ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रू. ६० लाख लगानीमा भैंसीपालन शुरू

मासिक आम्दानी नै रू. ४ लाख भन्दा

२०७७ भदौ, २५  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा पनि चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका युवा कुमार सापकोटालाई फुर्सद छैन । बिहानै उठेर भैंसीको स्याहारसुसार गर्ने, दूध दुहुने, बजारमा विक्री गर्ने काममा व्यस्त हुन्छन् उनी ।

उनीजस्तै सोही ठाउँका माधवराज गिरी र टोपनाथ सापकोटाको पनि भैंसीकै स्याहार सुसारमा दिन बित्ने गर्छ । उनीहरूले सिन्धु कुविण्डे कृषि फार्म निर्माण गरी ६० लाख बराबरको लगानी गरेर भैंसीपालन व्यवसाय शुरू गरेका छन् । ११ ओटा भैंसीबाट शुरू गरिएको फार्ममा अहिले १८ ओटा भैंसी छन् । भैंसीबाट दैनिक १३० लिटर दूध उत्पादन हुने गरेको माधवराज गिरीले बताए ।

‘दूध बेचेर मात्रै मासिक रू. ४ लाख भन्दा बढी आम्दानी हुने गरेको छ’, गिरीले भने । भारतको हरियाणाबाट खरीद गरेको भैंसीले स्थानीय जातकाले भन्दा बढी दूध दिने गरेको छ । करीब रू. १ लाख ५० हजार हाराहारीमा खरीद गरिएको एउटा भैंसीले दैनिक सरदर ८ लिटरसम्म दूध दिने गिरीको भनाइ छ ।

फार्ममा उत्पादन भएको दूध जिल्ला सदरमुकाम चौतारामा लगेर विक्री गर्ने गरिएको छ । ‘शुरूमा हामीले यहीँको डेरीमा दूध बेच्थ्यौं’, किसान टोपनाथ सापकोटाले भने, ‘त्यहाँ बजारमूल्य अनुसारको रकम नआउने भएपछि हामी आफैंले गाडी भाडामा लिएर बजार व्यवस्थापन ग¥यौं ।’ बजारमा आप्mनो फार्ममा उत्पादित दूधको माग बढिरहेको उनको बताए ।

‘पहिले आफ्नो घरमा दूध खानका लागि मात्र भनेर भैंसी पालिन्थ्यो । बाँकी दूध कहाँ बेच्ने भनेर चिन्ता हुन्थ्यो’, उनले भने, ‘तर अहिले व्यावसायिक रूपमा भैंसीपालन शुरू गरेपछि बजारमा दूधको माग धान्नै मुश्किल छ ।’ प्रतिलिटर रू. १०० मा दूध विक्री भइरहेको उनले बताए । १०० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको फार्ममा भैंसीका लागि आवश्यक घाँसका बिरुवाहरू समेत रोपिएका छन् ।

उनीहरूको फार्मले ६ जनालाई रोजगारी दिएको छ । अहिले नियमित ४ जना र आंशिक २ जना कर्मचारी छन् । कर्मचारीलाई तलबभत्ता, भैंसीका लागि दाना, घाँस, उपचार, जग्गाको भाडा सबै खर्च कटाउँदा पनि मासिक रू. ३ लाखभन्दा बढी फाइदा हुने गरेको कुमार सापकोटा बताउँछन् । फार्ममा तरकारीखेती पनि गरिएको छ । ‘मल पनि किन्न नपर्ने र जग्गा पनि प्रसस्त भएकाले भैंसी पालनसँगै तरकारीखेती पनि गरेका छौं’, सापकोटाले भने, ‘कम्पोष्ट मल प्रयोग हुने भएकाले तरकारीको माग पनि बढिरहेको छ ।’ काउली, साग, धनियालगायत तरकारी फार्मभित्रै उत्पादन भइरहेको उनको भनाइ छ ।

यो वर्षभित्र ४० ओटा भैंसी पु¥याउने लक्ष्य राखेका उनीहरूले फार्मलाई रिसर्च सेन्टर बनाउने योजना पनि बनाएका छन् । ‘हाम्रो लक्ष्य फार्मलाई रिसर्च सेन्टरको रूपमा विकास गर्ने रहेको छ’, सञ्चालक माधवराज गिरी भन्छन्, ‘त्यसका लागि संरचनाहरू तयार गरिरहेका छौं ।’

कृषि र पशुपालन क्षेत्रमा लाग्नेको संख्या दैनिक घट्दै गएका कारण फार्मलाई रिसर्च सेन्टर बनाएर युवाहरूलाई उत्प्रेरणा प्रदान गर्ने सोच रहेको गिरीले बताए । यसै वर्ष दूधको ब्रान्डिङ गर्ने र ग्रीन हाउस निर्माण गरी तरकारी उत्पादन गर्ने लक्ष्य पनि उनीहरूको छ । चौतारा साँगाचोकगढी नगरपालिकाबाट गोठ सुधारका लागि फार्मले रू. १ लाख र कृषि ज्ञान केन्द्र धुलिखेलबाट रू. १० लाख अनुदान पाएको छ ।

फार्ममा पानीको भने समस्या देखिएको छ । ‘पर्याप्त पानी नभएका कारण अलि समस्या परेको छ’, सञ्चालक टोपनाथ सापकोटाले भने, ‘नजिकै खोला भएकाले स्थानीय सरकारले लिफ्टिङ गरी पानीको प्रबन्ध गरे सजिलो हुने थियो ।’ तरकारी उत्पादनको पनि योजना भएका कारण पानी र सडकको सुविधा हुने हो भने काम गर्न सजिलो हुने गिरीको भनाइ छ ।

भैंसीपालन व्यवसायमा राम्रो आम्दानी भएपछि युवाहरूमा उत्साह छाएको छ । शुरूमा भैंसीपालन गर्न व्यवसाय शुरू गरेको भन्दा अप्ठ्यारो मान्नेहरूले पनि अहिले हौसला दिने गरेको सञ्चालक माधवराज गिरीको अनुभव छ । ‘जीवनमा उद्यम उपरिहार्यता रहेको छ’, उनले भने, ‘कर्म गर्ने हो भने कृषिमा राम्रो सम्भावना छ ।’ भैंसीपालन व्यवसायबाट आफूलाई सन्तुष्टि मिलेको उनले बताए । सरकारले किसानलाई थप प्रेरित गर्ने हो र काम गर्ने इच्छा हुने हो भने कृषि पेशा अन्य पेशाभन्दा उत्कृष्ट रहेको गिरी बताउँछन् ।

फार्म सञ्चालक कुमार सापकोटा पेशाले मेकानिकल सव ओभरसियर हुन् । जागिरबाट चित्त नबुझेपछि वैदेशिक रोजगारीमा गएका उनले फर्किएपछि आफ्नै ठाउँमा पशुपालनको सोच बनाए । सापकोटाजस्तै अर्का सञ्चालक माधवराज गिरी पनि वैदेशिक रोजगारीबाटै फर्किएका हुन् । रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका उनले विदेशको दुःख आफैनै ठाउँमा गर्ने हो भने विदेशमा भन्दा राम्रो कमाई गर्न सकिने बताए । ३ जना युवाले सञ्चालन गरेको फार्म अहिले यो क्षेत्रकै उदाहरणीय बनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्