ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुर्खेतमा सञ्चालनमा आएनन् सवारीसाधन

२०७७ असोज, ५  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । सरकारले गत बिहीबारदेखि यात्रुवाहक सवारीसाधन सञ्चालन गरे पनि सुर्खेतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन सकेनन् । सुर्खेत भएर काठमाडौं, चितवनका लागि बस छुटाउन आवश्यक प्राविधिक तयारी नहुँदा लामो दूरीका चल्न नसकेका हुन् ।

कोरोना संक्रमणका कारण झन्डै ६ महिनादेखि रोकिएका लामो दूरीका सार्वजनिक सवारी बिहीबार पनि सञ्चालन नहुँदा काठमाडौं जाने केही यात्रु निरास देखिएका थिए ।
लामो दूरीको यातायात ती सवारी साधन पुनः सञ्चालनमा ल्याउन प्राविधिक चेकजाँचलगायतका काम बाँकी रहेकाले अब असोज ६ देखि सञ्चालनमा ल्याउने तयारी भएको व्यवसायीहरूले बताएका छन् ।

‘हरेक दिन सुर्खेतबाट छुट्ने यात्रुवाहक बसलाई हामी डिसइन्फेक्ट गर्छौं,’ सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘गाडी छुट्नुअघि बसपार्कमा डिसइन्फेक्ट गरेर मात्रै यात्रु चढाइनेछ । चालक र सहचालकलाई मास्क अनिवार्य गरिएको छ । क्याबिनको सिटलाई गणना गरिने छैन । यात्रु सबैलाई बिनामास्क यात्रा गराउँदैनौं ।’

विश्वकर्मा पूजाका कारण र प्राविधिक तयारी पूरा गर्नुपर्ने भएकाले बिहीबार लामो दूरीका गाडी छुटाउन नसकिएको उनले बताए । ‘असोज ६ देखि नियमित गाडी चलाउँछौं । ग्रामीण भेगका सबै रुटमा पनि नियमित गाडी चल्छन् । केही दिन क्यू फ्रि गर्छौं । त्यसपछि नियमित क्यूमा पालोअनुसार गाडी गुड्छन्’, सापकोटाले भने ।

पहिले गाडी चलेका र अहिले सडक अवस्था राम्रो भएका सबै रुटमा बस छुटाउने उनको भनाइ छ । अहिले कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यात्रु पनि हत्तपत्त यात्रामा निस्किन नचाहेको अध्यक्ष सापकोटाको अनुभव छ ।

‘मानसिक रुपमा यात्रुलाई त्रास छ । ५० प्रतिशत भाडा थप्दा पनि यात्रु अभावमा इन्धन खर्च पुग्दैन,’ उनले भने, ‘गुडेका गाडीको इन्जिन चल्यो भन्ने मात्र अवस्था छ । यात्रु अभावमा केही दिन चलाएर गाडी थन्काउनुपर्ने त्रास बढेको छ ।’

सिट क्षमता ४० भएका गाडीले २० जना मात्र यात्रा गराउन सरकारले व्यवसायीलाई अनुरोध गरेको छ । चैत दोस्रो सातादेखि बन्द रहेको सुर्खेतको लामो दूरीका यातायात साढे ६ महिनापछि असोज ६ देखि सञ्चालनमा आउनेछन् ।

सरकारले लामो दूरीका सवारी सञ्चालनको अनुमति दिए पनि पूर्वतयारीसँगै यात्रु कम संख्यामा रहेकाले चलाउन नसकिएको देउती नागरिक यातायात प्रालिले बताएको छ । कम्पनीका  अनुसार बिहीबार सुर्खेत–काठमाडौं रुटमा बस सञ्चालन गर्ने योजना बनाए पनि पर्याप्त यात्रु नहुँदा पठाउन नसकिएको हो ।

‘असोज ५ देखि मात्र स्थल र हवाई मार्ग खुल्ने भनिएको थियो । तर, बिहीबारदेखि सञ्चालन गर्न दिँदा यात्रु पनि अन्योलमा परेका हुन सक्छन्,’ देउती नागरिक यातायातका अध्यक्ष कमल खड्काले भने, ‘यात्रुको आकार बढ्दै जाने अपेक्षामा छांै ।’

बिहीबार सुर्खेतबाट काठमाडौं जाने यात्रुमा ४ जना मात्र सम्पर्कमा आएका थिए । बन्दाबन्दीका कारण झन्डै ६ महिना थन्किएका गाडीलाई चालू अवस्थाको बनाउन प्रतिगाडीका लागि कम्तीमा डेढ लाख रुपैयाँका दरले खर्च लाग्ने अध्यक्ष खड्काले जानकारी दिए । ‘डेढ लाख रुपैयाँ खर्चेर व्यवसायीले लामो समयदेखि थन्किएका गाडी गुड्नलायक बनाएका छन् । यात्रु भने निकै कम छन्,’ उनले भने, ‘यात्रुको संख्या बढेन भने खर्च धान्नै सकस पर्छ । संक्रमणको गति बढिरहेकाले यात्रु डराएका हुन सक्छन् ।’

अरु बेला सामान्य अवस्थामा सुर्खेत–काठमाडौं–पोखरा रुटमा झन्डै ४० (एकतर्फी २० वटा ठूला आकारका बस सञ्चालन हुन्थे । अहिले सुर्खेतका यातायात व्यवसायीहरूले कार्यगत एकता गरेर पालैपालो दिनमा यात्रुको चाप हरेर कम्तीमा दैनिक ३÷४ वटा लामो दूरीका बस गुडाउने योजना बनाएका छन् ।

हवाई उडान भएन
सरकारले बिहीबारदेखि हवाई यातायात सञ्चालन गर्न अनुमति दिए पनि सुर्खेत विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेन । हवाई उडान भने अझै अनिश्चित छ ।
हवाई उडानका लागि सरकारले भनेझैं ५० प्रतिशत संख्यामा बोक्दा यात्रुलाई भाडा दोब्बर पर्न जाने भएकाले उक्त  निर्णय व्यावहारिक नभएको हवाई कम्पनीहरूले बताउँदै आएका छन् । पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने हवाई कम्पनीले माग राख्दै आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्