ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिदा भए कुलमान : प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

२०७७ भदौ, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिएपछि कोइरालालाई नियुक्त गरिएको हो ।

ऊर्जा मन्त्रालयले घिसिङको कार्यकाल मंगलवार सकिएपछि अर्को व्यवस्था नहुँदासम्मका लागि हाल उपकार्यकारी निर्देशक रहेका कोइरालालाई प्राधिकरणको निमित्त प्रमुखका रूपमा नियुक्त गरेको हो । उनलाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक बनाइएको ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन सरकार अनिच्छुक देखिएपछि घिसिङको मंगलवार औपचारिक बिदाइ भएको छ । कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल मंगलवार सकिएपछि प्राधिकरणका कर्मचारीले एक कार्यक्रमका बीच उनलाई बिदाइ गरेका हुन् ।

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः घिसिङलाई नियुक्त गर्नुपर्ने चौतर्फी दबाब हुँदाहुँदै सोमवार बसेको मन्त्रिपरिषद्को बैठकमा उनको पुनर्नियुक्तिबारे छलफल नै भएन ।  

वर्षौंको लोडसेडिङबाट नेपाली जनतालाई मुक्त बनाई चर्चामा आएका घिसिङले आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा समेत लगेका थिए । मगलवारको बिदाइ कार्यक्रममा अधिकांश वक्ताले उनलाई पुनः कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्ने बताए । तत्कालीन सरकारले विसं २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको थियो ।

बिदाइ कार्यक्रममा घिसिङले २०७५ वैशाखदेखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराउन सफल भएको बताए । सबैको साथ र सहयोगमा त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग शुरुआत गर्न सफल भएको घिसिङले बताए ।

‘विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमानदार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं,’ उनले बताए, ‘लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभीष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु थियो ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्