ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्रिय भुक्तानी द्वारको सञ्चालन प्रक्रिया

२०७७ भदौ, २८  
लेख | दृष्टिकोण
Image Not Found

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नेपालभित्र हुने सबै प्रकारको विद्युतीय कारोबारको अभिलेख कायम गरी राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्ने नीति लिएको छ । पछिल्लो समयसम्म ९ संस्थाले बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाइसकेका छन् । बैंक तथा वित्तीय संस्थाले भुक्तानी स्वीच (द्वार)हरू सञ्चालन गरी विदेशी नेटवर्कमार्फत अन्तरआबद्धता कायम गरेकाले प्रतिकारोबार शुल्क लाग्ने गरेको छ ।

विभिन्न भुक्तानी स्वीचको अन्तरआबद्धता, कारोबार सहजीकरण, कार्ड, पोस उपकरणको विस्तार र अभिलेखीकरण गर्नुपर्ने भएकाले राष्ट्र बैंकले भुक्तानी द्वार स्थापना गर्ने निर्णय गरेको हो । बैंकले एटीएमबाट नगद झिक्दा शुल्क लिन नपाइने निर्देशन दिएको छ । तर, यसका लागि स्वीच/द्वार आवश्यक हुन्छ, जसमा शुल्क लाग्छ । महामारीभरि विनाशुल्क कारोबार गर्नु ठीकै होला तर दीर्घकालका लागि आफ्नै स्वीच/द्वार आवश्यक पर्छ ।

कार्ड निष्कासन, वित्तीय संस्थाहरूमा नेटवर्क र पोस टर्मिनलको विस्तार, नगद कारोबारलाई कम गर्ने उपकरणहरूको सञ्चालन, सुरक्षाका मापदण्डको पषलना तथा नेपालमा एक्वायरिङ गर्ने उद्देश्यले स्थापित स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले सन् २००३ देखि एससीटी कार्ड निष्कासन गरेको छ । अन्तरराष्ट्रिय कार्ड नबिल बैंकले सन् १९९० मा शुरू गरेको थियो । शुरूमा आक्रामक व्यवसाय गरेको एससीटी कार्ड भारतमा सञ्चालन नहुने भएकाले नेपाली बैंकहरूले भिसा कार्ड निष्कासनलार्ई प्राथमिकता दिए अनि एससीटी कार्डको बजार क्रमशः खुम्चिँदै गयो ।

विश्वमा ठूलो मूल्यको भुक्तानी प्रणाली केन्द्रीय बैंकले सञ्चालन गरेको पाइन्छ । राष्ट्रिय स्वीच/द्वार केन्द्रीय बैंकले वा बैंकको नेतृत्वमा, बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना गरेको देखिन्छ । यस्तो स्वीचमार्फत गरिने कारोबारको नियन्त्रण र निगरानी केन्द्रीय बैंकले ड्यास बोर्डमार्फत गरी निर्देशन दिने गर्छ ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र प्राइभेट कम्पनीको संयुक्त लगानीमा २०६५ मा नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापना भयो । संस्थाले आईपीएस, कनेक्ट आईपीस र एनपीआईको सञ्चालन गरी चेक र विद्युतीय कारोबारमा क्रान्ति ल्याएको छ । भिसा, मास्टर, जेसीबी, डिनर क्लब कार्डहरूको प्रयोगले नगद कारोबारमा कमी आइरहेको छ । तर, अधिकांश देशले घरायसी कारोबारका लागि स्वदेशी कार्ड निष्कासन गरेका छन् ।

भारतीय रिजर्व बैंकको अगुवाइमा वाणिज्य बैंकहरूको संयुक्त लगानीमा राष्ट्रिय भुक्तानी निगम भारत (एनपीसीआई) ले सन् २०१२ मा रुपे कार्ड निष्कासन गर्‍यो । यस कार्डको ब्रान्डमार्फत विश्वका १९० देशमा कारोबार गर्न सकिने बताइएको छ । बंगलादेशमा स्वीच/द्वार सन् २०१२ मा स्थापना गरी स्वदेशी कार्ड निष्कासन गर्न पूर्वाधारको तयारी हुँदै छ । पाकिस्तानले भुक्तानी स्वीचको स्थापना सन् २०१६ मा गरी ‘पे प्याक’ कार्ड प्रयोगमा ल्याएको छ । दक्षिण एशियामा नेपाल, भारत र पाकिस्तानमा घरायसी कार्ड निष्कासन हुन्छ ।

कार्ड निष्कासन, पीएसपीहरूले प्रदान गर्ने वालेट सेवाको स्वीचिङ, सानो पसलदेखि ठूला डिपार्टमेन्टल स्टोरहरूमा बैंकिङ संस्थाहरूमार्फत आक्रामक रूपमा क्यूआर कोडको बजार प्रवर्द्धन कार्यको स्वीचिङ गर्न स्मार्ट च्वाइस टेक्नोलोजिजलाई राष्ट्रिय भुक्तानी स्वीच/द्वार सञ्चालन गर्न अनुमति प्रदान गर्नु उपयुक्त हुने देखिन्छ । संस्थाले अनुमति नीति २०७३ बमोजिम पुर्‍याउनुपर्ने रू.२५ करोड चुक्ता पूँजी पुर्‍याइसकेको छ । बैंकले कार्ड र पीएसओको अनुमति २०७४/९/१७ मा प्रदान गरिसकेको छ । एससीटी कार्डबाट नेपाल, भारत र भुटानको अतिरिक्त युनियन पे इन्टरनेशनलको सहकार्यमा विश्वका १७० बढी मुलुकमा कारोबार गर्न सकिने बताइएको छ । संस्थामा व्यावसायिक हाउसहरू र बैंक तथा वित्तीय संस्थाहरूको समेत लगानी रहेकाले स्वीचमार्फत हुने कारोबारको सेटलमेन्ट हिमालयन बैंक लिमिटेडमार्फत भइरहेको छ ।

संस्थामा केन्द्रीय बैंकको १० प्रतिशत, ख र ग वर्गका वित्तीय संस्थाहरूको १०/१० प्रतिशत, क वर्गका बैंकहरूको ६० प्रतिशत र निजीक्षेत्रको १० प्रतिशत कायम गरी लिमिटेड कम्पनीका रूपमा राष्ट्रिय भुक्तानी स्वीच/द्वार सञ्चालन गर्न सक्ने देखिन्छ । यस प्रकारको मोडेल अन्य देशहरूका लागि उदाहरण पनि बन्न सक्छ ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाहरू र निजीक्षेत्रको लगानीको अनुपातमा सञ्चालक समिति गठन गर्ने, संस्थाको नियन्त्रण, नियमन, निगरानी तथा नीति निर्देशन राष्ट्र बैंकले दिने, देशभित्र कार्डमार्फत हुने कारोबारको स्वीचिङ र फछ्र्योट संस्थाले गर्ने क्लियरिङ कुनै क वर्गको बैंक वा राष्ट्र बैंकमार्फत गर्न सकिन्छ ।

स्मार्ट टेक्नोलजिजलाई उपयुक्त नामबाट भुक्तानी स्वीच बनाई सञ्चालन गर्दा राष्ट्र बैंकको क्यूआर कोड मापदण्ड लागू गर्न, क्यूआरको विस्तार गर्न, उपकरणहरूको अन्तरआबद्धताबाट पीएसपीहरू कारोबार गर्न सहज गराउन सकिन्छ । साथै, राष्ट्रिय द्वारमा देशभर रहेका पीएसओहरू, ठूलो मूल्यको भुक्तानी प्रणाली, बैंक तथा वित्तीय संस्थाहरू, नेपाल क्लियरिङ हाउस लिमिटेड, सीईएसडी, नेप्सेलगायत संस्थाहरूलाई अन्तरआबद्धता गराउन पनि सकिन्छ ।

राष्ट्रिय द्वारबाट गरिने कारोबारको निगरानी गर्न ड्यासबोर्ड स्थापना र सोको प्रतिवेदन निकाल्ने कार्यको लिंक भुक्तानी प्रणाली विभागमा राख्नुपर्छ । विभागको निगरानीबाट कुन उपकरण बढी वा कम प्रयोग भएको, नगद वा ट्रान्सफर कारोबार, समग्र देशको भुक्तानी प्रणाली कुन अवस्थातर्फ जाँदै छ भन्ने जानकारी लिन सकिनेछ । भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ को दफा ३ मा गठित राष्ट्रिय भुक्तानी बोर्डलाई सूचना प्रवाह गर्न सहज देखिन्छ । उपकरण, डाटा सेन्टर, डाटा रिकभरी साइट, यूएटी, ओएटी नेटवर्किङ, डाटा ट्रान्सफर गर्ने प्रणालीको क्षमताको प्राविधिक विश्लेषण सूचनाप्रविधि विभागबाट गराउनु उपयुक्त देखिन्छ । कार्डसम्बन्धी कार्य गरिरहेको संस्थालाई बैंकको प्रत्यक्ष नियमन, र निगरानीमा बंैक तथा वित्तीय संस्थाहरूलाई सहभागी गराई नेशनल स्वीचलाई मूर्तरूप दिन सकिन्छ ।

स्मार्ट च्वाइस टेक्नोलजिजलाई नेशनल स्वीच बनाउँदा नेपालमा भुक्तानी कार्ड हुने, बैंकको नगदरहित कारोबार गर्ने उद्देश्यमा सहयोग पुग्ने, विदेशी नेटवर्क कम्पनीहरूलाई भुक्तानी गर्ने विदेशी मुद्राको बचत हुने, पसलमा २७ ओटा पोस राख्नुपर्ने बाध्यताको अन्त्य हुने, अर्को कम्पनी स्थापना भई उपकरण खरीद गर्दा दोहोरो रूपमा विदेशी मुद्रा खर्च हुन रोकिने, तथा दक्षिण एशियामा कार्ड सञ्चालनमा तेस्रो मुलुक हुने देखिन्छ । त्यसैले संस्थामा सम्पूर्ण वित्तीय संस्थाहरूले अपनत्व लिई लगानी गर्दा र केन्द्रीय बैंकले अग्रणी भूमिका खेल्दा निकट भविष्यमा आधुनिक भुक्तानीका उपकरण सञ्चालनमा सहज हुने देखिन्छ ।

लेखक आधुनिक भुक्तानी प्रणालीका जानकार हुन् ।

प्रतिक्रिया [1]
User Image

बसन्त शाक्य

[Sep 13, 2020 03:25am]

एकदम जानकारीमुलक लेख। अर्को कम्पनीको टिएमबाट पैसा निकाल्दा शुल्क लिन नपाउने नियमले ग्राहकलाई फाईदा नै होला। तर सेवा प्रदायकहरू यस्तो सेवा प्रदान गर्न उत्साहित होलान् र। राष्ट्र बैंकले समयमै सोच्ने हो कि?


प्रतिक्रिया दिनुहोस्