ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिन्धुपाल्चोकमा ३ महीनामा २५ बाढीपहिरो

७३ को मृत्यु, ४२ जना अझै बेपत्ता

२०७७ भदौ, ३०  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । वर्षा शुरू भएयता ३ महीनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोका २५ ओटा घटना भएका छन् । असारयता मात्र बाढीपहिरोबाट ७३ जनाको ज्यान गएको छ भने हालसम्म ४२ जना बेपत्ता छन् ।

आइतवार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा १३ जनाको मृत्यु भएको छ भने १८ जना अझै फेला परेका छैनन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका १२ र ९ मा आएको बाढी पहिरोले दुईजनालाई बगाएको थियो भने एकजना हालसम्म पनि बेपत्ता छन् ।

साउन ३० गते सिंगो गाउँ नै पुरिनेगरी आएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाए । सो पहिरोमा हालसम्म दुईजना हराइरहेका छन् । यस्तै असार २४ बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउनेगरी आएको पहिरोले दुईजनाको मृत्यु भयो भने १७ जना हालसम्म बेपत्ता छन् । सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा बाढीले बगाएर एक जनाको ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गााउपालिका–४ फुल्पिङमा पहिरोले पाँच जनालाई पु¥यो । साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा ९ जनाले ज्यान गुमाए ।

यसैगरी मेलम्ची खानेपानीको गेट फुट्दा खोलाको बेगले २ जनलाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका २ वरुवामा एक दम्पतीले पहिरोमा परि ज्यान गुमाए । सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम सुरु भएयता ७३ जनाले ज्यान गुमाएका छन् ।

पहिरोमा हालसम्म ४२ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र सुनकोशी गाँउपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौं परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण बाह्रबीसे नगरपालिकाका सबैभन्दा बढी १४ सय ४१ घरधुरी स्थानान्तरण गर्नुपर्ने देखिएको छ । यस्तै भोटेकोशीमा ८ सय ७५, जुगल गाउँपालिकामा ४ सय ८, मेलम्ची नगरपालिकामा १ सय ४३ पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाँउपालिकामा ८४, लिसंखुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

जिल्लामा पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट १० लाख, पहिरोले आवास विहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार र पहिरो पीडितलाई १० लाख ९ हजार राहत वितरण गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । विगतका अध्ययनहरूले बाह्रबिसे क्षेत्र पहिरोको उच्च जोखिममा रहेको देखाएका छन् । ‘भोटेकोशी र सुनकोशी क्षेत्रको भूबनोट अत्यधिक कमजोर छ, त्यसकारण सो क्षेत्रमा बढी बाढी पहिरो गइरहेका छन्,’ भूगर्भविद् मेघराज धितालले भने, ‘यो वर्षको मनसुनमा धेरै वर्षा भएकाले बाढी, पहिरो लगायत विपद्का घटना बढेको छ ।’ जुरेको भीषण पहिरोपछि विज्ञहरूले उक्त क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । उनीहरूले भोटेकोशी र सुनकोशी जलाधारसहितको समग्र क्षेत्रलाई पहिरोको जोखिमयुक्त भनेर सूचीकरणसमेत गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्