए ।

प्रांगारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्रांगारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि २ रुपैयाँका दरले खरीद गर्ने तयारी गरिएको नगरपालिकाले बताएको छ ।  

उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोक विक्रेतामार्फत विक्रीवितरण गर्ने व्यवस्था मिलाइने बताइएको छ । उद्योगबाट उत्पादित प्रांगारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले बताएको छ ।

उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कोलनीले बताए । प्राविधिकका अनुसार ‘टर्नर’मा काटेर ‘थुम’मा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेशिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।  

प्रांगारिक मल उद्योगसँगै बनाइएको बायोग्यास प्लान्टमा मानव मलमुत्र तथा गाईभैंसीको गोबर हालेर ग्यास उत्पादनको तयारी गरिएको छ । ३ हजार ५०० घनमिटर क्षमताको ‘अन्डरग्राउन्ड डुम’ (ट्यांकी)मा कच्चा पदार्थ हालेर गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिन्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने बताइएको छ ।  

दिक्तेल बजारका शौचालयको ट्यांकीमा रहेका दिसापिसाबलाई सक्सन मेशिनले तानेर बायोग्यास प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैंसीपालन गरिएको छ । ग्यास उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकै रूपमा वितरण गरिने नगरपालिकाले बताएको छ ।

उद्योगमा स्थानीय चार युवाले पूर्णकालीन तथा २५ जनाले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित प्रांगारिक मल नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा समेत विक्री गर्ने लक्ष्य राखिएको बताइएको छ ।

१० ओटा स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई ५ वर्षभित्र पूर्ण प्रांगारिक क्षेत्र बनाउने तयारी भइरहेको छ । प्रांगारिक मलको विकल्पविना पूर्णरूपमा प्रांगारिक नगर बनाउन नसकिने भएकाले प्रांगारिक मल उत्पादन शुरू गरिएको नगरपालिकाले बताएको छ ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्रांगारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा प्रांगारिक मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् । वडा नं–९ निर्मलीडाँडा, १० पाथे, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडाहरू प्रांगारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा प्रांगारिक बन्ने प्रक्रियामा रहेको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्