ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६० वर्षमा पहिलो पटक खुम्चने क्रममा एशियाली अर्थतन्त्र 

२०७७ भदौ, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ ३०, टोकियो (जापान) । कोरोना भाइरसको महामारीका कारण एशियाली अर्थतन्त्र यस वर्ष खुम्चने क्रममा रहेको छ । यो संकुचन सन् १९६० को दशकयताकै पहिलो संकुचन हुनेछ । 

बहुपक्षीय कर्जादाता निकाय एशियाली विकास बैंक (एडीबी)का अनुसार सन् २०२० मा यस क्षेत्रको कुल गाहस्थ्य उत्पादन (जीडीपी) शून्य दशमलव ७ प्रतिशतले खुम्चने छ । यस अघि जुनमा गरिएको प्रक्षेपणमा भने अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले बढ्ने बताइएको थियो । यो संकुचन सन् १९६२ यताकै पहिलो हुने एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावडाले भने ।

‘कोभिड–१९ ले उत्पन्न गराएको आर्थिक जोखिम प्रबल छ,’ उनले भने । विकसित एशियाली अर्थतन्त्रमा मन्दी यस अघिका संकटको भन्दा यस पटक व्यापक रहेको उनको भनाइ छ । यस वर्ष एशिया क्षेत्रका तीन चौथाई अर्थतन्त्र खुम्चने क्रममा रहेको उनले बताए । यद्यपि, यो प्रवृत्तिलाई पाखा लगाएर चिनियाँ अर्थतन्त्र यस वर्ष १ दशमलव ८ प्रतिशतले विस्तार हुने बैंकको प्रक्षेपण छ । 

यसअघि पनि बैंकले चीनको लागि यही प्रक्षेपण गरेको थियो । आगामी वर्ष भने त्यहाँँको अर्थतन्त्र ७ दशमलव ७ प्रतिशतले बढ्ने बताइएको छ । लकडाउनका कारण यस वर्ष भारतीय अर्थतन्त्र ९ प्रतिशतले खुम्चने पछिल्लो प्रक्षेपणमा भनिएको छ । फिलिपिन्स र थाईल्याण्डको अर्थतन्त्र भने क्रमशः ७ दशमलव ३ प्रतिशत र ८ प्रतिशतले बढ्ने अनुमान छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्