ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कामदार अभावले मध्यपहाडी राजमार्गमा कालोपत्र प्रभावित

२०७७ असोज, १  
गण्डकी प्रदेश
NA

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ । पछिल्लो पटक गत चैतदेखि देशभर आह्वान गरिएको बन्दाबन्दीका कारण आयोजनामा कार्यरत मजदूर घर गएको तथा अहिलेसम्म पनि फर्किने वातावरण नबन्दा आयोजना तोकिएकै समयभित्रमा बन्न नसक्ने देखिएको छ ।

विसं २०७३ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सो राजमार्ग निर्माणको ठेक्का सम्झौता भए पनि शुरुआतमा बिजुुलीका पोल र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदासमेत काम प्रभावित बनेको थियो । राजमार्गको कास्की खण्ड अन्तर्गतको हाल निर्माणाधीन ३७ किमी सडकलाई तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रू. २ अर्ब ९३ करोड ६६ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रू. ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदेखि घट्टेखोलासम्म शर्मा एन्ड कम्पनीले रू. ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । त्यसैगरी घट्टेखोलादेखि नयाँपुल सम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रू. ९६ करोड ७४ लाख ११ हजार १०७ को लागतमा ठेक्का सम्झौता गरिएको थियो । घट्टेखोलाबाट नयाँपुलसम्म ९० प्रतिशत हाराहारीमा भौतिक प्रगति भए पनि याम्दीदेखि घट्टेखोलासम्म भने ७० प्रतिशत हाराहारीमा मात्र काम भएको छ । बन्दाबन्दीका अवधिमा समेत सीमित मजदूर तथा उपकरणबाट आयोजनाको काम भएकामा हाल कालोपत्रको काम शुरू गर्न मजदूर अभाव भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना पर्वतले बताएको छ । काममा ढिलाइ हुँदा आयोजनाको लागतसमेत बढ्ने भएको छ । याम्दीदेखि घट्टेखोलासम्म सडक समथर बनाउने (बेस बिछ्याउने) काम भइरहेको छ । केही स्थानमा अब कालोपत्रको तयारी भए पनि निर्माणस्थलमा मजदूर ल्याउन निर्माण कम्पनीले नसकेको आयोजनाका इन्जिनीयर अनन्त बरालले बताए । असोज पहिलो साता भित्रमा बेस बिछ्याएर कालोपत्र शुरू गर्ने तयारीस्वरुप मजदूर ल्याउन प्रशासनसँग समन्वय गरिएको उनको भनाइ छ । सडक कालोपत्र गर्ने अधिकांश मजदूर भारतीय रहेकाले समेत उनीहरूलाई कार्यस्थलमा ल्याउन नसक्दा काम प्रभावित भएको बताइन्छ ।

राजमार्ग ६ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर (मेडियन) तथा दायाँ–बायाँ दुई/दुई मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलादेखि नयाँ पुलसम्म भने दुई लेनमात्र बन्नेछ । ‘घट्टेखोला–नयाँपुल प्याकेजको भौतिक प्रगति राम्रो रहे पनि याम्दी देखिको सडक निर्माण शुरुआतमै ढिलाइ भएको थियो, लकडाउनमा सीमित नेपाली मजदूरबाट काम भए पनि कालोपत्र गर्न भारतीय कामदार नै चाहिन्छ,’ बरालले भने, ‘सडकमा बेस राखेर पिचको तयारी गरिएको छ । तर अहिल्यै काम शुरू गर्ने अवस्था छैन, असोजदेखि सहज भयो भने पिचको काम पनि शुरू हुन्छ ।’

मध्य पहाडी राजमार्ग ६ लेनमा विस्तार शुरू भएपछि साविकको दुई लेनको कालोपत्र सडक भत्काइएपछि सडक बर्खामा हिलाम्मे र हिउँदमा धूलोले गर्दा स्थानीयवासी पीडित हुने गरेका छन् । आयोजनाको निर्माण कम्पनीले अन्य सबै काम सकिएको र कालोपत्रमात्र बाँकी रहेको भन्दै विसं २०७७ भित्रमै आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताएको छ ।
याम्दीदेखि घट्टेखोलासम्मको कामको जिम्मा पाएको स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले असोजपछि मजदूर पनि ल्याउन सहज हुने विश्वास रहेको भन्दै कालोपत्रको धमाधम शुरू गरेर यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्