ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वित्तीय साक्षरता र यसको व्यावहारिक प्रयोग

वित्तीय जोखीम गर्न र आर्थिक क्रियाकलापमा केन्द्रित हुन आवश्यक

२०७७ असोज, १  
लेख | दृष्टिकोण
Image Not Found

पूँजीवादको वर्तमान अवस्था र मानिसहरूमा भौतिक आवश्यकताको बढ्दो क्रमसँगै देखावटी र आडम्बरयुक्त जीवनशैलीले समाजमा विकृति र विसंगतिहरू पनि बढ्दै गएको देखिन्छ । देखावटी र आफूलाई अरूभन्दा बढी सम्पन्न छु भन्ने मानसिकताले आज सम्पूर्ण समाज नै आक्रान्त भएको छ । हुने खाने अझै सम्पन्न हुन खोज्नु र हुँदा खाने पनि सम्पन्नताको मृगतृष्णामा रुमलिनुले व्यक्ति वा वित्तीय संस्थाहरूबाट ऋण लिएर तिर्न नसक्नु र ऋण लिँदा बुद्धिमत्तापूर्ण निर्णय गर्न नसक्नु मुख्य समस्या रहिआएको छ । यसो हुनुमा वित्तीय साक्षरताको अभाव हुनु र ऋणको विवेकपूर्ण प्रयोग गर्न नसक्नु पनि हो ।

जीवनशैलीमा आउन सक्ने परिवर्तनबाट पर्ने नकारात्मक असरको व्यवस्थापनका लागि पनि वित्तीय साक्षरता महत्त्वपूर्ण हुन्छ ।

वित्तीय अवधारणाबारे जनस्तरको केकस्तो बुझाइ छ, त्यससँग वित्तीय साक्षरताको सम्बन्ध गाँसिएको हुन्छ । पैसाको व्यवस्थापन एवं परिचालनसम्बन्धी शीप, क्षमता र सोको आधारमा वित्तीय निर्णयसम्बन्धी जानकारी महत्त्वपूर्ण हुन्छ । वित्तीय रूपले अशिक्षित व्यक्तिहरूमा आप्mना दैनिकी खर्चको व्यवस्थापन गर्न कठिन हुन्छ ।

अर्थशास्त्रीय एवं उपभोक्ता व्यवहारसम्बन्धी शास्त्रीय अभिलेखहरू पनि यस कुरामा सहमत छन् कि वित्तीय साक्षरताले व्यक्तिको वित्तीय व्यवहार र आर्थिक निर्णय प्रक्रियालाई प्रभाव पार्छ । यद्यपि कम आय भएका वर्गहरू वित्तीय रूपले पृथक् भएका देखिन्छन् र वित्तीय समावेशीकरणमा उनीहरूको संलग्नता न्यून देखिएको छ ।

धेरैजसो मुलुकले आर्थिक विकास र वित्तीय प्रणालीको स्थायित्वका लागि वित्तीय समावेशीकरणलाई मुख्य आधारका रूपमा अंगिकार गरेको देखिन्छ । न्यून वित्तीय साक्षरतालाई प्रायः न्यून बचतको सम्भाव्य कारकको रूपमा हेर्ने गरिन्छ । कर्जा प्रक्रियामा वित्तीय साक्षरताले ऋण लिएको स्रोतको आधारमा प्रभाव पार्छ जुन विकासशील मुलुकहरूमा आमरूपमा प्रचलनमा आएको देखिन्छ । यसरी लिएको ऋणमा उच्च सेवाशुल्क र उच्च ब्याजदर रहेको पाइन्छ ।

ऐतिहासिक पृष्ठभूमि
आफूले आर्जन गरेको रकमको परिचालन कसरी गर्ने भन्ने चासोको थालनी सन् १७८७ देखि नै भएको मानिन्छ । तर पनि २१औं शताब्दीमा आएर मात्र वित्तीय साक्षरताको अवधारणाले विश्वव्यापी रूप लिन सफल भयो । सन् २००३ मा आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले वित्तीय शिक्षा र साक्षरता अभिवृद्धि गर्न साझा वित्तीय साक्षरताको सिद्धान्तको विकास गरी अन्तरसरकारी आयोजनाको रूपमा मापदण्ड तर्जुमा गरेको थियो । सन् २००५ मा यस संस्थाले गरेको वित्तीय सर्वेक्षणको विश्लेषण प्रकाशित भएको थियो जसले निम्न तथ्यहरू देखाएको थियो । अस्ट्रेलियामा ६७ प्रतिशत उत्तरदाताले चक्रवर्ती ब्याजको अवधारणा थाहा भएको जवाफ दिएका थिए तर यसको प्रयोग २८ प्रतिशत उत्तरदाताहरूले मात्र गर्न सकेका थिए ।

एउटा बेलायती अध्ययनअनुसार उपभोक्ताहरूले वित्तीय सूचना सक्रिय रूपले प्राप्त गर्न नचाहेको निष्कर्ष निकालेको थियो । वित्तीय साक्षरतासम्बन्धी जेजस्ता जानकारी उनीहरूले प्राप्त गरेका थिए ती सबै संयोगवश थियो । ती जानकारी उनीहरूले बैंकहरूबाट प्रकाशित सूचना एवं बैंकका कर्मचारीहरूबाट प्राप्त गरेका थिए । यसैगरी क्यानडामा गरिएको सर्वेक्षणअनुसार उत्तरदाताहरूले दन्त चिकित्सककहाँ जानुभन्दा पनि लगानीसम्बन्धी सही निर्णय गर्नु अत्यन्त तनावग्रस्त भएको जवाफ दिएका थिए । कोरियाको माध्यमिक विद्यालयहरूमा गरिएको अध्ययनअनुसार विद्यार्थीहरूले ६० प्रतिशतभन्दा कम अंक प्राप्त गरेका थिए । यससम्बन्धी प्रश्नावलीमा क्रेडिट कार्ड, अवकाशपछिको वचत र लगानी एवं जोखिम र यसका लागि गरिने बीमाको महŒवबारे प्रश्न सोधिएको थियो । अमेरिकामा गरिएको सर्वेक्षणअनुसार १० मध्ये ४ जना श्रमिकले अवकाशका लागि बचत नगरेको देखियो ।

आर्थिक क्रियाकलापहरूमा वित्तीय सक्षरताको योगदानलाई दृष्टिगत गरी विभिन्न देशहरूमा यससम्बन्धी राष्ट्रिय स्तरका संस्थाहरू स्थापना गरिएका छन् । उदाहरणका रूपमा भारतको नेशनल सेन्टर फर फाइनान्सियल एजुकेशन (एनसीएफई) लाई लिन सकिन्छ । यसको स्थापना कम्पनी ऐनअन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा गरिएको थियो । सन् २०१५ मा एनसीएफईले भारतमा वित्तीय साक्षरतासम्बन्धी बेन्चमार्क सर्वेक्षण गरेको थियो, जसमा वित्तीय सचेतनाको स्तर मापन गरिएको थियो । यसले वित्तीय साक्षरता सुधार गर्न विभिन्न कार्यक्रम आयोजना गर्छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि यसले विभिन्न कार्यक्रम सञ्चालन गर्छ, जसअन्तर्गत विद्यालयहरूसँग मिलेर विद्यालयहरूको साथ र सहयोगमा नयाँ पाठ्यक्रम विकाससहित वित्तीय व्यवस्थापन अवधारणाहरू पाठ्यक्रममा समावेश गर्न सहयोग पु¥याउँछ । साथै, यसले वार्षिक वित्तीय साक्षरता परीक्षण पनि गर्छ ।

वित्तीय साक्षरता र यसको प्रयोग
वित्तीय साक्षरता भन्नाले व्यक्तिगत वित्तीय व्यवस्थापन, आयव्ययको लेखाजोखा र लगानी सम्मिलित विविध वित्तीय शीपको प्रभावकारी बुझाई र सोको अवलम्बन गर्न सक्ने क्षमता भन्ने बुझिन्छ । वित्तीय स्थायित्व प्राप्त गर्नका लागि आत्मनिर्भर हुन वित्तीय साक्षरताले सहयोग पुर्‍याउँछ । वित्तीय सिद्धान्त र अवधारणाको दक्षता जस्तै : वित्तीय योजना, चक्रवर्ती ब्याज, ऋणको व्यवस्थापन, नाफामूलक बचत गर्ने तरीका र पैसाको मूल्य आदि वित्तीय साक्षरतामा समावेश भएको हुन्छ । वित्तीय साक्षरताको अभावमा व्यक्ति विशेषले कमजोर वित्तीय आकलन गर्ने हुँदा यसले वित्तीय सामथ्र्यमा समेत नकारात्मक प्रभाव पार्छ ।

वित्तीय साक्षरता व्यक्तिगत वित्त व्यवस्थापन क्षमता अभिवृद्धिमा केन्द्रित हुन्छ र यसमा लगानी, बीमा, घरजग्गा खरीद विक्री, शैक्षिक शुल्क तिर्न, आयव्यय व्यवस्थापन, अवकाश र कर योजना जस्ता व्यक्तिगत वित्त परिचालनसम्बन्धी सही निर्णय गर्न सक्ने ज्ञान र क्षमता समावेश भएको हुन्छ ।

एक अनुमानअनुसार विश्वमा अहिले करीब २ अर्ब ५० करोड व्यक्ति बैंकिङ तथा वित्तीय सेवाको पहुँच बाहिर रहेको अनुमान गरिएको छ । वित्तीय समावेशीकरण र साक्षरता अभियानमा अन्तरराष्ट्रिय स्तरमा विभिन्न निकाय कार्यरत रहेको देखिन्छ । यसैगरी विश्वभर करीब २ अर्ब २० करोड बालबालिकामध्ये करीब १ अर्ब बालबालिका अहिले पनि निरपेक्ष गरीबीको रेखामुनि रहेका छन् भने हालसम्म १ प्रतिशतभन्दा कम बालबालिका मात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको दायरामा आएका छन् । १५ देखि २५ वर्ष उमेरसमूहका युवामध्ये करीब ४० प्रतिशतको मात्र बैंक र वित्तीय संस्थाहरूमा खाता रहेको पाइन्छ ।

वित्तीय साक्षरताको बढ्दो आवश्यकता र महत्त्वले गर्दा पछिल्ला वर्षहरूमा नीतिनिर्माता, वित्तीय एवं सहकारी संस्थाहरू एवं बीमा संस्थाहरूले पनि वित्तीय साक्षरता अभियानमा योगदान दिँदै आएका छन् ।

परिष्कृत वित्तीय साक्षरताले वित्तीय जोखिम कम गर्न मद्दत पुर्‍याउनुका साथै नियमित बचत गर्न, अवकाशपछिको सुखमय जीवन व्यतीत गर्न एवं अन्य आर्थिक क्रियाकलाप व्यवस्थित गर्न सहयोग पुर्‍याउँछ । वित्तीय साक्षरता प्राप्त ग्राहकहरूले वित्तीय क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पु¥याउन सक्छन् । यसैगरी उपभोक्ताले प्राप्त गरेको वित्तीय साक्षरताबाट उपभोक्ता संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।

वर्तमान परिप्रेक्ष्यमा वित्तीय साक्षरताविना आर्थिक जीवनमा व्यक्तिको पूर्ण र सुसूचित सहभागिता अत्यन्त चुनौतीपूर्ण हुन्छ । वित्तीय सुरक्षाका लागि व्यक्तिगत उत्तरदायित्वको आवश्यकता पर्छ । राज्यद्वारा प्रायोजित सामाजिक सुरक्षा प्रणाली खुम्चिरहेको र वित्तीय क्षेत्रमा क्रमशः नयाँ नयाँ बजारको अवसर वृद्धि भइरहेको अवस्थामा वित्तीय साक्षरताको महत्त्व अझै बढ्दै गएको देखिन्छ । जीवनशैलीमा आउन सक्ने परिवर्तनबाट पर्ने नकारात्मक असरको व्यवस्थापनका लागि पनि वित्तीय साक्षरता महत्त्वपूर्ण हुन्छ ।

वित्तीय साक्षरता केही सीमित व्यक्तिहरू या समूहहरूसम्म मात्र सीमित नभई विद्यालय स्तरदेखि नै लागू गर्नुपर्छ र यसलाई जबसम्म उद्यमशीलतासँग जोडिँदैन वित्तीय साक्षरताले वाञ्छित सफलता प्राप्त गर्न सक्दैन । वित्तीय साक्षरता बचतसँग मात्र सम्बद्ध नभई यो सम्पूर्ण आर्थिक क्रियाकलापमा केन्द्रित हुनुपर्छ । पंक्तिकार तत्कालीन सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सहकारी तथा गरीबी विशेषज्ञका रूपमा कार्यरत रहँदा अन्य आयोजना निर्माण गर्नुका साथै वित्तीय साक्षरता र उद्यमशीलताको विकाससम्बन्धी विस्तृत आयोजना तर्जुमा गरिएको थियो । सामुदायिक विद्यालय र कलेजका विद्यार्थीलाई वित्तीय साक्षरतामा समावेश गरी उनीहरूमा उद्यमशीलताको विकास गर्नु आयोजनाको मुख्य उद्देश्य रहेको छ । अतः उक्त आयोजना कार्यान्वयनका लागि सम्बद्ध निकायहरूले ध्यान दिन सके वित्तीय साक्षरतामा यसले महत्त्वपूर्ण योगदान दिन सक्ने आशा र विश्वास गर्न सकिन्छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वनिर्देशक डा. आचार्य सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सहकारी तथा गरीबी विशेषज्ञका रूपमा समेत कार्यरत थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्