ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जगदम्बाको गुणस्तरहीन ३०० टन छड विक्रीमा रोक

२०७७ भदौ, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले शंकर ग्रूपको मुख्य उत्पादन जगदम्बा स्टील्स विक्री वितरणमा रोक लगाएको छ । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी प्रकरणमा जोडिएको व्यापारिक घराना शंकर ग्रूपअन्तर्गतको फलामे छड उत्पादक जगदम्बा स्टील्स प्रालिबाट उत्पादित ३ सय टन उत्पादन गुणस्तरहीन भएको भन्दै विभागले विक्री वितरणमा रोक लगाएको हो ।

बारामा रहेको सो कम्पनीको टीएमटी बार १६ एमएमको छडको संकलित नमूनामा कार्बन र सल्फर (केमीकल) को मात्रा बढी भेटिएपछि विक्री वितरणमा रोक लगाइएको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले छडको नमूना परीक्षण गर्दा तोकेको मापदण्डअनुसार उत्पादन नभएको पाइएको बताए ।

विभागले कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण दिन भने पनि उसले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि विक्रीमा रोक लगाइएको पुडासैनीले जानकारी दिए ।

विभागले कम्पनीले अनुमति मागेको १६ एमएमको छड उत्पादनको इजाजत पनि स्थगन गरेको उनको भनाइ छ ।

विभागले तोकेको मापदण्डअनुसार १६ एमएमको छड उत्पादन गरे र गुणस्तर भए मात्रै कम्पनीले स्थगित इजाजत पुनः प्राप्त गर्नेछ । कम्पनीले अन्य प्रकारका छड भने उत्पादन गर्न पाउनेछ ।

विभागले उक्त परिणामको फलामे छड उत्पादन गर्दा कार्बनको मान अधिकतम ० दशमलव ३० प्रतिशत हुनुपर्ने मापदण्ड बनाए पनि सो कम्पनीले छड उत्पादनमा त्यसको मात्रा शून्य दशमलव ३५ प्रतिशत राखेको देखिएको छ ।

यस्तै, छड उत्पादनमा प्रयोग हुने अर्काे केमिकल सल्फरको मान शून्य दशमलव शून्य ५५ प्रतिशत हुनुपर्नेमा कम्पनीले शून्य दशमलव  शून्य ६० प्रतिशत प्रयोग गरेको पाइएको छ ।

सो कम्पनीको फलामे छड प्रयोग गरेका उपभोक्ता कृष्ण भट्टराईले साउन २९ गते विभागमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

उनले दर्ता गराएको निवेदनमा भनिएको छ, ‘मेरो घर निर्माणको क्रममा मैले प्रयोग गर्दै आएको जगदम्बा स्टील (१६ एमएम) गुणस्तरहीन फेला परेकाले लगानी जोखिम हुन आएकाले यसको पूर्ण छानविन गरिपाऊँ ।’

निवेदनकर्ताले टीपी हार्डवेयर सेन्टर सानो भर्‍याङबाट खरीद गरेको र प्रयोगमा ल्याउँदा स्टील सजिलै भाँचिएको उल्लेख गरेका छन् ।

मुलुकमा कोरोना संक्रमण फैलिएसँगै ज्वरो नाप्नका लागि प्रयोग हुने थर्मल गनमा कालोबजारी गरेको पाइएपछि ग्रूपका सञ्चालक सुलभ अग्रवाल चैत २५ गते काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए । उनले सामान्यतया साढे ३ हजार पर्ने थर्मल गनलाई १५ हजारसम्ममा विक्री गरेको पाइएको थियो । अग्रवालमाथि कालोबजारीसहित विभिन्न चार कसुरको अभियोग लगाई परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले वैशाख दोस्रो साता साढे २५ लाख रुपैयाँ धरौटी बुझाइ रिहा गर्ने आदेश दिएको थियो ।

उनीविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सृजना तथा सार्वजनिक पद दुरुपयोगको आरोपमा मुद्दा चलाइएको थियो ।

विभागले धादिङको मंगला सिमेन्ट उद्योगलाई पनि कारबाही गरेको छ । पीपीसी सिमेन्ट उत्पादनमा एपीएको मात्रा कम भएको भन्दै सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न र पीपीपी सिमेन्टको विक्री वितरण बन्द गर्न विभागले निर्देशन दिएको छ ।

साथै, कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्