ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सवारीसाधन सञ्चालनको सहजीकरण गरिदिन यातायातमन्त्रीलाई व्यवसायीको आग्रह

२०७७ भदौ, २८  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । यातायात व्यवसायीहरूले लामो, मध्यम र छोटो सबै प्रकारका यातायात सञ्चालनका लागि सहजीकरण गरिदिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसँग आग्रह गरेका छन् ।

व्यवसायीको छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र यातायात मजदूर युनियनका प्रतिनिधिले शुक्रवार मन्त्री नेम्वाङलाई भेटेर असोज १ गतेदेखि यातायात सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

मन्त्रीसँगको भेटमा व्यवसायीले सवारीसाधन सञ्चालनको व्यवस्था नगरिए स्वःस्फूर्त रूपमा आफै चलाउने भन्दै विभिन्न मागपत्र पेश गरे ।

सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरेसँगै बन्द सार्वजनिक यातायात साउनमा १ महीना जिल्लाभित्र मात्र सञ्चालनमा आएका थिए । त्यसपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएपछि सवारीसाधन बन्द थिए ।

६ महीने बन्दाबन्दीका कारण प्रत्यक्ष रुपमा ३ लाख ६० हजार यातायात मजदूर र यातायात व्यवसायीका परिवारसहित ४५ लाख बढीको जीवन संकटमा परेको व्यवसायीले बताएका छन् ।

रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि व्यवसायीले निषेधाज्ञा तोडेरै भए पनि सार्वजनिक यातायात सञ्चालनको निर्णय गरी यातायातमन्त्रीलाई जानकारी दिएको महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउँछन् ।

‘सबै सवारीसाधन सञ्चालनका लागि हामीले मन्त्रीज्यूलाई निवेदन गरेका छौं । सहजीकरण नभए असोज १ गतेदेखि निषेधाज्ञा तोडेर लामो दूरीसहितका सबै सार्वजनिक यातायात सञ्चालन गर्छौं,’ उनले भने ।

मन्त्री नेम्वाङले व्यवसायीको माग प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय र कोभिड रोकथाम, नियन्त्रण एवं उपचार केन्द्र (सीसीएमसी)लाई जानकारी दिएर सार्वजनिक यातायात सञ्चालनको मापदण्ड तयारीका लागि पहल गर्ने आश्वासन दिएको कर्माचार्यले बताए ।

यसअघि व्यवसायीले भदौ २५ गते यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सहजीकरणका लागि अनुरोध गरेका थिए । व्यवसायीले सरकारले निर्णय नगरे पनि असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका थिए ।

सोही दिन काठमाडौं जिल्ला प्रशासनले उपत्यकाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि भदौ ३ देखि उपत्यकामा बन्द सार्वजनिक यातायात फाट्टफुट्ट सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्