ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मदिराको अर्थतन्त्र

२०७७ भदौ, २९  
सम्पादकीय
Image Not Found

विदेशी विनिमय सञ्चितिमा दबाब पर्दै गएपछि सरकारले गाडी, सुन, मदिरालगायत विलासी वस्तुको आयातमा कडाइ गर्‍यो । मदिरा आयातमा त प्रतिबन्ध लगाएपछि बजारमा यसको स्टक रित्तिएको छ तर अवैध बाटोबाट मदिरा आउन भने रोकिएको छैन ।

सरकारले विलासिताका वस्तुको आयात घटाउने रणनीतिअन्तर्गत गत चैतको दोस्रो सातादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा रू. २ अर्बको हाराहारीमा विदेशी मदिराको आयात हुने गरेको थियो र यसबापत सरकारले त्योभन्दा बढी राजस्व प्राप्त गर्ने गरेको थियो । मदिरा आयातमा प्रतिबन्ध लागेपछि त्यसबापत आउने सरकारको आमदानी घटेको छ । तर, व्यवसायीहरू भने मर्कामा परेका छन् ।

विदेशी मदिरा आयात हुन दिनुपर्छ, स्वदेशी मदिरा उद्योगको पनि संरक्षण हुनुपर्छ । त्यसो हुँदा मात्र मदिराको बजार सन्तुलित हुन सक्छ र आपूर्ति शृंखला यथावत् रहन सक्छ ।

सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाउनुको मुख्य कारण विदेशी विनिमय सञ्चिति बलियो बनाउनु थियो । तर, मदिराको आयात ठूलो परिमाणमा नहुने भएकाले यसले तात्त्विक असर पारेको देखिँदैन । अहिलेको विदेशी विनिमय सञ्चितिले १२ महीनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । सामान्यतया ७ महीनाका लागि आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चितिलाई पर्याप्त मानिन्छ । यो सञ्चिति बढ्नुमा पेट्रोलियम आयातमा कमी आउनु, गाडी र यसका पार्टपुर्जा आयात कम हुनु प्रमुख कारण हुन् । पर्याप्त सञ्चिति भएको अवस्थामा सरकारले ठूलो राजस्व उठाउने मदिरा आयात खुला गर्नु तर्कसंगत देखिन्छ ।

मदिरामाथि प्रतिबन्ध लगाउँदा मदिरा आयात ठप्प भएको छैन भन्ने देखिन्छ । तस्करहरूले अवैध आयातको नेटवर्क बनाउन थालिसकेको आशंका छ । यस्तो नेटवर्क बन्यो भने यसलाई तोड्न लाग्ने खर्च निकै ठूलो हुन्छ । यस्तो मदिरा उपभोग गर्ने उच्च वर्ग र धनाढ्य नै हुन्छन् । उनीहरूले कुनै न कुनै माध्यमबाट विदेशबाट मदिरा ल्याइरहेका छन् । यसरी मदिरा भित्रिँदा एकातिर सरकारले राजस्व गुमाएको देखिन्छ भने अर्कातिर बजारमा नक्कली विदेशी मदिरा विक्री सहज बनाएको छ । यो जनस्वास्थ्यका लागि घातक हुने देखिन्छ । विदेशी मदिरा स्वास्थ्यका लागि कम हानिकारक हुने बताइन्छ । मदिरा आयातमा प्रतिबन्ध लगाउँदा जनस्वास्थ्यमा सकारात्मक असर पर्ने तर्क पनि गरिन्छ । तर, यसले उल्टो असर गरेको पाइन्छ ।

मदिरा आयात रोक्नुको अर्थ विदेशी मुद्रा जोगाउनु नै हो । तर, दुई अढाइ सय प्रतिशत भन्सार लाग्ने भएकाले थोरै विदेशी मुद्रा खर्च भए पनि राजस्व भने राम्रै उठ्ने देखिन्छ । यति धेरै राजस्व आउँछ भने ट्रेड अफ गर्ने कि नगर्ने भनेर सोच्नु उपयुक्त हुन्छ । मदिरा आयातमाथि प्रतिबन्ध लगाउँदा अवैध आयातलाई प्रोत्साहन मिलेको छ । बरु, सरकारले विदेशी मदिरामा अझै भन्सार बढाउँदा हुन्छ । विदेशी मदिरामा कर बढाउँदा सामान्य जनतालाई असर नपर्ने भएकाले विरोध पनि खासै हुने देखिँदैन ।

मदिरा आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले पहिले गरेको विक्रीको रकम उठाउन सकेका छैनन् । व्यवसायीको पुराना बक्यौता उठ्न नयाँ आपूर्ति व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसो हुँदा यस व्यवसायको आपूर्ति शृंखलालाई जीवित राख्न पनि विदेशी मुद्रा आयात रोकिनु हुँदैन । बाँकीबक्यौता नउठ्दा व्यवसायीले बैंकलाई पैसा तिर्न पनि गाह्रो भएको छ ।

मदिराको व्यापारका सबै खराब पक्ष मात्र छैनन् । अर्थतन्त्रकै कुरा गर्ने हो भने मदिराभन्दा सुन आयातमा प्रतिबन्ध बढी तर्क संगत देखिन्छ । यद्यपि सुनको आफ्नै महत्त्व छ ।

विदेशी मदिरा प्रतिबन्ध गरेर नेपाली मदिरालाई प्रवर्द्धन हुने तर्क पनि गरिन्छ । तर, अहिले नेपाली मदिराको विक्री पनि घटेको छ । व्यवसायीका अनुसार यसको विक्री ३० प्रतिशतमा झरेको छ । त्यस्तै मदिरा कम्पनीका नाफा घटेको छ । नेपाली मदिरा उद्योगमा रू. ५० अर्ब लगानी भएको छ भने यसको वार्षिक बजार ९० अर्बको हाराहारीमा रहेको बताइन्छ । कुल राजस्वमा मदिराको योगदान १७ प्रतिशत रहेको देखिन्छ । यस्तोमा विदेशी मदिरा आयात हुन दिनुपर्छ, स्वदेशी मदिरा उद्योगको पनि संरक्षण हुनुपर्छ । त्यसो हुँदा मात्र मदिराको बजार सन्तुलित हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्