ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्राविधिक अबरोधकाबीच २ अर्बभन्दा बढीको कारोबार, १२.४९ अंकले बढ्यो बजार

२०७७ भदौ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । पूर्ण अनलाईनमैत्री शेयर बजारमा बिहीवार प्राविधिक समस्याकाबीच पनि रू. २ अर्ब २० करोड ९६ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको छ । 

साताको तेस्रो कारोबारको दिन मंगलवारदेखि उकालो लागेको नेप्से परिसूचक बिहीवार पनि १२ दशमलव ४९ अंकले बढेको छ । यसदिन नेप्सेले १ हजार ५२० दशमलव ६९ विन्दुमा टेकेको हो ।

बिहीवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएपछि १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो । अन्तरराष्ट्रिय स्तरको नाम दिएको टिएमएसमा कारोबार रोक्का नै गर्ने गरी समस्या देखिएको यो दोस्रो पटक हो । यसअघि भदौ १४ गते पनि सोही समस्याका कारण बजार प्रभावित बनेको थियो ।

बारम्बार टिएमएसमा समस्या दोहोरिएपछि लगानीकर्ताहरुले भने यसको क्षमता बढाउनुपर्ने माग गरेका छन् । शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले यहि अवस्थामा आगामी दिनमा अनलाईन मार्फत कारोबार गर्न नसकिने बताए । 

लकडाउन अवधिभर घरमै बसेर कारोबार गर्दा यातायात र खाजा खर्च बापत जोगिएको रकम टिएमएसको क्षमता विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । बारम्बार प्रविधिलाई पूर्ण बनाई मात्र लागू गर्न माग गर्दै आएका लगानीकर्ताहरु माथि टिएमएसको समस्याबाट बजारलाई प्रभावित बनाई अन्याय गरेको आरोप बास्तोलाले लगाएका छन् । 

बिहीवार बजार बन्द भएको सूचना नेप्सेले जारी गरेपश्चात पनि विवरणको तथ्यांकहरु परिवर्तन भएको लगानीकर्ताहरुको आरोप छ । यसले भित्रभित्रै कारोबारमा चलखेल भएको अनुमान समेत लगानीकर्ताहरुले लगाएका छन् ।

करीब २ घण्टा कारोबार बन्द भएपछि बिहीवार नेप्सेले साँझ ५ बजेसम्म कारोबार खुला गरेको थियो । प्राविधिक अवरोध पश्चात पनि लगानीकर्ताहरुको सक्रिय सहभागिता बिहीवारको बजारमा देख्न सकिन्छ । यस दिन बीमा समूहको शेयरप्रति लगानीकर्ताहरु बढी आकर्षित भएको देखिन्छ । 

कारोबारमा आएका १२ समूहमध्ये निर्जीवन बीमा समूह र जीवन बीमा समूहको परिसूचकमा उच्च वृद्धि देखिएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३ दशमलव ९ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव १९ प्रतिशत बढेको हो ।

यसदिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक र सर्वसाधारण शेयरसँगै रिलायन्स लाइफ, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड र एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयर करीब १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारणतर्फको शेयरमूल्य बिहीवार ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता रू. १ हजार ८६ ले वृद्धि भएको छ भने संस्थापक तर्फको पनि ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता रू. ९५० ले बढेको छ ।

बुधवारदेखि कारोबार शुरु भएको रिलायन्स लाइफको दोस्रो कारोबार दिन शेयरमूल्य ९ दशमलव ८९ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३७ ले बढेको छ । साताको पहिलो कारोबार दिनदेखि सर्वाधिक प्रतिशतले घट्दै आएको एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य साताको अन्तिम कारोबार दिन भने बढेको हो । 

बिहीवार पनि सर्वाधिक कारोबार गर्ने कम्पनी नेपाल पुनर्बीमा रहेको छ । यस कम्पनीको रू. १७ करोड ४२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । बिहीवार सर्वाधिक रकमको कारोबार गर्ने यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ ले बढेर अन्तिम मूल्य रू. ८९५ कायम भएको हो । 

यसदिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ७१ अंक बढेर ३०१ दशमलव ३८ विन्दुमा पुगेको छ । यो दिन १८९ ओटा कम्पनीको २९ हजार ९९६ पटकको व्यापारमा ४३ लाख २९ हजार ६६५ कित्ता शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्