ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हेटौंडामा ४५ करोडको लगानीमा धुलो दूध कारखाना स्थापना हुने

२०७७ असोज, ४  
वाग्मती प्रदेश
NA
author avatar भानुभक्त आचार्य

हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा–१० सिसौघारीमा ४५ करोडको लगानीमा धुलो दूध (पाउडर प्लान्ट) उद्योग स्थापना गर्न प्रक्रिया अगाडि बढाएको छ । पाउडर प्लान्टका लागि २ बिघा जमिन उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्को निर्णय भएपछि डीपीआर तयार गरिएको हो ।

प्रदेश सरकारले गत असारमा सार्वजनिक गरेको ०७७÷७८ को बजेटमा धुलो दूध कारखाना स्थापना गर्ने भनिएको थियो ।  उद्योग स्थापनाका लागि टेन्डर प्रक्रियामा जानुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (आईईई) को काम भइरहेको बताइएको छ । मार्ट इन्जिनियरिङ कन्सल्टेन्सीले वातावरणीय प्रभावबारे स्थानीयसँग छलफलसमेत गरिसकेको छ ।
छलफलमा हेटौंडा नगरका उपप्रमुख मीना लामा, ३ र ११ का वडाअध्यक्ष क्रमशः रामकुमार पुडासैनी, गोकर्णप्रसाद पराजुली, स्थानीय सामुदायिक वन उपभोक्ता, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो । दैनिक १० मेट्रिक टन धुलो दूध उत्पादन  क्षमताको उद्योग स्थापना गरिने प्रदेश दुग्ध विकास बोर्डका अधिकृत डा. शत्रुघ्न साहले जानकारी दिए ।

दैनिक ४० हजार केजी दूध खपत गर्ने उद्योग स्थापनाले बागमती प्रदेशका साथै प्रदेश–२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीका किसानको दूध पनि खरिद गर्न सकिने उनले बताए ।

‘पाउडर प्लान्टको भविष्य राम्रो रहेको र किसानको उत्पादन खेर जान नदिन उद्योग स्थापना अपरिहार्य छ’, हेटौंडा–१० का वडाध्यक्ष कितावसिंह लामाले भने ।

उद्योग स्थापना गर्दा सीमसार क्षेत्रमा चरिचरणमा आउने जंगली पशुलाई असर नपर्ने गरी योजना बनाउनुपर्ने हेटौंडा–१० का वडा सदस्य इन्द्र नेपालको सुझाव छ । राजमार्ग नजिकै भएका कारण बाहिरी जिल्लाका किसानले उत्पादन गरेको दूध सीधै उद्योगमा ल्याउन सहज हुने सदस्य नेपालले बताए । कन्सल्टेन्सीका इन्जिनियर सुदर्शन सेढाईंले उद्योगबाट निस्कने फोहर सबै ट्रिटमेन्ट गरेर मात्र खोलामा छाडिने जनाए । राप्ती किनारमा स्थापना गरिने उद्योगसँगै पशुआहारा उत्पादन गर्ने क्याटल फिड इन्डस्ट्रिज पनि सरकारी स्वामित्वको उद्योग हो । बागमती प्रदेश सरकारले प्रदेशलाई दूध र माछामासुमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ ।

प्रदेशले चक्लेट क्याटवरी उद्योग, बाच्छी स्रोत केन्द्र, विपन्नलाई गाईभैंसीपालनमा निब्र्याजी ऋण प्रवाहलगायत कार्यक्रम अघि सारेको हो ।

प्रदेशले सुरु गरेको दूध उत्पादकलाई २ रुपैयाँ अनुदान कार्यक्रमबाट किसानले लाभ लिँदै आएका छन् । दूध उत्पादनको लागत घटाउन १३ वटै जिल्लामा घाँसखेती कार्यक्रम, दुग्ध क्षेत्रमा मेसिनरी वितरण कार्यक्रम प्रदेश सरकाले ल्याएको छ ।

समग्र दुग्ध क्षेत्रको विकास र विस्तार गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सबीच भएको समझदारीअनुसार दुग्ध विकास कार्यक्रममार्फत गरिबी निवारण परियोजना सञ्चालन भइरहेको छ ।

दुग्ध विकास संस्थानअन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाको परिसरमा रहेको धूलो दूध कारखाना (पाउडर प्लान्ट) को दैनिक ७० हजार लिटर कच्चा दूधबाट धूलो दूध उत्पादन गर्ने क्षमता छ । त्यस्तै, नेपालको सबैभन्दा ठूलो धुलो दूध कारखाना चितवन कोईले भरतपुरको ठिमुरामा ६ वर्षअघि उत्पादन सुरु गरेको थियो । चितवन मिल्क लिमिटेडमा चितवन कोईको ८९ प्रतिशत र सरकारी संस्था दुग्ध विकास संस्थानको ११ प्रतिशत साझेदारी रहेको छ ।  यसको क्षमता पनि दैनिक ७० हजार लिटर दूध खपत गर्न सक्ने छ । दूध उत्पादन कम भएका बेला डेरी उद्योग र अन्य उद्योगले विदेशबाट धुलो दूध खरिद गरी उपभोक्तालाई वितरण गर्दै आएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्