ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

झापामा अलैँची प्रशोधन उद्योग निर्माण, मंसिरबाट स्वदेशमै प्रशोधन हुने

२०७७ असोज, २  
प्रदेश ०१
Image Not Found

असोज २, झापा । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मंसिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । 

झापाको अर्जुनधारामा रू. तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ ।   

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००/१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

‘हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ’, सञ्चालक भट्टराईले भने, ‘यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । 

अहिले अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माण भएपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।

एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन’, सञ्चालक भट्टराईले भने, ‘एउटा नमूना शुरुआत गरेको हो ।’ भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ । 

मुख्यगरी अलैँचीको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो । ‘हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो’, उनले भने । उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्नेछ । 

समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ । यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्