ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दिगो अर्थतन्त्रका लागि कृषि र जलस्रोत

२०७७ असोज, १  
लेख | दृष्टिकोण
Image Not Found

विश्व नै आज दिगो आर्थिक विकासको खोजीमा छ । आर्थिक विकास आर्थिक वृद्धिमा निर्भर हुन्छ । वृद्धि सीमित सूचकले निर्धारण गर्छन् भने विकासका लागि धेरै सूचक पूर्ण भएको हुनुपर्छ । विकासले मानिसको गुणस्तरीय जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ । विकास मानिसको गुणस्तरीय जीवनमा भएको परिवर्तनबाट अनुभूति गर्न सकिन्छ ।

सञ्चालित अर्थतन्त्रलाई थप वृद्धि र चलायमान बनाउने स्रोतको खोजी विश्वका हरेक देशले गरिरहेका छन् । भएका स्रोतको उचित सदुपयोग तथा वैकल्पिक स्रोतको उपयोगमार्फत हरेक देशले आफ्नो अर्थतन्त्र सबल बनाउने प्रयास गरिरहेका हुन्छन् । अर्थतन्त्रकै अवस्था (क्षेत्र) र सबलीकरणले दिगो विकासलाई संकेत गर्छ ।

नेपाल प्राकृतिक स्रोतमा धनी मानिन्छ । जलस्रोतमा मात्र विश्वको जलस्रोतको २ दशमलव २७ प्रतिशत उत्पादन क्षमता नेपालसँग रहेको छ । वनजंगलले लगभग ४५ प्रतिशत क्षेत्रफल ओगटेको छ । प्रशस्त खनिजजन्य स्रोत प्नि छन् । यिनको समुचित उपयोग हुन सकेको छैन । विश्वका हरेक देशले दिगो अर्थतन्त्रका लागि स्थायी प्रकृतिका स्रोत परिचालन गरिरहेका हुन्छन् । आफूसँग उपलब्ध स्रोत, उत्पादन क्षमता, वातावरण र रोजगारीलाई दृष्टिगत गरी स्रोतको परिचालन गरिएको हुन्छ ।

कृषि
नेपालमा आर्थिक विकासका लागि उपलब्ध विभिन्न स्रोतमध्ये उत्तम कृषि र जलस्रोत हुन् । कुल जनसंख्याको लगभग ६५ प्रतिशत कृषिमा निर्भर छन्, जसको प्रमुख पेशा कृषि रहेको छ । कुल क्षेत्रफलमा १८ प्रतिशत कृृषियोग्य भूमि छ । कृषियोग्य जमीनमा सिँचाइमा भएको समस्यालाई सरकारले यथाशीघ्र समाधान गर्दा उत्पादनले तीव्रता लिन्छ । हाम्रा मुख्य उत्पादनमा धान, मकै, गहुँ, कोदो, जौ र फापर पर्छन् । कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवनको वि.सं. २०७७ को डायरी हेर्दा कुल गार्हस्थ्य उत्पादनमा कृषिको २६ दशमलव ५० प्रतिशत योगदान छ, जसमा मत्स्यको शून्य दशमलव ४८ प्रतिशत रहेको छ । कृषि उत्पादनमा धानको सबैभन्दा ठूलो त्यसपछि मकै, गहुँ, कोदो र फापरको योगदान रहेको देखिन्छ । आ.व. २०७५/७६ मा मुलुकभर धान, मकै, गहँु, कोदो, जौ, फापर गरि कुल १ करोड ६८ लाख ५ हजार ५ सय ५० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । नेपालीलाई १ वर्षका लागि ६१ लाख मेट्रिक टन खाद्यान्न भए पुग्ने पनि सोही डायरीमा बताइएको छ । यो तथ्याङ्कलाई आधार मान्दा १ तिहाइले नेपालीलाई पुग्ने र दुई भाग अन्न व्यावसायिक रूपमा प्रयोग गर्न सकिने देखिन्छ । तर, वर्षैपिच्छे अर्बांैको खाद्यान्न आयात गरेको तथ्याङ्क देखिनु नेपालमा उत्पादन खाद्यान्न उत्पादनकै समयमा भण्डारण व्यवस्थापन नहुनुलाई कारण मानिन्छ । अहिलेकै अवस्थामा ५३ अर्ब ५० करोड बराबरको खाद्यान्न निर्यात गर्नसक्ने देखिन्छ । उत्पादनयोग्य भूमि बाँझो रहेकोलाई उत्पादनमा परिणत गर्दा लगभग ६० अर्ब बराबरको निर्यात गर्न सकिने अवस्था छ ।

कृषि उत्पादनले नेपालको आधारभूत जीवन संरक्षण हुन्छ, यो विकासको पहिलो शर्त हो । यसै पेशाका कारण आम गाउँवासीले आफ्नै थातथलोमा बस्ने अवसर प्राप्त गर्छन् । गाउँमै बसेर आफ्ना सन्तानको सपना साकार पार्न सक्छन् । ग्रामीण उत्पादनका साधनमा सबै सर्वसाधारणको पहुँच विस्तार हुन्छ । अबका दिनमा सरकारले कृषिक्षेत्रलाई प्रोत्साहन गर्न पर्याप्त कृषि ऋण, मल, जलको सुविधा, प्राङ्गारिक/जैविक मलमा जोड, कृषि भण्डारणजस्ता सुविधा उपलब्ध गराउनुपर्छ । यस क्षेत्रले मानिसको दैनिक जीवनयापनलाई निरन्तरता दिन्छ भने निर्यात अभिवृद्धि भई दिगो रोजगारी सृजना हुन पुग्छ ।

जलस्रोत
नेपालसँग सैद्धान्तिक रूपमा ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता छ, जसमध्ये ४२ हजार मेगावाट आर्थिक÷प्राविधिक रूपमा सहज छ । नेपालले जलविद्युत्लाई नै पूर्ण ऊर्जाका रूपमा प्रयोग गर्दा अर्थतन्त्रमा ठूलो योगदान पुग्छ । हाल नेपालमा विद्युतीय ऊर्जाको प्रयोग जम्मा १४ प्रतिशत मात्र छ । पेट्रोलियम पदार्थको ६० प्रतिशत, कोइलाको २० प्रतिशत र अन्य ऊर्जा ६ प्रतिशत रहेको छ । ऊर्जा एक युनिट विद्युत् खपत गर्दा ८४ रुपैयाँ बराबरको अर्थतन्त्रमा योगदान पुग्ने एक अध्ययनले देखाएको छ । तर, नेपालमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई हेर्दा अति न्यून देखिन्छ । नेपालमा २ सय ४५ युनिट मात्र प्रतिव्यक्ति विद्युत् खपत भइरहेको छ । आन्तरिक रूपमा विद्युत् खपत बढाउँदा अर्थतन्त्र पनि बलियो बन्दै जान्छ । खाना बनाउन ग्यासभन्दा बिजुली १२/१५ प्रतिशतले सस्तो पर्ने हुन्छ । त्यसैगरी सवारीसाधनलाई १ किलोमिटर गुड्न १ रुपैयाँ ५० पैसा बराबरको विद्युत् प्रयोग हुन्छ । जुन पेट्रोलको तुलनामा अत्यन्त कम हो ।

पछिल्लो समय नेपालमा १ हजार ३ सय ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । अहिले रातको समयमा लगभग एक डेड करोडको विद्युत् खेर गइरहेको ऊर्जा मन्त्रीको दाबी छ । विशेषतः वर्षामा धेरै विद्युत् खेर जान्छ, त्यसका लागि विद्युतीय ऊर्जा प्रयोग हुने वस्तुको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ ।

कृषि र जलस्रोतको उत्पादनमा भएको वृद्धिले राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ । यी क्षेत्रको उत्पादन दिगो र निरन्तर हुने भएकाले आम्दानीमा पनि निरन्तरता हुन्छ । रोजगारी बढ्छ, प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ । मानिसहरूले गुणस्तरीय जीवन व्यतीत गर्न पाउँछन् ।

आफूसँग भएको स्रोतको उपयोगबाट आर्थिक वृद्धिको सम्भावना खोज्ने हो । प्राकृतिक स्रोतको उचित उपयोग र प्रयोग गरिनुपर्छ । यसका लागि अहिले नेपालमा कृषि र जलविद्युत्को उत्पादनमा लगानीको ठूलो धक्का दिन जरुरी छ ।

लेखक अर्थशास्त्र अध्यापन गर्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्