ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उत्तरी नाकाकोे अवरोध हटाऊ

२०७७ असोज, २  
सम्पादकीय
Image Not Found

नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढीबाट चीनले सामान पठाउन आनाकानी गर्दा केरुङमा नेपाली व्यवसायीका सयौं कन्टेनर १० महीनादेखि रोकिएका छन् तर ती सामान नेपाल ल्याउन सकिएको छैन ।

नेपालले बारम्बार चिनिँ पक्षसँग सामानको निर्बाध आगमनका लागि अनुरोध गरे पनि चिनियाँ पक्षले कामदार अभाव, स्थानीयको विरोध जस्ता सामान्य कारण देखाउँदै नेपालको कुरालाई चासो दिएको छैन । नेपालको सीमासँग के समस्या भएर चीनले सामान रोकिरहेको छ त ?

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो । चीनबाट सामान नआउँदा कपडा र विद्युतीय सामग्रीको बजारमा कमी छ र सामानको भाउसमेत बढेको छ । त्यसैले सरकारको प्राथमिकतामा उत्तरी नाका पर्नैपर्छ ।

चीनमा कोरोना भाइरस शुरू भएदेखि नै त्यहाँबाट सामान नेपाल आउन दिइएको छैन । बीचमा केही समय सीमाबाट सामान आउन दिए पनि दिनको चारओटा ट्रकमात्र नेपालतर्फ ल्याउन दिएकाले नेपालीले आयात गरेका सयौं ट्रक सामान चीनमा अलपत्र परेका छन् । यसरी सामान अलपत्र पर्दा व्यवसायीहरू निकै मर्कामा परेका छन् । उनीहरूको करोडौं रुपैयाँ फसेको छ । आपूर्ति प्रणाली नै बिग्रिएको छ । स्याउजस्ता चाँडै बिग्रने सामानमात्रै चीनले नेपाल ल्याउन दिएको छ, जसका कारण लत्ताकपडा र विद्युतीय सामान बीचमै अलपत्र परेका छन् । आफ्नो सामानको अवस्थाबारे समेत व्यवसायीले राम्ररी जानकारी पाउन नसकेको अवस्था छ । व्यवसायीहरूले नाकामा रोकिएका सामान छुटाउन पहल गरिदिन सरकार, सत्तारूढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस आदिलाई भेटेर आग्रह गरे, लिखित रूपमा विभिन्न निकायमा ज्ञापनपत्र पनि बुझाए । तर, तिनले व्यवसायीलाई आश्वासन दिए, सामान आउने वातावरण भने बनेन ।

नेपाल सरकारका अधिकारीहरूले प्रयास नगरेका होइनन्, चिनियाँ समकक्षीसँग बारम्बार अनुरोध गर्दै आएका पनि छन् । कोरोनासम्बन्धी स्वास्थ्य सर्तकता अपनाएर विभिन्न शर्त पूरा गरेर मात्रै सामान आयात गर्न नेपाल तयार भए पनि चिनियाँ पक्ष उदासीन बन्ने गरेको छ । तर, सिमानाबाट सामान छुटाएर नेपाल पठाउन भने अनेक बहानामा आनाकानी गरिरहेका छन् ।

चीनसँग नेपालको राम्रो मित्रता छ । चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालले हस्ताक्षर गरेको छ । चीनको एक चीन नीतिलाई नेपालले सधैं समर्थन गरिरहेको छ । अझ, चीनको सुरक्षा चासोलाई समेत नेपालले सधैं साथ दिइरहेको छ । तर, यी सबै हुँदाहुँदै पनि चीनले सिमानामा नेपाली व्यवसायीले आयात गरेका सामान रोकिरहेको छ । २०७२ सालको भूकम्पपछि सुरक्षा चासोकै कारण उसले तातोपानी भन्सार नाका सुचारू गर्न चाहेन । त्यसको सट्टामा रसुवागढी नाकालाई प्राथमिकता दियो । तर, अहिले रसुवागढीबाट पनि सहज रूपमा सामान पठाउन चीनले आनाकानी गरिरहेको छ । यसको अर्थ चीन नेपालसँग विश्वस्त र आश्वस्त हुन नसकेको हो कि भन्ने देखिन्छ । चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल भ्रमण गरेपछि चीनसँग नेपाल निकै नजिकिएको विश्लेषण अन्तरराष्ट्रिय जगत्ले गरेको पाइन्छ । तर पनि नाका नखुलाउन चिनियाँहरू तयार नहुँदा चीनसँगको सम्बन्धमा आशंका जन्मिएको छ ।

नेपालसँग चीनको असन्तुष्टि खुलेर कतै पनि प्रकट भएको पाइँदैन । मुलुकहरूको सम्बन्ध अहिलेको समयमा व्यापारिक हुन्छ । अर्थात् व्यापारिक सम्बन्ध नै अहिलेको विश्वमा सबैभन्दा बढी महत्त्वको मानिन्छ । तर, कामदारको अभावको नाममा महीनौं व्यवसायीको सामान यसरी नरोकिनुपर्ने हो । सामान रोकिँदा व्यवसायी डुब्ने अवस्थासमेत आउन सक्छ । आपूर्ति प्रणालीमै समस्या आइसकेको छ ।

दशैंतिहार जस्ता ठूला चाडपर्वमा कपडाको अभावसमेत हुन सक्छ । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो । चीनबाट सामान नआउँदा कपडा र विद्युतीय सामग्रीको बजारमा कमी छ र सामानको भाउसमेत बढेको छ । त्यसैले सरकारको प्राथमिकतामा उत्तरी नाका पर्नैपर्छ । नाका खुलाउन सरकारले कूटनीतिक प्रयास गर्नुपर्छ । चीनले चाहेको के हो र किन सामान अड्काएको हो त्यो बुझेर त्यसको समाधानमा सरकारले सक्रिय पहल गर्नैपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्