ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अलपत्र नेपालीको उद्धारमा उडान अपर्याप्त

२०७७ भदौ, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न हवाई उडानको अभाव भएको छ ।

सरकारले बेखर्ची बनेका नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर भए पनि उद्धार गर्ने बताइरहँदा उडानको अभावमा उनीहरूलाई नेपालमा ल्याउन कठिनाइ भइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार बोर्डका अनुसार अहिलेसम्म मलेशियाबाट १५ जनालाई मात्रै प्रवद्र्धन बोर्डको रकम खर्चेर ल्याइएको छ । बहराइन, यूएई, कतारलगायत देशबाट अलपत्र कामदारको उद्धार गर्ने तयारी भए पनि उडानको अभावमा ल्याउन कठिनाइ भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

‘पैसा तिरेर नेपाल आउँछु भन्ने त आउन पाएका छैनन्, उडान सहज नभएसम्म हामीले खर्च गरेर ल्याउन सक्ने अवस्था रहेन,’ उनले भने । उनका अनुसार सरकारले तत्काल हवाई उडानलाई सहज बनाई उद्धारमा सहयोग गरिदिनुपर्छ । श्रम मन्त्रालयका अनुसार अहिलेसम्म करीब ५० हजार नेपाली महँगो भाडा तिरेरै भए पनि नेपाल आउन चाहेका छन् । ४० हजारभन्दा बढीलाई सरकारले उद्धार गरेर ल्याउनुपर्ने अनुमान छ ।

यसैबीच, सरकारले उद्धारमा गरिरहेको ढिलाइप्रति संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १ महीनाभित्र विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजागरीमा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा परेका नेपालीहरूलाई १ महीनाभित्र ल्याइसक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरूलाई ल्याउन सरकारले प्रभावकारी काम गर्न नसकेको बताए । ‘वैदेशिक रोजगारी गुमाई अलपत्र अवस्थामा रहेका श्रमिकहरूलाई नेपाल ल्याउने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूबाट प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ समितिको निर्णयमा भनिएको छ, ‘यसरी अलपत्र परेका श्रमिकहरूलाई कम्तीमा १ महीनाभित्र उद्धार गरिसिक्न श्रम रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिन्छ ।’

सभापति श्रीवास्तवले उद्धार कार्यमा आवशयक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरूसँग समन्वय गरी कार्य सम्पादन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्