ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लिसंखु पाखरको उद्यमशीलता कार्यक्रममा नेपाल बैंकको साथ

२०७७ असोज, १  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल बैंक र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।

मंगलवार भएको सम्झौताअनुसार गाउँपालिकाले सञ्चालन गर्न लागेको ‘अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम’लाई बैंकले साथ दिने भएको छ । गाउँपालिकाको कार्यक्रमअनुसार गाउँपालिकाद्वारा एउटा कोष खडा गरी नेपाल बैंक पाँचखाल शाखामा ग्यारेन्टीको रूपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनोट भएका उद्यमी एवं व्यवसायीहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्ने उल्लेख छ ।

यो सम्झौताले उक्त कार्यक्रमअनुसार सञ्चालन हुने व्यावसायिक कृषि, तथा पशुपक्षीमा आधारित उद्यम व्यवसाय, वन (जडीबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय र पर्यटन प्रवर्द्धनमा आधारित उद्यम व्यवसायमा मद्दत पुग्ने छ । यस्तै उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसायलगायत अन्य पहिचान गरिएका क्षेत्रहरूमा वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरूलाई उद्यम व्यवसायमा आकर्षित गर्ने पनि गाउँपालिकाले बताएको छ ।

यसैगरी गाउँपालिकावासीलाई स्वरोजगार, व्यावसायिक एवं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाँउपालिकाको विषेशतामा आधारित लघु, घरेलु, साना एवं मझौला व्यवसायहरूको विकास र प्रवद्र्धन गर्न सहयोग पुग्ने बताइएको छ ।

अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने गाउँवासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत उद्यमीहरूलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न उक्त सम्झौता गरेको बैंकले बताएको छ ।

यो कार्यक्रममा विदेशबाट फर्केका युवाहरूको विदेशमा आर्जन गरेको शीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत शीप र पेशालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न, जनजाती, सीमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिइने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्