ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सातामा नेप्से परिसूचक १०.२७ अंक बढ्यो, कुल बजार पूँजिकरण २० खर्ब माथि 

२०७७ भदौ, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । यो साताको कारोबारमा नेप्से परिसूचक १० दशमलव २७ अंक बढेको छ ।

गत साताको अन्तिम कारोबार दिन भदौ १८ गते बिहीवार १ हजार ५१० दशमलव ४२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भदौ २५ गते बिहीवार १ हजार ५२० दशमलव ६९ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिनदेखिनै ओरोला लागेको बजार यो साताको दोस्रो कारोबार दिनसम्म निरन्तर घटेको थियो । 

साताको पहिलो कारोबार दिन १० दशमलव ४५ अंक र दोस्रो कारोबार दिन १२ दशमलव १७ अंकले बजार ओरालो लागेको थियो । तेस्रो कारोबार दिन पनि कारोबारको अन्तिम अवधिमा गएर बजार ७ दशमलव ३५ अंकले बढेर बन्द भएको हो ।

यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ । दुई दिन २२ दशमलव ६२ अंकले बजार घटेको हो भने तीन दिन ३२ दशमलव ८९ अंकले यो साता बजार बढेको हो । 

शेयर बजारको कुल पूँजिकरण यो साताको कारोबारले रू. २० खर्ब २१ अर्ब ७४ करोड ९० लाख पुगेको छ । शेयर बजारले ऐतिहासिक १ हजार ८८१ विन्दु कायम गरेको अवधिकै हाराहारीमा बजारको पूँजिकरण कायम भएको छ ।

नेप्सेले कारोबारमा ऐतिहासिक विन्दु विसं २०७३ साउन १२ गते कायम गरेको थियो । त्यस दिन कुल बजार पूँजीकरण रकम रू. २० खर्ब ५४ अर्ब ५४ करोड ५० लाख थियो । आफ्नो लगानीको मूल्य बढ्दै गएपछि लगानीकर्ताहरु यो क्षेत्रमा लगानी थप गर्न उत्साहित भएको देखिन्छ । 

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा प्रयाप्त तरलता र सस्तो ब्याजदरका कारण शेयर बजारमा लगानी बढेको बजार विश्लेषकहरुले बताएका छन् । सबै क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त भइरहँदा शेयर बजारलाई पूर्ण प्रविधिमैत्री बनाइ कारोबार सञ्चालन गरिएकाले पनि यो क्षेत्र लगानीको प्रमुख आकर्षण बनेको जानकारहरु बताउँछन् ।

गत साता बजारमा रू. ११ अर्ब ९० करोड २४ लाख ४९ हजारको शेयर कारोबार भएको थियो । यो साता भने कारोबार रकम रू. ३७ करोड ९८ लाख ९ हजारले कम भएको छ । यो साता रू. ११ अर्ब ५२ करोड २६ लाख ४० हजार बराबरको शेयर कारोबार भएको हो ।

यो साता अन्तिम कारोबार दिन नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आउँदा बजार प्रभावित भएको थियो । नेप्सेले प्रभावित अवधि थप गरी बिहीवार साँझ ५ बजेसम्म बजार सञ्चालन गरको थियो । टिएमएसको समस्याका कारण १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म बजार बन्द भएको थियो ।

यो साता लगानीकर्ताहरु साना कम्पनीहरुको शेयरमा बढी आकर्षित भएका थिए । लगानीकर्ताहरुले अंकित मूल्यभन्दा कम शेयरमूल्य भएका जलविद्युत् क्षेत्रका कम्पनीहरुको शेयर खरीदमा पनि यो साता बढी रूची देखाए ।

नेप्से परिसूचक गत साताको तुलनामा बढेको भए पनि ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ३ दशमलव ३५ अंक तल झरेको छ । गत साताको अन्तिम दिन ३०४ दशमलव ७३ रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३०१ दशमलव ३८ विन्दुमा झरेको हो । 

साताको कारोबारमा देखिएको परिवर्तनको अवस्था :

स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्