ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सौराहाका होटल बिहीवारदेखि सञ्चालनमा आउँदै

२०७७ भदौ, ३१  
वाग्मती प्रदेश
Image Not Found

भदौ ३१, काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीवारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन् ।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महीनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधवारबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।

होटल मात्र खुलेर पर्यटक नआउने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ । दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् । 

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिए । 

रेष्टूरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुरेन्ट क्रमशः बिहीबारदेखि खुल्ने छन् । उनले भने ‘सेवा शुरु गर्छौ, क्रमशः थप रेष्टुरेन्ट खुल्दै जान्छन् ।’

निकुञ्जले हात्ती, डुंगा, जीप सफारी, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । 

निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उनको भनाइ छ । बरालले भने, ‘सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन ।’ 

सौराहामा ११० ओटा होटल छन् । यसैगरी साना ठूला गरी एक सय हाराहारीका रेष्टुरेन्ट छन् । सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्