ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रू. ६ करोड बराबरको बालुवा जफत

२०७७ असोज, १  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिले रू. ६ करोड ५ लाख ५ हजार २०० बराबरको बालुवा जफत गरेको छ । समितिले हालसम्मकै उच्च परिमाणमा अवैध वालुवा जफत गरेको बताएको छ ।

जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको जानकारी पाएपछि जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सम्बन्धित स्थानीय तहका प्रतिनिधि सम्मिलित एक अनुगमन टोली बनाएर खटाइएको जिल्ला समन्वय समितिले बताएको छ ।

अनुगमनको क्रममा जिल्लाका विभिन्न नदीबाट निकालिएको ३५ हजार घनमिटर बालुवा नियन्त्रणमा लिएको अनुगमन समितिका संयोजक सापकोटाले बताइन् । टोलीले हेलम्बु, इन्द्रावती, मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिकासहित अरनिको राजमार्गमा राखिएका बालुवा जफत गरेको हो ।

जिल्लामा बालुवाको दररेट प्रतिघनफिट रू. ४० छ । सो मूल्यका आधारमा जफत गरिएको बालुवाको मूल्य रू. ४ करोड ९३ लाख ९२ हजार हुन आउँछ । १ घनमिटरमा ३५.२८ घनफिट हुन्छ । बागमती प्रदेश सरकारले तोकेको उत्खनन् तथा विक्री कर दररेट अनुसार १ घनफिट बालुवाको राजस्व रू. ९ पर्दछ । हालको दररेट अनुसार ३५ हजार घनमिटर बालुवाको राजस्व रू. १ करोड ११ लाख १३ हजार २०० हुन आउँछ ।

जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ उत्खनन् गर्न असारदेखि भदौसम्म ३ महीना रोक लगाउने निर्णय पनि गरेको छ । उक्त अवधिमा नदीबाट निकालिएका बालुवा जफत गरिएको संयोजक सापकोटाको भनाइ छ । ‘अवैध रूपमा उत्खनन् गरेको ठूलो मात्रामा बालुवा नियन्त्रण गरेका छौं’, अनुगमन समितिकी संयोजक सापकोटाले भनिन्, ‘यसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाउनका लागि प्रक्रिया थालनी गरिसकेका छौं ।’ अनुगमनका क्रममा ५ ओटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको सापकोटाले जानकारी दिइन् ।

जफत गरिएको बालुवा लिलाम विक्री गर्ने अधिकार स्थानीय तहलाई भएकाले सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले आर्थिक अभियान दैनिकलाई बताए । ‘हामीले बालुवा जफत गरिएका पालिकालाई लिलामीका लागि पत्राचार गरिसकेका छौं’, तामाङले भने, ‘असोजको पहिलो साता नै बालुवा लिलाम विक्री हुन्छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्