ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विदेशी लगानी उद्योगलाई सहुलियत

२०७७ भदौ, ३०  
लेख | दृष्टिकोण
Image Not Found

विदेशी पूँजी र प्रविधिमार्फत स्वदेशमै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन विदेशी लगानीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसैले नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गरी उद्योग सञ्चालनका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ल्याइएको हो ।

विदेशी लगानी गर्न चाहने लगानीकर्ताले लगानीको समयतालिका र कार्ययोजनासहितको विवरण खुलाई सम्बद्ध निकायमा निवेदन दिनुपर्छ । त्यस्तो निकायले निवेदन प्राप्त भएको मितिले ७ दिनभित्र विदेशी लगानीका लागि स्वीकृति दिनेछ । यसरी स्वीकृति प्राप्त गरेको रकम तोकेको अवधिभित्र लगानी गरेको हुनुपर्छ ।

विदेशी लगानी भएका उद्योगलाई नेपालमा स्थापित अन्य उद्योगसरहको औद्योगिक सुरक्षा प्रदान गरिन्छ । त्यस्तो उद्योगलाई सार्वजनिक कामका लागि बाहेक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिग्रहण नगरिने व्यवस्था छ । त्यस्ता उद्योगलाई प्रचलित कानूनको परिधिभित्र रहेर वस्तु वा सेवाको मूल्य निर्धारण गर्न स्वतन्त्र हुने, आफ्नो उद्योगसँग सीमित रही तोकिएबमोजिम व्यापार गर्न रोक नलगाइने, आप्mनो नाफा लैजान, लगानी फिर्ता लैजान, ऋणको साँवा, ब्याज भुक्तानी गर्न प्रतिबन्ध नलगाइने गरी संरक्षण प्रदान गरिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले कर छूट, सुविधा तथा सहुलियत प्रदान गरेको छ ।

विदेशी मुद्रा तथा कारोबारको सुविधा
विदेशी लगानी भएका उद्योग नेपालमा स्थापित कुनै वाणिज्य बैंक वा पूर्वाधार विकास बैंक वा वित्तीय संस्थामा नेपाली मुद्रामा खाता खोली कारोबार गर्न सक्छ । साथै बैंक वा वित्तीय संस्थामा विदेशी मुद्रामा खाता खोली कारोबार गर्ने सुविधा दिइएको छ । तर, त्यस्तो उद्योगले परिवत्र्य विदेशी मुद्राको विनिमयदरमा भएको हेरफेरको जोखिम न्यूनीकरण गर्न बैंक वा वित्तीय संस्थामार्फत स्वीकृत प्राप्त डेरिभेटिभ्स् उपकरणको प्रयोग गर्न सक्छ ।

उद्योगमा काम लगाइएका विदेशी विशेषज्ञ, प्राविधिक वा व्यवस्थापकीय कर्मचारीले पाउने पारिश्रमिक भुक्तानी गर्न, विदेशी मुलुकको पूँजी बजारमा जारी भएको ऋणपत्र वा डिबेञ्चरको साँवा, ब्याज भुक्तानी गर्न, विदेशी लगानी वा सोबाट आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्छ । यसका लागि विदेशी लगानी स्वीकृत गर्ने निकायको सिफारिशमा नेपाल राष्ट्र बैंकको स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने हुन्छ । विदेशी लगानी भएका उद्योगको उच्च व्यवस्थापनमा विशेषज्ञ, दक्ष प्राविधिक, व्यवस्थापन सम्हाल्ने कर्मचारी वा कामसँग सम्बद्ध प्राविधिक कर्मचारीको पूर्ति गर्दा नेपाली नागरिकबाट गर्नुुपर्छ । नेपाली नागरिकबाट हुन नसक्ने अवस्था भएमा अन्य देशका प्राविधिक वा विशेषज्ञलाई काममा लगाउन सकिन्छ । त्यस्ता कामदारले पाउने पारिश्रमिकमध्ये आयकर दाखिला गरीे बचत हुन आएको रकम परिवत्र्य विदेशी मुद्रामा आप्mनो मुलुकमा लैजान सक्छ ।

भिसासम्बन्धी सुविधा
विदेशी लगानी गर्न अध्ययन, अनुसन्धान वा सर्वेक्षण गर्न नेपाल आउने विदेशी नागरिकलाई ६ महीनासम्मको गैरपर्यटक भिसा दिइन्छ । विदेशी लगानीकर्ता वा निजको एक जना आधिकारिक प्रतिनिधिको परिवारको सदस्य जस्तो : पति, पत्नी, आमा, बाबु वा नाबालक छोराछोरीलाई नेपालमा बस्न व्यावसायिक भिसा दिइन्छ । त्यस्तो भिसा न्यूनतम रकम बराबरको विदेशी लगानी कायम रहेसम्मका लागि हुने गरी कानूनमा व्यवस्था गरेको छ । तोकिएको रकमभन्दा बढी लगानी गर्ने लगानीकर्ताको हकमा यो सुविधा दुई जनासम्म आधिकारिक प्रतिनिधि र निजको परिवारको सदस्यलाई यस किसिमको भिसा उपलब्ध गराइनेछ । एकैपटक १० लाख अमेरिकी डलरभन्दा बढी रकम वा सो बराबरको परिवत्र्य विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई न्यूनतम रकम बराबरको विदेशी लगानी कायम रहेसम्मका लागि आवासीय भिसा दिने सुविधा छ ।

जग्गासम्बन्धी व्यवस्था
विदेशी लगानीकर्ताले उद्योग स्थापना गर्न आवश्यक पर्ने जग्गा कानूनबमोजिम प्रक्रिया पूरा गरी आफैले खरीद गर्न वा अन्य उपायद्वारा आफैले जग्गाको व्यवस्था गर्नुपर्छ । विदेशी लगानीकर्ता आफैले उद्योगका लागि आवश्यक जग्गा खरीद गर्न नसकेमा त्यसको बेहोरा खुलाई लगानी स्वीकृत गर्ने निकायसमक्ष अनुरोध गर्नुपर्छ । त्यसरी अनुरोध भएमा सो निकायले आवश्यक सिफारिश, समन्वय र सहजीकरण गर्नेछ ।

विदेशी लगानीमा सञ्चालित हुने उद्योगको लागि हदबन्दीभन्दा बढी जग्गा आवश्यक पर्ने भएमा कानूनबमोजिम उद्योग दर्ता गर्ने निकायले आवश्यक सिफारिश, समन्वय र सहजीकरण गर्नेछ । त्यसरी हदबन्दी नलागेको जग्गा जुन प्रयोजनका लागि खरीद गरेको हो, सोही प्रयोजनका लागि प्रयोग गर्नुपर्छ । राष्ट्रिय व्यवहार गरिने
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ प्रारम्भ भएपछि गरेको विदेशी लगानी नेपालमा रहेको अवधिसम्म सो लगानीको व्यवस्थापन, सम्भार, प्रयोग, हस्तान्तरण, विक्रीमा लागू हुने शर्त नेपाली व्यक्तिले गरेको लगानीको शर्तभन्दा कम नहुने गरी राष्ट्रिय व्यवहार हुनेछ ।

विश्व व्यापार संगठनअन्तर्गत गरिएका सम्झौतामा उल्लिखित बौद्धिक सम्पत्तिको सृजना, त्यसको सीमा, हक हस्तान्तरण वा प्रयोगमा अनिवार्य अनुमति लिनुपर्ने भनी तोकिएको विषय, सार्वजनिक खरीदसम्बन्धी कानूनबमोजिम स्वदेशी उद्योगलाई कुनै छूट वा सुविधा दिएको विषय, नेपाल सरकारबाट प्राप्त हुने अनुदान वा सहुलियत तथा प्रवाह हुने गैरव्यापारिक सेवाको विषय, मानव स्वास्थ्य, जीवजन्तु, वनस्पति वा वातावरण संरक्षणको विषयमा विदेशी लगानी उद्योगलाई राष्ट्रिय व्यवहार लागू हुने छैन । त्यस्तै धितोपत्र बजारमा सहभागी, बीमा पोलिसी वाहक वा दाबीकर्ताको संरक्षण वा कुनै व्यक्तिको आर्थिक स्वार्थ रक्षा गर्ने दायित्व लिएका वित्तीय संस्थाको स्वस्थता, नैतिकता वा नेपाल सरकारले उचित ठानी व्यवस्थापन गरेको वित्तीय सेवाको विषय आदिमा पनि विदेशी उद्योगलाई राष्ट्रिय व्यवहार लागू हुने छैन ।

उद्योगको सञ्चालनविना देशको उत्पादन क्षमता बढ्दैन । त्यसैले औद्यागिकीकरणको माध्यमबाट नेपालमै रोजगारको सृजना गरी उत्पादकत्व बढाउन सकिन्छ । त्यसैले विदेशी लगानीकर्ता तथा उद्योगलाई प्रोत्साहन गर्न कानून बनाई विभिन्न सहुलियत प्रदान गर्नु राम्रो मानिन्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्