ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : हवाई रूटबारे अन्योल कायमै

२०७७ भदौ, २८  
समाचार
Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।

ती दुई रूटबारे भारतले सहमति नदिँदा विमानस्थल सञ्चालनको अन्योल पनि यथावत् छ । हवाई रूटमा भारतको असहमति हटाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भए पनि त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि त्यहाँको कर्मचारीतन्त्रका कारण यो विषय टुंगोमा पुग्न नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरूको धारणा छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेयता विभिन्न मञ्चमा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आए पनि त्यसले कुनै सार्थक परिणाम दिन सकेको छैन ।

मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल अंग्र्रेजी वर्ष सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको जिकीर गर्दै आएका छन् ।

२०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसेसमेन्ट) गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले गत असारमा भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशबिन्दु दिन सहमति जनाएको थियो । तर, पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेशबिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्वपश्चिम दुवैतर्पmलाट आउने विमानहरू हालसम्म सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् ।

भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंककलगायत ठाउँबाट आउने हवाईजहाज यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।

नेपालले भारतसँग सिमराबाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको थियो ।

नेपाल बाहिर जाने जहाजले महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट बिन्दु प्रयोग गर्छन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ ।

तर, अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । यस्तै, पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ ।

त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने विज्ञको धारणा छ ।

प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशबिन्दुमार्फत विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि एक १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । महेन्द्रनगर र नेपालगञ्ज रूट तत्काल नदिए पनि हाल सहमति दिएका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रशबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्न बाँकी काम पूरा गर्नुपर्छ,’ उनले भने ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । हालसम्म विमानस्थलको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत रहेको पर्यटन मन्त्रालले जानकारी दिएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अधिकांश उपकरण आइसके पनि अन्तरराष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन नसक्दा जडानका काम प्रभावित भएका छन् । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा रहेको उनले बताए ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा शुरू भएको विमानस्थलको काम विभिन्न अवरोधले धकेलिँदै आएको छ ।

पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थल निर्माण अवधि थपिए पनि कोरोना संक्रमणका कारण थप ढिलाइ हुने देखिएको छ । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन समूहले निर्माण गरिरहेको छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्