ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महामारीमा निर्यात क्षेत्रको उद्धार

सरकारले गर्नुपर्ने केही काम

२०७७ भदौ, २९  
लेख | दृष्टिकोण
Image Not Found

आर्थिक वर्ष २०७६/७७ को चैतदेखि असार महीनाको अवधिलाई सामान्यतया बन्दाबन्दीको अवधि मान्ने गरिन्छ । त्यस अवधिमा नेपालबाट रू. २२ अर्ब ८० करोड बराबरको निर्यात भएको पाइन्छ, जुन अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिभन्दा ३६ दशमलव ५ प्रतिशतले कम हो । त्यस अवधिमा भटमासको तेल, चिया र जडीबुटीमा मात्र निर्यातमा वृद्धि देखिएको छ । पामतेलको निर्यातमा त्यस अवधिमा मूल्यका हिसाबले सबैभन्दा बढी ह्रास आएको छ । समीक्षा अवधिको अघिल्लो अवधिमा रू. १०.३३ अर्बको पामतेल निर्यात भएकोमा बन्दाबन्दीको अवधिमा त्यो निर्यातमा ह्रास आई रू. २.९७ अर्बमा खुम्चिएको छ ।

समीक्षा अवधिमा निर्यातमा ह्रास आएका अन्य प्रमुख वस्तुहरूमा यार्न, ऊनी गलैंचा, जुट तथा जुटका उत्पादन, तयारी पोशाक, अलैंची, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, फेल्ट, पश्मिना सल, चाउचाउ, मुसुरो, रोजिन र रेजिन एसिड, जुत्ताचप्पल, दन्तमञ्जन, तामा तथा तामाका उत्पादन, हस्तकलाका सामान, अदुवा, नेपाली हातेकागज, सुतीझोला र बोरा, चाँदीका गहना, छाला तथा शिरपोश सामग्री रहेका छन् । उक्त अवधिको निर्यातमा सोयाबिन तेलको अंश मात्रै २३ प्रतिशत रहेको छ ।

यसरी बन्दाबन्दीको अवधिमा कृषिजन्य, वनजन्य, हस्तकला, म्यानुफ्याक्चरिङलगायत सबै क्षेत्रको निर्यातमा ठूलो ह्रास आएको छ । निर्यातको यो अवस्थाले नेपालको निर्यातमा क्षेत्र धक्का सहन गर्ने क्षमता अतिन्यून तहमा रहेको प्रमाणित गर्छ । बढी रोजगारी प्रदान गर्ने ऊनी गलैंचा, तयारी पोशाक, कपडा, फेल्ट, पश्मिना सल, जुत्ता, चप्पल, नेपाली हातेकागज, शिरपोश र हस्तकलाको सामानहरूको निर्यातमा ह्रास आउँदा यसका अर्थसामाजिक गम्भीर प्रभावहरू समाजमा देखिएका छन् । अलैंची, अदुवा, मुसुरोलगायत परम्परागत कृषिजन्य वस्तुको निर्यातमा पनि ठूलो ह्रास आएको छ । यसले नेपालको निर्यातमा कृषिजन्य क्षेत्रमा पनि धक्का सहन गर्ने क्षमता अतिकमजोर रहेको देखिन्छ ।

निर्यात क्षेत्रमा भएको यो अपूरणीय क्षतिका तथ्यांकहरूले केही तात्त्विक संकेतहरू गरेका छन् । पहिलो, बाह्य धक्कामा नेपालको कुनकुन निर्यात क्षेत्र बढी संवदेनशील छ भन्ने तथ्य उजागर गरेको छ । दोस्रो निर्यात क्षेत्रमा बाह्य धक्काको तीव्रता र आयतनका बारेमा पनि प्रमाणमा आधारित एउटा आधार खडा गरेको छ । तेस्रो, बाह्य धक्काबाट प्रभावित क्षेत्रहरूको पहिचान भई ती क्षेत्रको उद्धार गर्न केकस्ता उपाय आवश्यक छन् भन्ने तथ्यांकीय आधार प्रदान गरेको छ ।

यसरी बन्दाबन्दी अवधिमा आएको यस उचारचढावलाई दृष्टिगत गरी संकटमा निर्यात क्षेत्रलाई कसरी उद्धार र सहयोग गर्ने भन्ने विषयमा बलियो आधार प्रदान गरेको छ । विशेष गरी निर्यात क्षेत्रले संकटको यस अवधिमा राख्दै आएका मागहरू सम्बोधन गर्न यस तथ्यांकले बाटो खोलिदिएको छ ।

तथ्यांकका आधारमा नेपालको निर्यात क्षेत्रलाई देहायका उपाय र औजारको प्रयोग गर्नु आवश्यक देखिन्छ ।

निर्यातजन्य उद्योगलाई पर्ने करलगायत आर्थिक दायित्वमा सरकारबाट प्रभावअनुसार समानुपातिक रूपमा छूट प्रदान गर्न जरुरी छ । फर्मका लागि आवश्यक पर्ने नवीकरणका प्रशासनिक खर्चहरूमा निर्यातमा आएको ह्रासका आधारमा छूट र सहुलियत प्रदान गर्नुपर्छ ।

बन्दाबन्दीका कारण निर्यात क्षेत्रमा पर्न गएको असरलाई दृष्टिगत गरी बैंकबाट लिएको ऋण मिनाहा र छूट प्रदान गरिनु पनि आवश्यक देखिन्छ । वर्तमान समयमा विश्वभरि नै सरकारहरूले आफ्ना निर्यात उद्योगहरूलाई यस्ता सुविधा प्रदान गरिरहेका छन् । यस्तो सुविधा जुन विधि र पद्धतिबाट बाह्य मुुलुकमा निर्यात उद्योगहरूले प्राप्त गरिरहेका छन् सोही मोडालिटीमा नेपाली निर्यात उद्योगहरूलाई सुविधा प्रदान गरिनु आवश्यक छ ।

उद्योगमा कार्यरत कर्मचारी र मजदूरको तलबभत्ताका कारण उद्यमीहरूमा पर्न गएको आर्थिक दायित्व अर्को असर हो । यस विषयलाई पनि सरकारले उदार मनले सम्बोधन गर्न आवश्यक छ । विशेषगरी निर्यात उद्योगमा कार्यरत कर्मचारी र मजदूरको तलबको निश्चित अंश सरकारले बेहोर्नुपर्छ ।

आफ्नो उद्योगपरिसर नभएका तर नियमित रूपमा भाडा तिर्नुपर्ने उद्योगहरूलाई पर्न गएको आर्थिक दायित्व सम्बोधन गर्दा एकातिर उद्योगलाई परोक्ष आर्थिक बल प्रदान हुन्छ भने अर्कोतिर घरभाडा लगाउने भाडावालहरूको पनि अवरुद्ध आयको बाटो खुल्छ ।

यी चारओटा पक्षलाई दृष्टिगत गरी निर्यातमा परेको असरको तथ्यांकीय आधारमा निर्यात गर्ने उद्योगहरूमा व्याप्त वर्तमान आर्थिक दुर्दशा न्यून गर्न सकिन्छ । यस विधिबाट निर्यात क्षेत्रलाई सरकारको प्रत्यक्ष परोक्ष आर्थिक सहयोग र समर्थन हुने भएकाले निर्यात क्षेत्रलाई देहायका फाइदा हुने देखिन्छ । प्रथमतः संकटमा परेको आर्थिक दायित्वको समानुपातिक रूपमा भार बटित भई प्रभावको न्यूनीकरण हुन जान्छ । संकटकालमा पनि नेपाली निर्यात उद्योगहरूको प्रतिस्पर्धी क्षमता कायम हुन गई निर्यातमा थप पहिरो जाने अवस्थामा विश्राम आउने देखिन्छ । उत्पादनमा ह्रास आउने अवस्थामा विश्राम आउँदा स्वभावतः कर्मचारी र मजदूरको आम्दानीमा पनि थप टेवा पुग्न जान्छ ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको महामारीमा बजारमा तरलताको अभावमा मागमा संकुचन आई आर्थिक मन्दीको खतराबाट जोगाउन उद्योग, कर्मचारी र मजदूरलाई नियमित आर्थिक सहायता प्रदान गर्ने आम प्रचलन रहेको छ । थप बेरोजगारीबाट जोगाउन खस्किन लागेको र बन्द हुने अवस्थामा पुगेका उद्योगहरूलाई पुनरुत्थान गर्ने गरी आर्थिक सहयोग प्याकेजहरूको व्यवस्था पनि गर्ने गरिन्छ । नेपाली निर्यात उद्योगहरूलाई यस अवधारणाअन्तर्गत नियमित आर्थिक सहायता र उद्धार प्याकेजहरूको व्यवस्था गर्न जरुरी छ ।

निर्यात उद्योगको उद्धारमार्फत अर्थतन्त्रलाई सबलीकरण र चलायमान गर्न यी उपाय र औजारहरूलाई उदारताका साथ अपनाउनु आवश्यक देखिन्छ ।

लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्