ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि खोल्ने सरकारको निर्णय 

२०७७ भदौ, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

अब शुरु हुने उडानमा विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने तथा मास्क, भाइजर, स्यानिटाइजर अनिवार्य गरिएको छ । यस्तै लामो दूरीमा सवारीसाधन सञ्चालन हुँदा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउने भएका छन् ।

यसैबीच सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको सन्र्दभमा भारतसँगको नाकाबाट प्रवेशमा कडाइ गर्ने तर अत्यावश्यक अवस्थामा १० ओटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय भएको हो । 

यस्तै भारतबाट थप २ नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय भएको हो । यस्तै चीनको रसुवागढीबाट नाकाबाट प्रवेश खुला गर्ने निर्णय भएको उनले बताए ।

यस्तै कोरोना भाइरसलाई हल्का ढंगले नलिन सरकारले सबैलाई अपिल गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले एकसाथ स्वास्थ्य र आर्थिक संकट सामना गरिरहेको र दुवैमा सम्झौता गर्न पनि नसक्ने बताए । 

‘अझै जोखिम बढिरहेको छ, हामी पिकमा पुगेर तल झरिसकेको अवस्था छैन । यस्तो बेला थप सेवा क्षेत्रहरु अझ खुकुलो हुँदा स्वास्थ्य जोखिम बढाउँछ । यस्तो बेलामा प्रत्येक नागरिकले कोरोना भाइरसविरुद्धको लडाईमा म पनि अग्रपंक्तिको सिपाही हो भन्ने ठान्नुहोला,’ उनले भने । 

अहिलेसम्म सरकारले जारी गरेको आदेशहरुलाई नागरिकले पालना गरेको र जनताको सहयोगमै कोरोना भाइरसको संकटलाई भयावह हुनबाट सापेक्षित रुपमा टार्न सफल भएकोे बताउँदै उनले केही सञ्चारमाध्यममा कोभिड-१९ केही होइन भन्ने बहस भएको भन्दै उनले कोभिड-१९ को संक्रमणलाई अवमूल्यन गर्ने र हल्का नठान्न आग्रह समेत गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्