ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मूल भन्सारको पीडा, एउटै भवनमा सबै काम

२०७७ असोज, १  
सुदूरपश्चिम प्रदेश
NA

भजनी । कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालय मूल भन्सारको रूपमा स्तरोन्नति भएको दुई वर्ष भइसक्दा पनि आवश्यक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । सत्ती छोटी भन्सार हुँदा निर्माण भएका संरचनाबाटै कामकाज भइरहेको भए पनि कार्यालयका लागि चाहिने आवश्यक संरचना निर्माण हुन नसक्दा सेवा प्रवाहको काममा समेत समस्या हुँदै आएको छ ।

गत आर्थिक वर्षमा यात्रु सहायता कक्ष, भन्सार कार्यालयमा घेरा पर्खाललगायत संरचना निर्माणका लागि करीब रू. ३ करोड बजेट आएको भए पनि कुनै काम नै नगरी पूरै रकम फ्रिज गएको कार्यालयका सूचना अधिकारी धर्मराज विकले बताए । ‘विभागबाट बजेट आएको थियो । कोरोनाको कारण कुनै प्रक्रिया नै अगाडि बढ्न सकेन’, सूचना अधिकारी विकले भने, ‘बजेट फ्रिज गयो, काम गर्न सकिएन । भन्सारको समस्या जस्ताको तस्तै छ ।’

भन्सार कार्यालयसँग एउटै भवन मात्र छ । त्यही भवनमा कर्मचारीको आवास, कार्यालय, गोदाम छ भने एक कोठा बैंकलाई पनि दिइएको छ । संरचना अभावकै कारण खाद्यान्न, तरकारी, फलफूल तथा पशु जाँचको गुणस्तर परीक्षण केन्द्रसमेत सञ्चानलन हुनसकेको छैन । व्यवसायीहरू त्यस्ता सामानको आयातका लागि भारत नेपालको छोटो दूरी सत्ती भन्सार भए पनि अझै कैलालीको त्रिनगर भन्सार वा नेपालगञ्जको रूपैडिया नाकालाई नै प्रयोग गर्नुपर्ने बाध्यता भएको बताउँछन् ।

स्थानीय तरकारी व्यवसायी समीर चौधरीले नजिकै भन्सार कार्यालय हुँदा पनि त्यसको सदुपयोग गर्न नसकेको बताए । ‘नजिकै भन्सार कार्यालय छ तर, हामीले त्रिनगर कि त रूपैडिया भन्सार जानुपर्छ’, चौधरीले भने, ‘सत्ती भन्सार कार्यालयमै सबै सुविधा भएको भए धेरै खर्चको भार पर्ने थिएन र उपभोक्ताले पनि चर्को मूल्य तिर्नुपर्ने थिएन ।’

भन्सारमा सरुवा भएर आउने कार्यालय प्रमुखहरू कार्यालयभन्दा बढी बिदामा बस्ने भएका कारण पनि आएको बजेट खर्च हुन नसकेको स्थानीयवासीको गुनासो रहँदै आएको छ । चालू आर्थिक वर्षमा पनि भन्सार कार्यालयमा संरचना थपका लागि करीब रू २ करोड आएको सूचना अधिकारी धर्मराज विकले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्