ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खुुद्रा व्यापारी भन्छन् : यतिका दिन ऋण काढेर जीवन चलाउँदै छौं 

निषेधाज्ञा खुकुलो भएपछि केही राहत महशुस

२०७७ भदौ, २६  
प्रदेश ०१
Image Not Found
author avatar वेदराज पौडेल

भदौ २६, विराटनगर । पछिल्लो समयमा विराटनगरमा लागू गरिएको निषेधाज्ञा विस्तारै खुकुुलो बनाइएको छ ।

बजारमा सामान्य चहल पहल शुरु हुन थालेको छ । तर ठेला, रिक्सा र सडक पेटीमा व्यवसाय गरेर जीविका चलाउनेहरुका लागि स्थिति अझै सहज बनेको छैन । चार महीना लामो लकडाउन र निषेधाज्ञाले उनीहरुलाई जीवन चलाउनै समस्या परेको छ ।

पुरानो पेशा नलेपछि केहीले नयाँ पेसा अंगालेका छन् । केहीले विहान बेलुकाको छाकटार्न ऋण लिएर घर चलाइरहेका छन् ।  लकडाउनका कारण दैनिक मजदूरी गरेर दैनिकी चलाउने वर्ग सबैभन्दा बढी मारमा परेका छन् । 

दैनिक हातमुख जोर्न समस्या भएपछि विराटनगर वडा नं ९ का ज्योति शाहको पनि अहिले पेशा बदलिएको छ । पहिले पानीपुरी विक्री गर्थे पछिल्लो समय दुुई छाक खानका लागि नै सडकमा सब्जि विक्री गर्न निस्किए । लकडाउनका समयमा सब्जि बेच्न जादाँ विभिन्न समस्या भोग्नु परेको उनीहरु सुनाउँछन् । 

लकडाउन शुरु भएको केहि दिन त घरमै बसेको तर लामो  समयको लकडाउनका बीच भोको पेटले बस्न नदिएको उनी बताउँछन् । छाक टार्ने उपाय खोज्दा ठेलामा तरकारी बेच्ने निधो गरियो । एक त कोरोना महामारीको त्रास, अर्कोतिर प्रहरी र नगर प्रहरीको ।

कहिले ढक तराजु नै उठाएर लगिदिने, कहिले सागसब्जि फ्याँकिदिने सम्मका घटनाले उनलाई निकै हत्तोत्साहि बनायो । 

लकडाउन खुलेपछि पहिलेको पुरानै पानीपुरी चटपटेको आफ्नो पुरानै ब्यवसायमा फर्कन चाहन्छन्, उनी । तर कोरोना महामारी नियन्त्रणका लागि लगाउन गरिएको निषधाज्ञा कहिले खुकुलो हुने, कहिले ठप्प हुने हुनाले झन अन्योलमा परेको उनले बताए । अहिले केही सहज भएको छ । तर जिविको पार्जन झन कठिन बन्दै गएको उनले सुनाए । 

विराटनगर– ६ की लक्ष्मी गुप्ता सामान्य अवस्थामा छ जनाको परिवारमा गुजारा राम्ररी चलेको स्मरण गर्छिन् । छोराछोरी पढाउन र कोठा भाडा तिर्न पनि समस्या थिएन । लकडाउनले व्यवसाय ठप्प भएपछि अहिले अहिले कोठा भाडा समेत तिर्न गाह्रो भएको छ, उनलाई । 

पहिले सडक छेउमा कपडा पसल राखेर जिविको गर्दै आएकी उनले पनि लकडाउन लामो समय भएपछि तरकारी विक्री गर्न शुरु गरिन् । अरु पसल राख्न नपाएपनि अतिआवश्यक खाद्य बस्तुभित्र तरकारीसमेत पर्ने भएकाले उनले तरकारी विक्री गर्न थालेकी थिइन् । 

उनले हस्पिटल चोक वरीपरीका क्षेत्रमा ठेला राखेर तरकारी बेच्ने गरेकी छन् । अहिले निशेधाज्ञा भएपनि पहिला जस्तो सास्ति खेप्नु नपरेको उनले बताइन् । लकडाउनका बेला तरकारी बेच्न निक्लदाँ नगर प्रहरीले ढक तराजु नै लगिदिएको स्मरण गर्दै उनले भनिन्, ‘लकडाउनका समयमा यस्तो समस्या म जस्ता धेरैले भोगे ।’

तरकारी विक्री गरेर दिनमा जसोतसो २/ ३०० रुपियाँ कमाई गरेर विहान बेलुकाको छाक टारिरहेकी उनी लकडाउन खुकुलो भएपछि कपडा विक्री गर्न थालेकी छन् ।  तर लकडाउनका बेला मानिसहरुको चहलपहल नभएकाले कपडा पनि विक्री हुँदैन । पछिल्लो समय घरखर्च चलाउन ऋण लिएको उनले बताइन् । उनले भनिन, ‘लकडाउन त मान्छेको लागि हो नि पेटले कुरा बुुझ्छ र ?’ 

विराटनगर– १० का दिपक मण्डलले १८ वर्षभन्दा लामो समयदेखि ठेलामा चटपटे र पानीपुरी बेच्दै आएका थिए । छ जनाको परिवार राम्ररी नै चलेको थियो । लकडाउन शुरु भएपछि तीन महीना जति घरमै बसेको उनले सुनाए । त्यसपछि तरकारी बेच्ने निधो गरे । ठेलामा राखेर सब्जि बेच्न शुरु गरे । तर घाटा लागेको सुनाउँदै उनले भन,े ‘२० दिन मात्रै तरकारी बेचें, ४/ ५ हजार रुपियाँ घाटा लाग्यो ।

अहिले उनले चार दिनदेखि पुनः ठेला निकालेर चटपटे र पानीपुरी बेच्न थालेका छन् । लकडाउनको अवधिमा रू.१ लाख ५० हजार ऋण लिएको सुनाउँदै उनले अव कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको बताइन् । 

विरामी आमाको उपचार खर्च र खानका लागि उनले ऋण लिएका थिए । निषेधाज्ञा केही खुकुलो भएपछि उनले ठेला निकाल्न पाएका छन् । अव केहि सहज होला कि भन्ने आशा जागेको उनले बताए । 

ठेलामा फलफूल विक्री गर्दै आएका रामकुमार दासको पनि समस्या उस्तै छ । लकडाउनको अवधिमा रू.३० हजार घाटा लागेको उनले सुनाए । विक्री नभएर धेरै फलफुल कुहिएर गएको उनले बताए । घरखर्च चलाउनसमेत समस्या भएको अवस्थामा ठेला लिएर फलफूल बेच्न निक्लदा धेरै सास्ति खेप्न परेको उनले सुनाए ।

प्रहरीले पनि धेरै दु : ख दिएको सुनाउँदै उनले भने, ‘यहाँ पहुँच भएका र ठुलाबडाले जसो गर्दा पनि हुन्छ तर हामीले अनेक समस्या झेल्न पर्छ ।’उनले भने, ‘हाम्रो पिडा खै कसले बुझिदिन्छ ?’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्