ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्व बैंकको साढे २३ अर्ब ऋण सहयोग

२०७७ असोज, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्व बैंकले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न वित्तीय सुधार कार्यक्रमका लागि नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।  

सरकारले अघि सारेका योजनाहरु कार्यान्वयन गर्न विश्व बैंकले २०० मिलियन डलर (२३ अर्ब ५१ करोड) रुपैयाँ बराबरको ऋण सहयोग हालै स्वीकृत गरेको हो ।  नेपालको वित्तीय अवस्थालाई सन्तुलित र पहुँचयोग्य बनाउन तथा कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणसँगै पुनस्र्थापना कार्यक्रमका लागि सहयोग पुर्‍याउने उद्देश्ले ‘विकासका लागि वित्त’ (फाइनान्स फर ग्रोथ) शीर्षकमा उक्त ऋण स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।  

‘महामारीबाट नागरिकको ज्यान जोगाउनु, त्यससँगै आर्थिक पुनस्र्थापनाका योजना कार्यान्वयन गर्नु पनि अहिलेको अवस्थामा उत्तिकै महत्वपूर्ण छ,’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भने, ‘यो परियोजनाले नेपालको वित्तीय क्षेत्र, पुँजीबजार र बिमालगायत क्षेत्रमा सन्तुलन कायम राख्न, कोरोना महामारीपछिको आर्थिक पुनर्स्थापनाका लागि सहयोग पुर्‍याउनेछ ।’

त्यस्तै, वित्तीय क्षेत्रको प्रभावकारी नियमन र अन्य सुधारका माध्यमबाट न्यून आर्थिक अवस्था भएका परिवार, महिलालगायत पिछडिएको वर्गमा सहज वित्तीय पहुँचका कार्यक्रम, सोअनुरुपका पूर्वाधार निर्माण र वित्तीय साक्षारतामा यो रकम खर्च हुने विश्व बैंकले जनाएको छ ।

डिजिटल वित्तीय सेवामा पहुँच विस्तारमा समेत यो परियोजनाले मद्दत पुर्‍याउने विश्व बैंकको अपेक्षा छ ।

बैंक तथा वित्तीय संस्थामा महामारीका कारण सिर्जना हुन सक्ने चुनौतीको व्यवस्थापन, पूँजीबजार, बिमा, भेन्चर क्यापिटल, तथा मौद्रिक र उपभोक्ता बजार व्यवस्थापनका लागि समेत सहयोग पुर्‍याउने उद्देश्यले नेपाललाई यो ऋण प्रवाह गरिएको विश्व बैंकले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले कोरोना महामारी सुरु भएयता नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ ।

मन्त्रालयका अनुसार गत साउनमा मात्रै नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकले सरकारलाई ५४ अर्ब रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने सम्झौता भएको थियो ।  विश्व बैंकले उपलब्ध गराएको सो रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्