ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रधानमन्त्री–व्यवसायी कुराकानी

२०७७ भदौ, २६  
तीतो मीठो
author avatar मदन लम्साल

झण्डै ६ महीनादेखि देश कोरोना कहरले बिरामी छ । कोरोना ग्राफ उकालो लागेको लाग्यै छ । अर्थतन्त्रको ग्राफ भने ओरालो लागेको लाग्यै छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था, होटल तथा यातायात सबै बन्द छन् । त्यसैले यसै साता एक हुल व्यवसायी अर्थतन्त्रलाई बचाउन निषेधाज्ञा खोल्न पर्‍यो भनेर प्रधानमन्त्रीलाई भेट्न गएछन् ।

व्यवसायीहरू प्रमको दर्शन भेट पाएर एकछिन त मख्ख परेछन् । तर प्रमको कुरा सुनेपछि छक्क परेछन् । किनकि प्रमले अर्थतन्त्रको स्वास्थ्य राम्रो छ भनेर उल्टै व्यवसायीलाई तीन घण्टासम्म अर्थशास्त्र पढाएर पठाएछन् ।

सरकारले कसरी साँचो बोल्न सक्छ त ? हाम्रो अर्थतन्त्रको हालत यस्तोे छ, उस्तो छ भनेर तपाईंहरूले जस्तै बाहिर गीत गाउँदै हिँड्न मिल्छ र ? यो जापान हो र सत्य बोल्दै हिँड्न ? अनि सत्य बोलेको कस्ले पत्याउँछ र ?

प्रस्तुत छ, उक्त भेटपछि एक व्यवसायीले सुटुक्क सुनाएको प्रम र व्यवसायी बीच भएको कुराकानीको सार :

व्यवसायी : प्रमज्यू, देशमा कृषिबाहेक अरू सबै घरेलु उत्पादन अवरुद्ध छन्, निर्यात ठप्प छ, कच्चापदार्थको आयात पनि घटिरहेको छ, लाखौं श्रमिकले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा सरकार उपभोग बढेको तथ्यांक उत्पादन गरिरहेको छ । सरकारले त झूठो नबोल्नु पर्ने हैन र ?

प्रम : सरकारले कसरी साँचो बोल्न सक्छ त ? हाम्रो अर्थतन्त्रको हालत यस्तोे छ, उस्तो छ भनेर तपाईंहरूले जस्तै बाहिर गीत गाउँदै हिँड्न मिल्छ र ? यो जापान हो र सत्य बोल्दै हिँड्न ? अनि सत्य बोलेको कस्ले पत्याउँछ र ?

व्यवसायी : ६ महीनादेखि वैदेशिक रोजगारीमा जाने मान्छे छैनन् । मिडियाले एक तिहाइभन्दा बढी कामदारले रोजगारी गुमाइरहेको र घर फर्कन लाइन लागिरहेको बताइरहेका छन् । तर, यस्तो बेला रेमिट्यान्स खासै नघटेको तथ्यांक सरकारले निकाल्योे । सरकारले झूठो बोलेको कि मिडियाले ? देशका बहुसंख्यक जनता भोकै मर्ने अवस्था उत्पन्न भइसक्ता पनि अर्थतन्त्र नबिग्रेको भन्न मिल्छ र ?

प्रम : यत्रो बहुमतको सरकारले भनेको पनि नमिल्ने भन्ने हुन्छ ? अरूले भने पो मिल्दैन त ।

व्यवसायी : नेपाली अर्थतन्त्र धेरै हिसाबले भारतसँग निर्भर छ । राष्ट्रवादको चर्को नारा लगाएर सत्तासीन बनेकोे सरकारले भारतसँग आर्थिक निर्भरता कम गर्न कुनै कार्यक्रम अगाडि बढाउनु पर्ने हैन र ?

प्रम : कसरी अगाडि बढाउनु त ? किनकि भारत कुरै गर्न मान्दैन । आफू त फेरि राष्ट्रवादी जो परियो । राष्ट्रवाद र आर्थिक विकाससँगै जान सक्दैन भन्ने पनि हाम्लाई लाग्छ ।

व्यवसायी : यतिबेला सहरबाट कति मानिस गाउँ पुगे, कति गाउँबाट शहर ? कति भारतलगायत विदेशबाट आए, कति फेरि फर्किए ? कतिले रोजगारी गुमाए ? यी कुनै तथ्यांक छैनन् । वस्तुपरक मूल्यांकन गर्न सरकारले सबै तथ्यांक राख्नुपर्दैन ?

प्रम : सरकारले कसको तथ्यांक कहाँ मात्रै खोज्दै हिँड्ने त ? हिजो दौडिएर आए, आज दौडिएर जाँदै छन्, त्यस्तो तथ्यांक किन पो चाहियो र ?

व्यवसायी : यस्तो भयावह स्थितिमा पनि महामारीको रापमा सेकिन नेपालीहरू विदेश जान किन मरिहत्ते गरिरहेका होलान् त ?

प्रम : खै ! सरकारले त ‘कोही भोको बस्नुपर्ने छैन, कोही नांगो हुनुपर्ने छैन, कोही आवाजविहीन हुनुपर्ने छैन’ भनेर नारा लगाइरहेकै छ । सुन्दैनन् कि क्या हो हँ ? उल्टो टुँडीखेलमा भोकाहरू मिलेर परेड खेल्ने ? सरकारलाई बदनाम गर्नेे ? अनि, भोकले टिक्नै नसके राज्यले रोजीरोटीको प्रत्याभूति गर्दिहाल्छ भन्दाभन्दै पनि विदेसिने हो त ? यस्तो संकटका बेला पनि नागरिकहरूले आफ्नै सरकारको भर गरेर बस्न पर्दैन ?

व्यवसायी : देशमा सरकार भएर पनि नभएको जस्तो छ । सबै क्षेत्र तहसनहस भएको छ । तर सरकार मुकदर्शक बनेर बसेको छ त ?

प्रम : देशमा सरकार भएको अनुभूति गर्न जान्नुपर्छ । ह्याँ हामी नेताजीहरू आपसमा सहमति र समझदारी गरिरहेका छौं । केही दिन मात्रै कुर्नुपर्ने न हो नेपाली जनताले । नेताहरूको सहमति र समझदारी भइसकेपछि, कोरोना भन्ने जन्तु देशबाट गइसकेपछि, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सञ्चार, जल, जंगल र जमीनजस्ता प्राकृतिक स्रोत तथा साधनको संस्थागत सामाजिकीकरण कसरी गर्ने भन्ने राष्ट्रिय बहस त्यसपछि शुरू भैहाल्छ नि ।

व्यवसायी : सरकार केही नगरी किन आनन्दसँग सुतिरहेको ?

प्रम : कोरोना नियन्त्रण गर्नै पर्‍यो । यसको एउटै मात्र विकल्प भनेको लकडाउन नै हो । त्यै भएर सरकारले संसारमै सबैभन्दा लामोे लकडाउन गरेकै हो । यत्रो काम नदेख्ने ? लकडाउन गर्देसि न बुद्धि र अर्थको लगानीको झण्झट, न तयारीको लेठो । झ्याप्प घोषणा गर्‍यो, लाठा र बन्दुक सडकमा तेर्स्यायो, नागरिकहरूलाई घरघरमा सुत भन्यो र आफू पनि मस्तसँग सुत्यो । आनन्दै आनन्द । आनन्द लिन पनि जान्नुपर्छ क्या !

चुनावअघि मैले सुती सुती खान पुग्ने बनाइदिन्छु भनेकै थिएँ ।  त्यो वाचा पनि पूरा गरेँ । सरकारमा बसेर जागीर खाएपछि यो कोरोनाको भुसको आगोजस्तो घरघरमा सल्किएको खासै थाहा पनि हुन्न नि । अलिअलि थाहा भए पनि थाहा नपाएको जस्तो गर्नुपर्छ क्या । गर्न क्यै सकिने हैन । अहिलेसम्म कोरोनाको औषधि नै बनेको छैन रे । अनि हाम्रा उपल्लो तहका हाकिम र मन्त्रीहरूलाई गाउँमा जस्तै शहर सुनसान भएको मन पर्ने रैछ । मान्छे नभएको शहरमा शासन गर्न कस्तो हुँदो रैछ भनेर नि । कर उठाउन नपर्ने भए त सदाका लागि बन्द गर्दिन हुन्थ्यो भन्ने पनि लाग्छ ।

व्यवसायी : नेपाली जनताले किन सरकारलाई दिनदिनै सरापिरहेका छन् ? त्यसो भए के नेपाली जनता कोही सद्दे छैनन् त ?

प्रम : सद्दे भएर त हामीजस्ता सद्देहरूलाई नै भोट हालेर जिताएर सरकारमा ल्याएका नि त !

आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर अरू प्रश्न राख्न खोज्दा प्रमले ‘भो अब निद्रा लाग्यो’ भनेपछि व्यवसायीहरू थकित र गलित भएर त्यहाँबाट उठेर घरतिर लागेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्