ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सामुहिक तरकारी खेतीमा किसानको आकर्षण

२०७७ भदौ, २८  
प्रदेश ०१
Image Not Found
author avatar गणेश विष्ट

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सामुहिक रूपमा कृषि व्यवसायमा लाग्ने किसानलाई प्रोत्साहन गर्दै आएको छ । किसानलाई सामुहिक रूपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्रविधिक सहयोग गरेको हो ।

सामुहिक कृषिमा लाग्ने किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले लागत साझेदारीमा आग्र्यानिक तरकारीखेती शुरू गरेको छ । गाउँपालिकाको प्याक्लाका स्थानीय युवाहरूको अगुवाइमा सामुहिक तरकारीखेती शुरू गरेको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले गरेको उक्त कार्यले कृषि पेशामा लाग्न थप टेवा मिलेको स्थानीय किसान दिनेश खत्रीले बताए । ‘युवाहरू दिनप्रतिदिन वैदेशिक रोजगारीप्रति आकर्षित भइरहेका बेला गाउँपालिकाले गरेको यो काम निकै उदाहरणीय छ’, उनले भने, ‘गाउँपालिकाको यस्तो कार्यले हामी युवालाई सामुहिक खेती गर्न प्रोत्साहन मिलेको छ ।’

स्थानीयले बेज वृद्धि कृषक समूह दर्ता गरेर करीब २२ रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उक्त समूहमा ३३ ओटा घरपरिवार आवद्ध छन् । उनीहरूले सिजन अनुसार गोलभेडा, बन्दा, काउली, बोडी, अकबरे खोनार्सीलगायत अग्र्यानिक खेती गरेको अर्का किसान लोकबहादुर कार्कीले बताए । ‘धेरै उत्पादन दिने लोभमा सबैले विकासे मल प्रयोग गर्न थाले । तर, हामी विशुद्ध अग्र्यानिक तरकारी उत्पादन गरिरहेका छौं’, कार्कीले भने ।

गाउँपालिकाले उनीहरूलाई समय–समयमा आवश्यक रूपमा परामर्श तथा प्राविधिक सल्लाह समेत दिने गरेको छ । सामुहिक खेती प्रणालीको विकास गर्ने लक्ष्यका साथ नमूनाका रूपमा कार्य थालनी गरेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । ‘हामीले कृषिलाई प्राथमिकतामा राखेर विगतका वर्षहरूमा कृषि क्षेत्रमा लगानी गरेकाले अहिले हामी तरकारी र अण्डामा आत्मानिर्भर भएका छौं’, राईले भने, ‘अहिले यहाँ उत्पादन भएको तरकारी पालिकाबाहिर समेत विक्री हुन थालेको छ ।’ धेरै सुक्खाग्रस्त क्षेत्र भएकाले कृषिमा काम गर्न निकै चुनौती थियो, यद्यपि, किसानलाई प्लाष्टिक पोखरी निर्माणमा प्रोत्साहन गरेर सिँचाइको व्यवस्था मिलाएको उनको भनाइ छ ।

विगतका वर्षहरूमा अन्य ठाउँबाट तरकारी आयात गर्दै आएको गाउँपालिका स्थानीय तह कार्यान्वयनमा आएसँगै अन्य ठाउँमा निर्यात गर्न सक्षम भएको कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए । गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा गरेको लगानीले किसानहरूको आर्थिक विकासमा टेवा पुगेको स्थानीय किसानको भनाइ छ । गाउँपालिकाले सामुहिक रूपमा किसानलाई आवद्ध गराएर थालेको यो कार्यलाई धेरैले उदाहरणीय मानेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्