ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थाहा नगरका किसानलाई बाँदर धपाउने यन्त्र वितरण

२०७७ भदौ, २५  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

हेटौंडा । मकवानपुरको थाहानगरपालिकाका किसानले लगाएको बाली बाँदरले बारम्बार नोक्सान गरेको भन्दै नगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण गरेको छ । नगरपालिकाले प्रतिगोटा रू. २ हजार ५ सयका दरले खरीद गरी बाँदर धपाउने यन्त्र वितरण शुरू गरेको हो ।

बेमौसमी तरकारी उत्पादनका लागि परिचित थाहा नगरमा बाँदरले बालीनाली सखाप पार्न थालेको भन्दै किसानले गुनासो गर्दै आएका थिए । नगरपालिकाले बाँदर धपाउने यन्त्र खरीद गरेर वितरण शुरू गरेको नगरप्रमुख लबशेर बिष्टले जानकारी दिए । नगरपालिका कृषि शाखाले राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरबाट बाँदर धपाउने यन्त्र खरीद गरेको नगरप्रमुख बिष्टले जानकारी दिएका छन् ।

नगरमा बाँदर आतंक नै फैलिएको छ । एक दशकदेखि बाँदरले खेतीबालीमा क्षति पु¥याएर दुःख दिने गरेर किसानलाई आतंकित पारेको छ । जंगलको छेउमा खेतबारी भएका किसानलाई बाँदरले झनै सताउने गरेको छ । कुनै वर्ष बाँदर आतंक कम भयो भने दुम्सी र बँदेललगायतले किसानको अन्नबालीमा क्षति पुर्‍याउँदै आएको थियो । गुलेली हान्ने, पटाका पड्काउने, दिनभर कुर्न बस्ने गरे पनि बाँदर आतंकबाट छूटकारा पाउन नकसकिएको पीडित किसानहरू बताउँछन् ।

बाँदरले खेतबारीका बाली सखाप पार्न थालेको गुनासोपछि नगरपालिकाले बाँदर धपाउनका लागि पहिलो चरणमा ४० ओटा  यन्त्र खरीद गरेको नगरप्रमुख बिष्टले बताए । बाँदरपीडित किसानलाई ५० प्रतिशत अनुदानमा यो यन्त्र वितरण गरिने नगरप्रमुख बिष्टले जानकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महावीर पुनसँग सम्पर्क गरी नगरपालिकाको सिफारिसमा हाललाई ४० ओटा यन्त्र खरीद गरिएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले वडा कार्यालयको सिफारिसमा बाँदरपीडित किसानका लागि यन्त्र वितरण शुरू गरेको हो । नगरका प्रत्येक वडाका लागि तत्काल कम्तीमा ३ ओटाका दरले वितरण गरिने कृषि शाखाले जानकारी दिएको छ । १२ ओटै वडामा वितरण गर्दा एउटा वडाबाट अर्को वडामा भागेर जान सक्ने सम्भावना नरहेको अनुमान गरिएको छ । थाहानगरका ६ ओटा वडा बाँदरबाट बढी प्रभावित छ ।

एक दशकअघि दामनपालुङ उपत्यकाका किसानले बाँदरबाट अन्नबाली जोगाउन नसकेको भन्दै स्थानीय प्रशासनमा निवेदन दिएका थिए । पछिल्ला वर्षमा समुदायले वन व्यवस्थापन गर्न थालेपछि जंगली जनावर बढेको नगरप्रमुख बिष्टले बताए । तत्कालका लागि थाहानगर बाँदर आतंकबाट मुक्त हुने नगरपालिकाको विश्वास छ । थाहानगरबाट बाँदर भगाइए पनि तिनीहरूले अन्य क्षेत्रमा दुःख दिन जाने सम्भावना पनि कायम छ ।

बाँदर धपाउन प्रयोग गरिने यन्त्रमा केरा पकाउन प्रयोग गरिने केमिकल (कार्बाइड) राखेर पड्काउने र त्यसबाट ठूलो आवाज आउने हुँदा बाँदर तर्सिएर पुन सो स्थानमा नफर्किने गरी भाग्ने प्राविधिकको दाबी छ । थाहानगर–३ का किसान सुदर्शन बिष्टले यस प्रकारको यन्त्र प्रयोगमा ल्याइसकेका छन् । यो यन्त्र पड्काउँदा बाँदर भागेको उनले प्रतिक्रिया दिए । केही वर्षदेखि सयौंको संख्यामा बाँदरको समूहले नगरका किसानले लगाएको तरकारी तथा अन्नबाली नष्ट गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्