ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बोखिमका अधिकांश किसान तरकारीखेतीमा

२०७७ भदौ, २९  
प्रदेश ०१
Image Not Found
author avatar गणेश विष्ट

भोजपुर । जिल्ला सदरमुकाम समेत रहेको भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानहरू तरकारीखेतीमा लागेका छन् । भोजपुर सदरमुकामको कोठेबारीका रूपमा चिनिने बोखिमका अधिकांश किसानहरूले तरकारीखेतीबाट राम्रो आम्दानी समेत गरिरहेका छन् । विगतका वर्षहरूमा पनि तरकारीखेती गर्ने यहाँका किसानहरू वडा कार्यालयले ‘एक घर, एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरेसँगै थप आकर्षित बनेका छन् ।

भोजपुर–५ मा करीब ७०० घरपरिवार छन् । सदरमुकाबाट नजिकै रहेको यस ठाउँका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत पछिल्लो समय तरकारीखेती बनेको छ । वडा कार्यालयले तरकारी खेतीमा लाग्ने किसानहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै किसानलाई सहजता थपिएको किसान खड्गराज राजभण्डारी बताउँछन् । बोखिममा उत्पादन गरिएको खोर्सानी धरान र विराटनगरसम्म पुग्ने गरेको उनले बताए ।

किसानहरूले टनेलमा टमाटर, अकबरे खोसार्नी, तीते करेलालगायत विभिन्न जातका तरकारीहरू उत्पादन गर्दै आएका छन् । यस क्षेत्रका अन्य किसानहरूले पनि आप्mनै लगानीमा पनि व्यावसायिक रूपमा तरकारीखेती गरिरहेको छन् । व्यवसायमा लाग्ने किसानलाई लक्षित गरेर वडा कार्यालयले तालीम तथा विभिन्न समयमा उन्नत जातको बीउविजनका साथै फलफूल जातका बिरुवा समेत वितरण गर्ने गरेको छ ।

आगामी दिनमा स्थानीय सरकारको सहयोग पाए व्यवसायलाई अझ विस्तार गर्ने योजना बनाएको स्थानीय प्रतिक्षा श्रेष्ठले बताइन् । विदेश जानु भन्दा तरकारीखेती गरेर राम्रो आम्दानी लिन सकिने श्रेष्ठको भनाइ छ । वडा कार्यालयले आफ्नो वार्षिक बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भोजपुर–५ का वडाध्यक्ष जसबहादुर राईले बताए । कृषि क्षेत्रमा विनियोजित बजेटले मात्र धेरै काम गर्न असम्भव भएपछि विभिन्न संघसंस्थासँग सहकार्य गरेर पनि वडाले किसानको मागलाई पूर्ति गर्ने गरेको राईको भनाइ छ ।

वडा कार्यालयले आफ्नो तर्फबाट किसानलाई १/१ ओटा टनेल वितरण गरेको छ भने भू–तथा जलाधार कार्यालयसँग समन्वय गरेर गरीब तथा विपन्न परिवारलाई लक्षित गरी २२२ घरपरिवारलाई प्लाष्टिक टनेल वितरण गरेको छ । वडा क्षेत्रका स्थानीयलाई प्रोत्साहन गर्न आगामी दिनमा अझै किसानलक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष राइले बताए । वडा कार्यालयले किसानलाई सिँचाइका लागि स–साना प्लाष्टिक पोखरी समेत सहयोग गर्दै आएको उनको भनाइ छ ।

‘नगरपालिकाको करोडौं बजेटबाट वडालाई जम्मा रू. ४०–५० लाख मात्र बजेट दिन्छ, त्यसमा लक्षित वर्गको बजेट धेरै हुन्छ’, वडाध्यक्ष राईले भने, ‘लक्षित वर्गलाई वितरण गर्दा विकास बजेट थोरै मात्र बच्छ । त्यसमा पनि यो क्षेत्र तरकारीका लागि उपयुक्त रहेकाले यसलाई प्राथमितामा राखेर काम गरिएको हो ।’ वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रसंशा पनि गर्दै आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्