ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

२०७७ भदौ, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

वर्तमान ओली सरकारबाट अर्थमन्त्रीको दोस्रो कार्यकाल सकेर विदा भएका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । 

पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसहित सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको जानकारी दिए । 

प्रधानमन्त्री ओलीका निकट मानिने खतिवडालाई प्रधानमन्त्रीले राष्ट्रिय सभाको रिक्त एक सिटमा पुनः मनोनित गर्दै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेपनि पार्टी भित्रको दबाबमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

ओली सरकारमा दुई कार्यकाल अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका खतिवडाले पछिल्लो समय सेक्युरिटि प्रिन्टिङ प्रेसको खरीद प्रकरणका कारण तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि सञ्चार मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए । 

संवैधानिक व्यवस्थाअनुसार मन्त्री कायम रहन संसद सदस्य हुनैपर्ने र नभएमा मन्त्री बनेको ६ महीनाभित्र सांसद बन्नुपर्ने बाध्यकारी व्यवस्था रहेको अवस्थामा खतिवडा पुनः सांसद नबनेपनि उनको अर्थमन्त्रीको दोस्रो कार्यकाल गत भदौ २० समाप्त भएको थियो । 

डा. खतिवडाको दुवै कार्यकालका विषयमा पार्टी भित्रै असन्तुष्टि रहेपनि ओली भने निरन्तर खतिवडाको बचाउमै रहनु भएको थियो । यो नियुक्तिसँगै खतिवडा सरकारी सेवाबाट अवकाश प्राप्त पूर्व कर्मचारी मध्ये सबैभन्दा बढि सरकारी नियुक्ति अवसर पाउने व्यक्ति बनेका छन् । 

प्रधानमन्त्रिले खतिवडालाई थप जिम्मेवारी दिने कुरा खतिवडाको विदाइ पश्चात उद्योग वाणिज्य क्षेत्रका अगुवासँग वालुवाटारमा भएको छलफलमा नै संकेत गरिसक्नु भएको थियो । 

खतिवडाको राजिनामा पछि अर्थ मन्त्रालय आफैले हेर्दै आउनुभएका प्रधानमन्त्रीले मन्त्रीसरहकै सुविधा दिई उनै खतिवडालाई सरकारको आर्थिक मामिला हेर्ने जिम्मेवारीमा फर्काउनु भएको हो । यो निर्णयले खतिवडा मन्त्री नरहेपनि अर्थ मन्त्रालय अन्ततः खतिवडाकै तजविजमा चल्ने स्थिती देखिएको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्