ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विदेश छाडेका युवाको कृषि मोह

२०७७ असोज, ६  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतकको कुश्मा नगरपालिका–११ पकुवाका गणेश पौडेलले २७ महीना विदेशमा बिताए । तर आफ्नो माटोमा बगाएको पसिना विदेशको भन्दा धेरै फलदायी हुने सोचेर उनी २०७१ मा स्वदेश फर्किए । अहिले उनले तरकारीखेतीमा शुरू गरेका छन् । ‘जहरे कृषि तथा पोल्ट्री फार्म’ सञ्चालन गरेका ३२ वर्षीय पौडेललाई फेरि विदेश फर्किने चाहना छैन । अब स्वदेशमै रमाउने, यहीँको माटोमा श्रम र पसिनाले आयआर्जन गर्ने लयमा छन् उनी । उनी गाउँका अरू युवालाई पनि विदेश नजान अनुरोध गर्छन् । ‘कृषिमा केही गर्न सकिन्छ भन्ने लागेको छ,’ पौडेलले भने, ‘आप्mनो बाँझो रहेको खेत खनजोत गरेर तरकारीखेती लगाए विदेश जानुपर्दैन ।’ उनले पाँचओटा टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । वार्षिक रूपमा १० देखि १२ लाख रुपैयाँ उनको आम्दानी छ ।  

गणेश जस्तै सूर्य केसी, गोविन्द पौडेल, विश्वराज जोशी, दीपेन्द्र क्षेत्री, डम्बर विक, सीता क्षेत्री, डिल्लीराम पौडेल लगायतले व्यावसायिक तरकारी खेती गरेका छन् ।

उनीहरूमध्ये गोविन्द पौडेल, सीता क्षेत्री र सूर्य केसीबाहेक अरू सबै विदेशबाट फर्किएका युवा हुन् । सूर्य केसीले भाडामा जग्गा लिएर तरकारीखेती गर्दै आएका छन् । आफू मोदी–७ राम्जा देउरालीका भए पनि पकुवाका युवाहरूको साथ खोज्दै कुश्मा नगरपालिका–११ मा आएर व्यावसायिक तरकारीखेती गर्दै आएको उनले सुनाए । ‘मलाई तरकारीखेती गर्ने ठूलो रहर थियो,’ उनले भने, ‘शीप थिएन । साथीहरू खोज्दै यहाँ आएँ । अहिले जग्गा भाडामा लिएर खेतीपाती गर्दै छु ।’ सूर्यले विदेश जाने सोच नबनाएको कारण स्वदेशमा रमाउन सकेको बताए । ‘बेलैमा बुद्धि पलाएछ भन्ने लाग्छ,’ उनले भने, ‘मेरै गाउँका कतिजना दाजुभाइ अहिले दुःख पाएर घर फर्किरहँदा मैले राम्रो काममा हात हालेछु भन्ने लागेको छ ।’

कुश्मा–११ जहरेखोला वरपर खेतैभरि टनेलै टनेल छन् । प्रायःजसोले व्यावसायिक तरकारीखेती गर्न थालेका छन् । बजारबाट तरकारी किनेर खानेहरूले पनि घरमा चाहिने तरकारी घरमै फलाउँदै आएका छन् ।

उर्वर भूमि र सिँचाइको सुविधा भएकाले पकुवामा  तरकारीखेतीको लहर चलेको स्थानीय बताउँछन् । स्थानीय गोविन्द पौडेलका ६ ओटा आधुनिक टनेल छन् । उनले तीन रोपनी बारीमा काउली लगायत तरकारी लगाउने गरेका छन् । बिहानदेखि साँझसम्म तरकारीको हेरचाह, बजार व्यवस्थापन लगायत काममा उनी व्यस्त छन् । ‘तरकारीखेतीमा लागेपछि चारतिर सोच्न पनि भ्याइँदो रहेनछ । त्यही भएर विदेश भन्ने कुरा मेरो मनमा कहिल्यै आएन,’ उनले भने, ‘कोरोनाका कारण अहिले गाउँका साथीभाइ फर्किएर मसँग व्यावसायिक तरकारीखेतीबारे बुझ्न आउँदा गर्व लाग्छ ।’ परिवारको माया र देशकै हावापानीमा रमाउन पाउँदा आफूलाई आनन्द लागिरहेको उनको अनुभव छ । उनको फार्ममा अहिलेसम्म १० लाख रुपैयाँ लगानी भएको छ । वार्षिक कारोबार ६ लाखदेखि १० लाख रुपैयाँको छ ।

यस्तै इजरायलमा ७ वर्षसम्म बिताएका विश्वराज जोशी पनि व्यावसायिक तरकारी फार्म स्थापना गरी विगत ४ वर्षदेखि गाउँमै रमाउन थालेका छन् । उनले तरकारीखेतीसहित कालिजपालन पनि गरेका छन् । ‘एउटै समय र मेहनतमा दुईओटा व्यवसाय गर्दा आम्दानी पनि दुईतिरबाट हुँदो रहेछ,’ उनले भने । गतवर्ष कृषि ज्ञान केन्द्र मार्फत इजरायल गएर आपूmले सिकेको कृषिसम्बन्धी शीप फार्ममा प्रयोग गरेको उनले सुनाए । विदेशबाट फर्किएर शुरू गरेको कृषि व्यवसाय उनले वर्षेनि बढाउँदै लगेका छन् । बेलाबेलामा पाउने तालीमले थप शीप आर्जन भएको उनको भनाइ छ । कृषि फार्ममा हालसम्म १ करोड रुपैयाँ हाराहारीमा लगानी पुगेको उनले बताए । यी युवालाई स्वरोजगार बनाउन सरकारको पनि साथ छ । कृषि ज्ञान केन्द्रले प्रदेश सरकारको युवा लक्षित मोडल फार्म कार्यक्रम मार्फत अनुदान, बेलाबेलामा प्राविधिक तालीम र यान्त्रिकीकरणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । ‘अहिले कोरोनाका कारण वैदेशिक रोजगारी संकटमा प¥यो,’ रेग्मीले भने, ‘अब युवालाई बाँझो जमीन नखनी धरै छैन । कोरोनाले ठक्कर दिएपछि कतिपय कृषिमा लागिसके । केही अझै दोधारमै देखिन्छन् ।’

गतवर्ष कृषि ज्ञान केन्द्रले २२ करोड ९९ लाख रुपैयाँ कृषकका लागि खर्च गरेको छ । चालू वर्षको बजेट आए पनि अख्तियारी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए । स्थानीय तहहरूको प्राथमिकता पनि कृषिमै छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा साना तथा मझौला कृषि फार्म एक सय हाराहारीमामा छन् ।
स्थानीय तहरूले एक गाउँ एक उत्पादन, एक घर एक टनेल, एक गाउँ एक नर्सरी, बिरुवा हाम्रो फल तपाईंको लगायत कार्यक्रम मार्फत कृषिको व्यावसायिकीकरणमा जोड दिएका छन् ।

कोभिड १९ का कारण विदेशमा रहेका युवाहरू धमाधम गाउँ फर्किन थालेका छन् । विदेशमा रहेका कति युवा स्वदेश फर्किन्छन् भन्ने यकिन छैन । युवाहरू विदेशको रोजगारी गुमाउँदै घर फर्किरहेकाले तीनै तहका सरकारले उनीहरूलाई रोजगारी दिने योजना ल्याउनुपर्ने अर्थविद् पृथ्वीनारायण शर्माले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्