धनगढी । धनगढी उप–महानगरपालिकामा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम सञ्चालनको सम्बन्धमा सोमवार उपमहानगरपालिका र जर्मन अन्तरराष्ट्रिय सहयोग नियोग (जीआईजेड)बीच सम्झौता भएको छ । धनगढी उप–महानगरपालिकाका तर्फबाट प्रमुख नृपबहादुर वड र जीआईजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंमा भएको सम्झौतामा जर्मन दूतावासका विकास सहयोग प्रमुख डा. स्टेफान रुसेक, जीआईजेड नेपालका राष्ट्रिय निर्देशक डा. एल्क फोस्टर, विभिन्न परियोजनाका प्रमुख प्राविधिक सल्लाहकार, कर्मचारीको उपस्थिति थियो ।
सम्झौता भदौ २२ गते देखि प्रभावकारी हुने नगरप्रमुख नृपबहादुर वडले बताए । ‘यो कार्यक्रम अन्तर्गत फोहोरलाई स्रोतमै पृथकीकरण गरिनेछ,’ नगरप्रमुख वडले भने, ‘स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाबाट उत्पादन हुने संक्रामक फोहोरलाई व्यवस्थापन तथा पुनः चक्रीकरण गरी नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीमा एकीकृत गरिनेछ ।’ उप–महानगरपालिकाले एकीकृत फोहोर व्यवस्थापनका लागि नीति तथा रणनीति तयार गर्ने, फोहोर स्रोतमै उचित पृथकीकरण गर्ने, संक्रामक फोहोर उपचार प्रणालीको स्थापना गर्ने, व्यावहारिक तथा दिगो विकास मोडेलको विकासमा सहयोग गर्नेछ । यसका लागि जीआईजेडले प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने नगरप्रमुख वडले बताए ।