ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना कहरले थलिँदै कर्णाली

एक लाख भन्दा बढीले गुमाए रोजागारी

२०७७ असोज, १  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६ महीनादेखि जारी बन्दाबन्दी तथा निषेधाज्ञालगायत प्रतिबन्धहरूले कर्णालीका १ लाख बढी श्रमिकले रोजगारी गुमाएका छन् । यो अवधिमा कर्णालीका विभिन्न ४२ हजार ओटा प्रतिष्ठानमा कार्यरत १ लाख १८ हजार ९५१ जना श्रमिकको रोजगारी गुमेको छ ।

तथ्यांक कार्यालयका अनुसार रोजगारी गुमाउनेमा ६० प्रतिशत पुरुष र अन्य महिला छन् । बन्दाबन्दीले गर्दा कृषि, पर्यटन, होटेल व्यवसाय, खानीजन्य उद्योग, जलविद्युत् परियोजनादेखि साना उद्योग कलकारखाना सबै बन्द भएपछि १ लाख श्रमिक विगत ६ महीनादेखि रोजगारविहीन भएको तथ्यांक अधिकृत शंकर भट्टले बताए । उनले कर्णालीका १० ओटै जिल्लाका ४२ हजार ८०७ ओटा आर्थिक प्रतिष्ठानमा कार्यरत १ लाख भन्दा बढी श्रमिकले रोजगारी गुमाएको बताएका हुन् ।

उनका अनुसार जारी बन्दाबन्दी, निषेधाज्ञा र कोरोना सन्त्रासले गर्दा कर्णालीमा औद्योगिक गणना पनि हुन सकेको छैन । कर्णालीका धेरै नागरिकको ६ महीनादेखि आम्दानीको स्रोत गुमेको छ ।

कर्णाली प्रदेशमा रोजगारी गुमाउनेमा सबैभन्दा बढी भारतमा दैनिक ज्याला–मजदूरी गर्नेहरू छन् । नेपालीहरूका लागि रोजगारीको मुख्य गन्तव्य भारतबाट कोरोनापछि करीब ७० प्रतिशत नेपाली गाउँ फर्किएका छन् । कोरोना महामारीका कारण स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि कम छैन । बन्दाबन्दीका कारण होटेल व्यवसाय, उद्योगधन्दा र स्कुल/कलेज बन्द छन् । निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदुरको रोजगारी कोरोनाले खोसिदिएको छ ।

कर्णालीका निजी तथा आवासीय विद्यालयमा कार्यरत साढे ५ हजार जना शिक्षक–कर्मचारीको रोजगारी पनि संकटमा परेको छ । कर्णाली प्रदेशका ३८० संस्थागत विद्यालयमा करीब साढे ५ हजार जना शिक्षक कर्मचारी कार्यरत छन् । कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने करीब ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ ।

लामो सयमसम्म भएको बन्दाबन्दी र कोरोना महामारीका कारण उद्योग–व्यवसाय बन्द हुँदा धेरैको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । बाँकी २० प्रतिशत श्रमिकले पनि आंशिक रूपमा मात्रै रोजागरी जोगाएको उनको भनाइ छ । उद्योग–व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था छैन । होटेल व्यवसायका मात्रै करीब ५ हजार श्रमिकको रोजगारी संकटमा परेको अनुमान छ ।

कर्णाली प्रदेश सरकारले कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजागरी गुमाएका करीब डेढ लाख नागरिकलाई रोजगारी दिने लक्ष्य लिएको बताएको छ । प्रत्यक्ष वा परोक्ष रूपमा कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिने कर्णाली प्रदेश सरकारको लक्ष्य छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार चालू आर्थिक वर्षमा करीब डेढ लाख युवालाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको बताए । यसका लागि रू. १ करोड भन्दा कम लागतमा हुने विकास निर्माणका योजनाहरू उपभोक्ता समितिबाटै गराउने सरकारको तयारी छ । ‘भोकमरी र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्’, उनले भने, ‘कृषि र विकासका क्षेत्रमा १ लाख ५० हजार नागरिकलाई रोजगारी दिन्छौं ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्