ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५ ओटा उद्धार उडानमार्फत ओमानबाट ८३० जना नेपाली स्वदेश फिर्ता 

२०७७ भदौ, २६  
समाचार
Image Not Found

भदौ २६, काठमाडौं । नेपाली राजदूतावास ओमानले पाँचौँ उडानमार्फत त्यहाँ रहेका १६५ जना नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई शुक्रवार नेपाल पठाएको छ । राजदूतावासले यात्रु तथा चालक दलका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको जानकारी दिएको छ ।

कोभिड–१९ महामारीपछि हालसम्म पाँच ओटा उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० जना नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जानकारी दिइएको छ ।

शुक्रवारको उडानबाट नेपाल आउनेमध्ये सम्पर्कविहीन झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ । राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान आएकी र विसं २०७० देखि सम्पर्कविहीन रहेकी उनका छोरा नवराज राउतले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्म नै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको जानकारी दिइएको छ । 

साथै मानव तस्करको फन्दामा परी पर्यटक प्रवेशाज्ञामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा आई घरेलु कामदारका रूपमा काम गर्ने क्रममा अलपत्र ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी शुक्रवारकै उद्धार उडानमार्फत नेपाल फर्काइएको मस्कटस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । 

त्यसैगरी सो उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारका रूपमा कार्यरत करीब ६० जना नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूतावास सफल भएको बताइएको छ । विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सम्पूर्ण नेपालीलाई सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गरिन् । 

यात्रामा सहभागी सम्पूर्ण नेपालीले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त गराएकोमा राजदूत तथा दूतावासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । 

उनीहरुलाई सफल घरफिर्ती गराउन, पीडितलाई सम्पर्कमा ल्याउन तथा उद्धारमा प्रत्यक्षअप्रत्यक्ष सहयोग पुर्‍याउने सहयोगी संघसंस्था एवम् व्यक्तिलगायत समस्त नेपाली समुदायप्रति दूतावासले आभार व्यक्त गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्