ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयरबजारको (अ) विश्वसनीयता

२०७७ भदौ, ३०  
सम्पादकीय
Image Not Found

शेयरबजारको नियामक धितोपत्र बोर्ड नेपाल र बजार सञ्चालक नेप्सेले अनलाइन कारोबार अन्तरराष्ट्रिय स्तरको भनेर दाबी गर्दै बजार बन्द नहुने सुनिश्चित भएको बताइरहे पनि शेयर कारोबारमा विभिन्न समस्या दोहोरिइरहेका छन् ।

प्रत्येक शेयर खरीदविक्री हुँदा त्यसबाट निश्चित रकम बोर्ड र नेप्सेले लिने गरेका छन् । सेवाबापत शुल्क लिएपछि त्यसैअनुसार सेवा दिनु कम्पनीको कानूनी र नैतिक दायित्व हो ।

यसबाट लगानीकर्ता आक्रोशित बन्दासमेत न नियामक निकायले अपेक्षित नियमनको काम गरेको पाइन्छ न त नेप्सेले गल्ती सच्याउन पर्याप्त गम्भीरता देखाएको नै पाइन्छ । अर्थ मन्त्रालयले छलफलका लागि बोलाउनुपर्ने अवस्था आउनु दुवै निकायका लागि लज्जाको विषय हुनुपर्ने हो । बारम्बार दोहोरिने यो समस्याले नियामक निकाय तथा बजार सञ्चालकको क्षमता र नियतमाथि नै प्रश्न उठेको छ ।

प्राविधिक समस्याका नाममा पूर्णरूपमा तयार नभएको र परीक्षण नभएको प्रणाली प्रयोगमा ल्याउँदा दिनहुँ केही न केही समस्या देखिइरहेका छन् । अनलाइन प्रणाली बन्द हुँदा अफलाइन कारोबार भइरहेको देखिन्छ । लगानीकर्ताले चाहेको समयमा किन्न पनि नपाउने र बेच्न पनि नपाउने समस्या दोहोरिइरहने गरेको छ । तर, त्यसलाई सच्याउनभन्दा टालटुल गरेर जसोतसो बजार सञ्चालन गर्दा यसको विश्वसनीयतामाथि प्रश्न उठेको छ । प्रणालीमा समस्या आउ“दा त्यसलाई नच्याउने तर लगानीकर्तालाई समस्यामा पारिरहने प्रवृत्ति कुनै पनि हालतमा उपयुक्त मान्न सकिँदैन ।

बजारको प्रणालीलाई विश्वास गरेर लाखौं लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गरेका छन् । कोरोना महामारीमा बजारमा प्रशस्त नयाँ लगानीकर्ता थपिएका छन् । ती लगानीकर्तालाई आश्वस्त र विश्वस्त पार्नुपर्ने जिम्मेवारी नियामक र बजार सञ्चालकमाथि थपिएको छ । अहिले शेयरबजार विस्तार गर्न र स्थायित्व दिन अवसरसमेत हो । तर, यो जिम्मेवारी पूरा गर्न दुवै निकाय चुकेको देखिन्छ ।

नेप्सेले निजी कम्पनीसँग किनेको सफ्टवेयरमा बारम्बार समस्या आउने गरेको छ । सफ्टवेयर निर्माता कम्पनीको गल्ती हो भने त्यसलाई सच्याउन लगाउने काम नेप्सेको हो । नेप्सेको गल्ती छ भने त्यसलाई निर्देशन दिने वा कारबाही गर्ने काम बोर्डको हो । तर, कोही पनि जिम्मेवार नबनी बारम्बार उही प्रकृतिको समस्या दोहोरिइरहँदा खालि प्राविधिक समस्या भन्दै उम्कने प्रवृत्तिले नियामक र बजार सञ्चालक दुवैको नियतमाथि आशंका उब्जाएको छ । प्रत्येक शेयर खरीदविक्री हुँदा त्यसबाट निश्चित रकम बोर्ड र नेप्सेले लिने गरेका छन् । सेवाबापत शुल्क लिएपछि त्यसैअनुसार सेवा दिनु कम्पनीको कानूनी र नैतिक दायित्व हो । यदि कुनै त्रुटि हुन्छ भने त्यसलाई सच्याइनुपर्छ बारम्बार गल्ती हुन्छ भन्ने नियममाथि शंका गरिन्छ, प्रमाणित हुन्छ भने कारबाही गरिनुपर्छ । अहिलेसम्म सफ्टवेयर निर्माता, बोर्ड र नेप्सेमाथि कुनै पनि कारबाही भएको छैन । तर, लगानीकर्ताले बारम्बार हैरानी बेहोरिरहेका छन् । यही कारण कतिपयले नोक्सानी बेहोर्नुपरेको अवस्थासमेत छ । यो गल्तीको जिम्मेवारी कसले लिने ? लगानीकर्ताले प्रश्न गर्न थालेका छन् ।

हो, विश्वभरि नै अनलाइन कारोबार प्रणालीमा समस्या आउँछ, त्यो अनौठो होइन । तर, तिनको समाधानका लागि परिणाममुखी र लगानीकर्ताले अनुभूत गर्ने गरी सुधारका काम नहुँदा नै लगानीकर्ताको आक्रोश बढेको हो ।

सेवाशुल्क तिरेर पनि लगानीकर्ता किन हैरानीमा पर्ने ? अर्बौंको व्यवसाय सेवाशुल्क लिने अनि सिस्टमचाहि“ किन यस्तो ? त्यो कमिशनको रकम कहाँ जान्छ ? सेवाग्राहीको लाभ किन हेर्दैनन् ? भन्ने लगानीकर्ताको प्रश्नको जवाफ बोर्ड र नेप्सेले दिनुपर्ने हो । तर, अर्थ मन्त्रालयमा गएर समस्या सुधार्छौैं भन्दैमा नियामक निकाय र बजार सञ्चालकले उन्मुक्ति पाउने हो भने यस्तो समस्या बारम्बार दोहोरिइरहने सम्भावना देखिन्छ । अझ, अर्थ मन्त्रालयले बोलाएर निर्देशन दिनुपर्ने हो भने स्वतन्त्र नियामक किन चाहियो ? नियामक निकायले आफ्नो क्षमता प्रयोग गर्न नसक्ने हो भने शेयर बजारमा हुने अनेक विकृति रोक्न कठिन हुनेछ । यस्तोमा बजारले विश्वास गुमाउने सम्भावना बढी देखिन्छ ।

प्रतिक्रिया [1]
User Image

शिव प्रसाद अर्याल

[Sep 17, 2020 06:22am]

नेपाल मा प्रजा तन्त्र गाणु तन्त्र जेसुकै आय पनि जनता लुटने काम मात्र भयो कोरोना भन्दा सरकार संग पो डराउनु पर्ने भयो कठै हामी नेपाली ।


प्रतिक्रिया दिनुहोस्