ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योग लिलामीका असर

२०७७ असोज, ५  
सम्पादकीय
Image Not Found

राष्ट्रिय वािणज्य बैंकले विराटनगरका औद्योगिक घराना मंगतुरा अग्रवाल समूहको नौओटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्तिको लीलामी सूचना निकाले पछि नेपालमा औद्योगिक विकासका लागि थुप्रै अवरोध छन् भन्ने तथ्यलाई थप बल प्रदान गरेको छ । नेपालमा उद्योग खोल्ने वातावरण छैन, व्यापार गर्नका लागि मात्रै वातावरण छ भन्ने भनाइलाई यस घटनाले थप पुष्टि गरेको छ ।

कुनै पनि उद्योग बन्द हुँदा सरकारले एउटा व्यक्ति वा समूहको उद्योग बन्द भएको त हो नि भनेर त्यसलाई बेवास्ता गर्नुभन्दा यसको कारण खोजेर सकेको मद्दत गर्नुपर्छ ।

मंतुराम समूह छोटो समयमा नै नौओटा उद्योग स्थापना गर्न सफल बन्यो र ओरालो यात्रा पनि थोरै समयमा नै भएको देखिन्छ । यो समूह ओरालो लाग्नुमा उसकै खराब व्यवस्थापन धेरै हदसम्म जिम्मेवार देखिन्छ । ५०–६० को दशकमा धेरै व्यापारिक समूहले सरकारी बैंकबाट राजनीतिक आडबलका आधारमा ऋण लिने र नतिर्ने प्रवृत्ति थियो । यही कारण सरकारी बैंक समस्याग्रस्त भएका थिए । त्यतिखेर कालोसूचीमा परेका व्यापारिक समूहको कथा यही हो । मंतुरामको सम्पत्ति लीलामी प्रकरणले त्यतिखेर जथाभावी ऋण लिने दिने प्रकरणको पटाक्षेप गर्छ । कोरोना महामारीमा पनि यस्तै प्रवृत्ति नदोहोरिएला भन्न सकिँदैन । खासगरी ऋणको माग नभएको अवस्थामा जसलाई पनि ऋण दिने प्रवृत्ति खतरा भएको बैंकरहरूको भनाइ पाइन्छ ।

औद्योगिक र कर्पोरेट संस्कारको बलियो जग नबसिसकेको अवस्थामा कम्पनीहरूका साझेदारहरूमा विवाद आउने, कम्पनी विघटन हुने, पुरानो समूह छाडेर नयाँ बनाउने जस्ता गतिविधि बढी हुन्छन् जसमा कम्पनीको संस्कारभन्दा व्यक्तिको अहम् र स्वार्थ बढी हाबी हुन्छ । यही कारण नै औद्योगिक समूह समस्यामा परेको देखिन्छ । व्यवस्थापकीय कमजोरीका बीच उच्च महत्त्वाकांक्षासहित नयाँनयाँ उद्योगहरू खोल्दै जाँदा त्यसलाई सही ढंगमा परिचालन गर्न नसक्दा ठूलाठूलो कम्पनीहरू पनि टाट पल्टिएका पाइन्छन् ।

कुनै पनि उद्योग बन्द हुँदा सरकारले एउटा व्यक्ति वा समूहको उद्योग बन्द भएको त हो नि भनेर त्यसलाई बेवास्ता गर्नुभन्दा यसको कारण खोजेर सकेको मद्दत गर्नुपर्छ । त्यस्तै उद्योग वा कम्पनीलाई ऋण दिने बैंक वा वित्तीय संस्थाले पनि तिनीहरूले कसरी काम गरिरहेका छन्, बेलाबेलामा निरीक्षण गर्ने र आवश्यक सुझाव दिने काम पनि गर्नुपर्छ । आफूले ऋण दिएका कम्पनी कस्तो छ, उसलाई के समस्या छ, वित्तीय वा व्यवस्थापनसम्बन्धी के सहयोग आवश्यक छ जस्ता पक्षमा पनि कर्जा प्रदाता बैंकहरूको ध्यान जाने हो भने उसको ऋण लगानी खेर जाँदैन ।

अहिले नेपालमा कोरोना महामारीका कारण थप उद्योगहरू समस्यामा परेका छन् । यस्ता उद्योगहरू पनि बन्द नहोलान् भन्न सकिँदैन । यद्यपि धेरैजसो व्यावसायिक घरानाको बैंक तथा वित्तीय संस्थामा समेत लगानी भएकाले यस्तो समस्या नआउला भन्न सकिन्छ । कोरोनाका कारण होटलहरू बन्द हुन सक्छन्, साना होटेल त केही मात्रामा बन्द भइनै सकेका पनि छन् । खासगरी उत्पादनमूलक उद्योग बन्द भए पनि त्यसले देशको औद्योगिक विकासका दूरगामी असर पार्ने सम्भावना बढी हुन्छ । हुन त सरकारले रुग्ण उद्योगहरूका लागि भनेर केही सुविधा दिएको पनि छ । अहिले कोरोनाका कारण थलिएका उद्योगलाई सञ्चालन खर्च जुटाउन ५ प्रतिशत ब्याजदरमा सस्तो कर्जा पनि उपलब्ध गराउन तयारी गरिरहेको छ । यी कदम सकारात्मक छन् तर अपर्याप्त छन् । त्यसैले महामारीका कारण होस्, अथवा अन्तरराष्ट्रिय व्यापारमा आएको परिवर्तन, अथवा आन्तरिक व्यवस्थापनकै कमजोरीका कारण वा सरकारकै नीतिगत अप्ठ्यारोका कारण बन्द हुने उद्योग प्रशस्त छन् । तिनलाई सञ्चालनमा सहजीकरण नगरिदिने हो भने उद्योगिक विकासको गति अझै सुस्त हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्