ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शैलुङ र होनिकोलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिश

२०७७ भदौ, ३०  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताबमोजिम समयमा युरिया मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई सार्वजनिक खरीद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्न सार्वजनिक खरीद अनुगमन कार्यालयमा सिफारिश गरेको छ ।

कृषि सामग्रीले शैलुङ र होनिकासँग गत वैशाख दोस्रो साता २५/२५ हजार मेट्रिक टन मल खरीदका लागि ठेक्का सम्झौता गरेको थियो । दुवै कम्पनीले भदौ २० गतेसम्म मल आयात गरिसक्नुपर्ने थियो ।

सम्झौतामा उल्लेख भएअनुसार साउन ८ गतेभित्र मल आयात गरिसक्नुपर्ने थियो । तर, ती दुई कम्पनीले कोरोना महामारीका कारण आयातमा ढिलाइ हुने भन्दै म्याद थपका लागि आग्रह गरेपछि २५ दिनको समय थपिएको थियो ।

कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी यी दुवै कम्पनीले किसानलाई अत्यावश्यक पर्ने मलको आपूर्ति समयमै गर्न नसकेका कारण कालोसूचीमा राखी कारबाही गर्नुपर्ने बताउँछन् ।
भदौ २१ गते नै कालोसूचीमा राख्ने निर्णय गरे पनि आवश्यक कागजात मिलाउनुपर्दा सार्वजनिक खरीद अनुगमन कार्यालयमा पेश गर्न समय लागेको उनले जानकारी दिए ।

सम्झौताबमोजिम मल आयात गर्न नसक्दा यसअघि सरकारले भदौ २१ गते यी दुवै कम्पनीको ठेक्का रद्द गर्नुका साथै धरौटी रकमसमेत जफत गरेको थियो ।

उच्च अदालतद्वारा कारबाही रोक्न अल्पकालीन अन्तरिम आदेश
उच्च अदालत पाटनले यी दुवै कम्पनीविरुद्धको कारबाही रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलाशले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीविरुद्ध गरिएको सम्झौता खारेज र धरौटी रकम जफतको कारबाही कार्यान्वयन नगर्न कृषि सामग्री कम्पनी लिमिटेडको नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका उपरजिस्ट्रार ईश्वर आचार्यका अनुसार ठेकेदार कम्पनीले कृषि सामग्रीको निर्णयविरुद्ध रिट निवेदन पेश गरेकामा भदौ ३१ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ । ‘हामीले भदौ ३१ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगर्नू भनेका हौं । निर्णय कार्यान्वयन हुने/नहुनेबारे त्यस दिनको छलफलपछि मात्रै टुंगो लाग्नेछ,’ उनले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्