ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डिजिटल बैंकिङ र नेपाली सन्दर्भ

बढ्दो कारोबारले जगाएको आशा

२०७७ भदौ, ३१  
लेख | दृष्टिकोण
Image Not Found

भौतिक रूपमा नै बैंकमा उपस्थित भएर मात्र गर्न सकिने परम्परागत बैंकिङ गतिविधिलाई प्रविधिको प्रयोग गरी विद्युतीय माध्यमबाट सम्पन्न गर्न सकिने अवस्थालाई डिजिटल बैंकिङको आयामले समेटेको हुन्छ । अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एकीकृत भुक्तानी प्रणाली, डिजिटल वालेट, फोन र एसएमएस बैंकिङ, स्वचालित महसुल भुक्तानी, जानकारी, सन्देश सेवादेखि लिएर व्यक्तिगत वित्तीय योजना सेवासमेत डिजिटल बैंकिङका आयाम हुन् ।

अन्तरराष्ट्रिय जगत्मा फोटो मात्र होइन, हस्ताक्षर समेत डिजिटल माध्यममा प्राप्त गर्न सकिने कुरालाई वैध बनाइसकिएको सन्दर्भमा हाम्रोमा भने ग्राहक पहिचानका लागि केन्द्रीकृत निकायको अभाव छ ।

डिजिटल खाता खोल्ने सुविधा
कोरोना महामारीका कारण पहिलो चरणमा बन्दाबन्दी भएको अवस्थामा नै कतिपय नेपाली बैंकले खाता खोल्नका लागि नयाँनयाँ प्रविधि सार्वजनिक गरे । कसैले मोबाइलको एपमार्फत समेत खाता खोल्ने सुविधा घोषणा गरे भने कतिपयले भाइबर, व्हाट्सएपजस्ता मध्यमलाई समेत प्रयोग गर्न सकिने प्रविधिको विकास गरे ।

तर, बैंकको प्रत्यक्ष सम्पर्कमा नआई खाताहरू सुचारु गर्न नमिल्ने कानूनी तथा नियामकीय व्यवस्थाले ग्राहकलाई बैंकसम्म पुग्नै पर्ने बाध्यता छ ।

अन्तरराष्ट्रिय जगत्मा फोटो मात्र होइन, हस्ताक्षरसमेत डिजिटल माध्यममा प्राप्त गर्न सकिने कुरालाई वैध बनाइसकिएको सन्दर्भमा हाम्रोमा भने ग्राहक पहिचानका लागि केन्द्रीकृत निकायको अभाव छ । कतिपय अवस्थामा त ग्राहकको अँगुठा छापलाई अनिवार्य गरिएको छ । ग्राहक पहिचानका लागि विशिष्ट प्रकारको केन्द्रीकृत निकायको स्थापना हुने हो र त्यसले विद्युतीय मध्यमबाट ग्राहक पहिचानसम्बन्धी सूचनालाई कार्ड वा कोडमार्पmत उपलब्ध गराउने हो भने त्यो नेपाली डिजिटल बैंकिङ इतिहासमा एक सुनौलो प्रस्थान विन्दु हुनेछ ।

डिजिटल कारोबार
केही वर्ष अघिसम्म एक बैंकबाट अर्को बैंकमा भएको खातामा रकम जम्मा गर्ने कुरा कल्पना गर्न सकिँदैन थियो । तर, अहिले मोबाइलबाटै तथा कम्प्युटरबाट आफैले आफ्नो खातामा भएको पैसा आफूले चाहेको व्यक्तिको बैंक खातामा सजिलै पठाउन सकिन्छ ।

विशेष गरी बैंकहरूबीच भौतिक रूपमा नै भइरहेको चेक क्लियरिङको कार्यलाई डिजिटल प्रक्रियामा ढाल्ने उद्देश्यले नेपाल राष्ट्र बैंकको अगुवाइमा स्थापित नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बैंक–बैंक बीचको कारोबारलाई डिजिटल बनाउन सहयोग गरेकै छ, व्यक्ति–व्यक्ति बीचको अन्तरबैंक कारोबारलाई समेत सम्भव तुल्याएको छ ।

प्रारम्भिक चरणमा केही निश्चित बैंकहरूसँगको सहकार्यमा टेलिफोनको बिल तिर्ने, मोबाइल रिचार्ज गर्ने, इन्स्योरेन्सको प्रिमियम तिर्ने, विद्यालयको शुल्क भुक्तानी गर्ने, हवाई टिकट किन्ने, खानेपानी तथा बिजुलीको महसुल भुक्तानी गर्नेजस्ता कार्यमार्फत ईसेवा, खल्तीजस्ता भुक्तानी सेवा प्रदायकहरूले नेपाली वित्तक्षेत्रमा डिजिटल कारोबार भित्र्याएका थिए ।

गत असर मासान्तमा आइपुग्दा १ करोडभन्दा बढी संख्यामा करीब सवा १० अर्बको कारोबार वालेटका माध्यमबाट भएको देखिनुले पनि नेपालमा यो प्रविधिको लोकप्रियतालाई पुष्टि गर्छ । वालेटपछि मोबाइल बैंकिङ बढी लोकप्रिय रहेको देखिन्छ । १ करोडमाथि प्रयोगकर्ता रहेको मोबाइल बैंकिङमार्फत गत असारमा मात्र ५८ लाख १७ हजार कारोबार संख्याबाट करीब १९ अर्ब रकम बराबरको कारोबार भएको देखिन्छ । यी दुई पछि क्रमशः इन्टरनेट बैंकिङ तथा आईपीएसमार्फत डिजिटल बैंकिङ कारोबार भएको पाइएको छ ।

डिजिटल कारोबारको बढ्दो लोकप्रियता सँगै अहिले देशमा भुक्तानी सेवा प्रदायक संस्थाहरूको संख्या १४ पुगिसकेको छ भने नेपाल क्लियरिङ हाउसजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्ने स्वदेशी तथा विदेशी संस्थाहरूको संख्या ९ पुगेको छ । यस्तो भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपाली संस्थाहरूमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड आदि प्रमुख छन् भने विदेशी सञ्चालकहरूमा युनियन पे, वीजा इन्टरनेशनल, मास्टरकार्ड आदिलाई नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकका रूपमा अनुमति प्रदान गरेको छ । यिनले डिजिटल कारोबारलाई मात्र आफ्नो कार्यक्षेत्र बनाएका छन् । कतिपयले ‘क्यूआर कोड’लाई समेत अवलम्बन गराइसकेका छन् । यसरी नेपालमा पनि विश्वमा प्रयोग भइरहेका नवीनतम प्रविधि भित्रिसकेको स्पष्ट देख्न सकिन्छ ।

यो क्रम सँगै डिजिटल बैंकिङको बढ्दो प्रयोगलाई कानूनी तथा नियामकीय ढाँचामा आबद्ध गर्न जरुरी भएर भुक्तानी तथा फर्स्योट ऐन २०७५ तथा भुक्तानी तथा फस्र्योट विनियमावली २०७७ समेत जारी भइसकेको छ । नियमन र नियन्त्रणको स्पष्ट प्रणालीका लागि नेपाल राष्ट्र बैंकभित्र छुट्टै भुक्तानी प्रणाली विभागसमेत गठन भइसकेको छ ।

हिमालयन बैंकले नेपाली बजारमा आफ्नै ब्रान्डका यस्ता कार्ड मात्र होइन, देशकै पहिलो एटीएमसमेत भित्र्याएर डिजिटल बैंकिङको अभ्याससँग नेपाली बैंकिङ क्षेत्रलाई परिचित गराएको थियो । तर, यत्तिका वर्ष बितिसक्दा समेत नेपालमा कार्डमा आधारित कारोबारले अपेक्षाकृत गति लिन सकेको छैन ।

कुल जनसंख्याको २ प्रतिशतजति व्यक्तिसँग मात्र क्रेडिट कार्ड हुनु र डेबिट कार्ड पनि १० प्रतिशत जनसंख्यासँग मात्र हुनुले हाम्रो डिजिटल बैंकिङको गति ढिला रहेको देखाउँछ ।
यसो हुनुको पछाडि पनि धेरै कारण छन् । पहुँच, चेतना, शुल्क, प्रविधिप्रतिको लगाव, सर्वस्वीकार्य तथा सार्वकालिक उपयोगिताजस्ता तŒवहरूले यसको विस्तार र प्रयोगमा व्यवधान खडा गरेका छन् ।

डिजिटल ग्राहक सेवा
हिमालयन बैंकले करीब २५ वर्षअगाडि प्रारम्भ गरेको टेलिबैंकिङ सेवा एक प्रकारले डिजिटल बैंकिङको प्रारम्भिक रूप थियो । आफ्नो खाताका बारेमा जानकारी लिनेदेखि लिएर नयाँ चेक बनाउने आदेश तथा हराएको चेक रोक्का राख्नेसम्मको कारोबारका लागि ग्राहकले बैंकसम्म धाउनुपर्ने अवस्था थिएन । देशमा मोबाइलको प्रवेश भएपछि यस्तै प्रकारका सेवाका लागि बैंकहरूले मोबाइलको एसएमएस सेवालाई उपयोग गर्दै आए । वित्तीय प्रविधि निर्माता ‘फिन्टेक’ कम्पनीहरूले विकास गरेका मोबाइल एपको माध्यमबाट मोबाइल बैंकिङले फस्टाउने मौका पायो । वर्तमानमा मोबाइल बैंकिङ अपरिहार्य सेवा भइसकेको छ ।

अहिले अधिकांश बैंकहरूले इन्टरनेट बैंकिङको मध्यमबाट ग्राहक सेवालाई डिजिटल बनाउने प्रयास गरेका छन् । नेपाल ‘एसबीआई’ बैंकले शुरू गरेको ‘परी सेवा’ ले त ‘कृत्रिम प्रज्ञामार्फत ग्राहक सेवा’को अवधारणासमेत आत्मसात् गरेको छ । तर पनि यस दिशामा पनि चेतना, पहुँच र दक्षताको दृष्टिले अनगिन्ती चुनौती रहेका छन् ।

विश्व बैंकिङको बदलिँदो आयाम
एशियाकै कतिपय देशले पूर्ण डिजिटल बैंकहरू स्थापना गरिसकेका छन् । हङकङमा आठओटा र ताइवानमा तीनओटा यस्ता डिजिटल बैंक स्थापना भएको करीब १ वर्ष मात्र भएको छ । यी बैंकले डिजिटल सेवालाई अन्य बैंकहरूले जस्तो अनलाइन बैंकिङमा झैं लग इन गरेर कारोबार गर्ने प्रकृतिको मात्र नबनाई एउटा निश्चित एकीकृत एपमार्पmत सञ्चालन गरिरहेका छन् । यस्तो एपमा परम्परागत बैंकिङका सबै सुविधा उपभोग र सञ्चालन गर्ने उचित प्रबन्ध मिलाइएको हुन्छ ।

मलेशिया तथा सिंगापुरजस्ता देश पनि यस दिशामा अगाडि बढ्दै छन् । मलेशियाको केन्द्रीय बैंकले गत डिसेम्बरमा डिजिटल बैंकिङको लाइसेन्ससम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमार्पmत समृद्धिको मार्गचित्र सार्वजनिक गरेको छ । सिंगापुरले सन् २०२१ को मध्यसम्ममा डिजिटल बैंकहरूले कारोबार सञ्चालन गर्ने लक्ष्यका साथ पाँचओटा डिजिटल बैंकहरूलाई अनुमति प्रदान गर्ने योजना अगाडि सारेको छ ।

नेपालमा भने यसरी निर्दिष्ट डिजिटल बैंक नै भनेर अनुमति दिइने तथा सञ्चालन गरिने कुनै पनि प्रकारको योजना अहिलेसम्म सार्वजनिक भएको छैन । तर, केही अग्रणी संयुक्त लगानीका बैंकहरूले डिजिटल बैंकिङमा आप्mनो ध्यान केन्द्रित गर्ने घोषणा गरिसकेका छन् । आगामी दिनमा नेपाली बैंकिङ क्षेत्र पनि डिजिटल मार्गमा छिट्टै लम्कने अपेक्षा गर्न सकिन्छ ।

भौतिक रूपमा बैंक नभए पनि बैंकिङचाहिँ सधैं अपरिहार्य नै हुने भएकाले डिजिटल बैंकिङको उत्कर्षका रूपमा अबको विश्वमा बैंकविनाको बैंकिङले तीव्र विकास गर्ला भन्न सकिन्छ र त्यसका लागि एक मात्र उपलब्ध विकल्पको रूपमा अहिलेसम्म ‘डिजिटल बैंकिङ’नै देखा परेको छ ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्