ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तयारीविनै लामो दूरीका यातायात खोल्ने निर्णय : यातायात व्यवसायी

२०७७ भदौ, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले ६ महीनापछि बन्द सार्वजनिक यातायात असोज १ गतेदेखि खुलाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरू त्यसको तयारीमा जुटेका छन् । सोमवारको मन्त्रिपरिषद्को निर्णयमा असोज ५ गतेदेखि सार्वजनिक यातायात चलाउने हल्ला बाहिरिएपछि मंगलवार नै व्यवसायीहरूको बैठक बसेको थियो ।

बैठकमा यातायात व्यवसायीहरूको छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीले दशैंमा घर फर्किनेको भीड हुने भएकाले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा छलफल गरेका थिए ।

तर, मंगलवार साँझै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले २ दिनपछि बिहीवारदेखि नै लामो दूरीसहितका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

सरकारले कोरोना संक्रमणका कारण सुरक्षित रूपमा कसरी यातायात सञ्चालन गर्न सकिन्छ भनेर छलफलसमेत नगरेको व्यवसायीको आरोप छ ।

‘यातायात चलाउन हामी तयार छौं, हाम्रो स्तरबाट तयारी भइरहेको छ तर सरकारले कसरी व्यवस्थित रूपमा यातायात चलाउन सकिन्छ भनेर हामीसँग छलफलसम्म गरेको छैन,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘यातायात बन्द र खुला गरिएको विषयमा यातायात व्यवसायीसँग छलफल गर्नु पर्दैन ?’

सरकारले कोरोना महामारी रोकथामका लागि चैत ११ देखि गरेको बन्दाबन्दीका कारण सार्वजनिक यातायात बन्द थियो । ४ महीना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते ५० प्रतिशतसम्म बढी भाडा लिएर काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र सीट क्षमताभन्दा आधा मात्र यात्रु राखेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सो निर्णयपछि जिल्लाभित्र सार्वजनिक यातायात क्रमिक सञ्चालन हुन थालेकोमा सरकारले भदौ ३ गतेदेखि पुनः काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएसँगै जिल्लाभित्र पनि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेको थियो ।

भदौ २४ गते काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो गरेपछि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनको निर्णय गरे । अहिले पनि व्यवसायीहरूले ५० प्रतिशत बढी भाडा लिएर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

आइतवारको मन्त्रिपरिषद्ले असोज १ गतेबाट लामो दूरीका सवारी सञ्चालन फुकुवा गर्ने निर्णय गरेपछि पुरानै मापदण्डअनुसार ५० प्रतिशत बढी भाडा लिएर लामो दूरीका सवारी सञ्चालनको तयारी गरिएको महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार आधा मात्र यात्रु राखेर सवारीसाधन चलाउँदा भाडा बढाउनुपर्ने अवस्था आएको हो । ‘५० प्रतिशत भाडा बढाएर लामो दूरीका यातायात चल्ने भनिए पनि आधा यात्रु मात्र राखेर चलाउँदा व्यवसायीको आम्दानी घट्छ,’ उनले भने ।

स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रूपमा सवारीसाधन यातायात कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा बुधवार तीनओटा मजदूर संगठनका प्रतिनिधिसँग छलफल गरी आधिकारिक निर्णय लिइने कर्माचार्य बताउँछन् ।

अनुसार देशभर यातायात क्षेत्रमा १० लाखले रोजगारी पाएका छन् । यसमा आश्रित परिवारको संख्या ४५ लाख बढी छ ।

देशभर करीब ३ लाख सार्वजनिक यातायात छन् भने दशैंका बेला राजधानी काठमाडौंबाट प्रत्येक वर्ष २० लाखभन्दा बढी मानिस बाहिरिने गरेका छन् ।

यस वर्ष कोरोना संक्रमणका कारण आधाभन्दा बढी जनसंख्याले पहिले नै राजधानी छाडिसकेकाले सार्वजनिक यातायातको कमी नहुने महासंघको तर्क छ । ‘आवश्यकताअनुसार सार्वजनिक यातायात थपेर सञ्चालन गर्छौं,’ कर्माचार्यले भने ।

परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षित रूपमा लामो दूरीका बस सञ्चालनका लागि व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढाएर लिन सक्ने सरकारले निर्णय गरेको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले हालका लागि ५० प्रतिशत भाडा बढाएर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्