ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाग्लुङमा साढे ४ हजारले गरे कोरोना बिमा

२०७७ असोज, ७  
गण्डकी प्रदेश
NA
author avatar अर्जुन कार्की

बाग्लुङ । बाग्लुङमा साढे चार हजार बढीले कोरोना बिमा गरेका छन् । कोरोना महामारीको त्रास बढेसँगै बाग्लुङमा ४ हजार ८ सय २५ जनाले कोरोना बिमा गरेका हुन् ।

कोरोनाको जोखिम सुरक्षणका लागि वैशाख ७ देखि बिक्रीमा ल्याइएको यो पोलिसी सुरुमा सुस्त भए पनि अहिले समुदायस्तरमै संक्रमण फैलिन थालेपछि बिमा गर्नेको संख्या बढिरहेको बिमा कम्पनीहरूले बताए ।

निर्जीवन बिमा कम्पनीहरूले बिक्री गरिरहेको बिमा पोलिसी बाग्लुङमा १ लाख र ५० हजारको छुट्टाछुट्टै रकम तोकेका छन् । बाग्लुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बिमाको काम गरिरहेका छन् ।

बाग्लुङमा हालसम्म सबैभन्दा बढी  आईएमई जनरल इन्स्योरेन्सले ३ हजार २ सय ६० जनाको बिमा गरेको छ भने सबैभन्दा कम लुम्बिनी जनरल इन्स्योरेन्सले ७ जनाको बिमा गरेको छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले ८८ जना, एनएलजी इन्स्योरेन्सले १ यस ४७ जना र प्रभु इन्स्योरेन्सले १ सय ३१ जनाको बिमा गरेका छन् ।

यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले ७८ जना, सगरमाथा इन्स्योरेन्सले ५६ जना, नेको इन्स्योरेन्सले १ सय ५६ जना, एभरेष्ट इन्स्योरेन्सले २८ जना, शिखर इन्स्योरेन्सले  ४ सय ८० जना र प्रिमियर इन्स्योरेन्सले ४ सय ५ जनाको बिमा गरेको जनाएका छन् ।

‘हामीले आफैं सम्पर्कमा आएका र बिमाबारे बुझ्नेहरूलाई मात्र बिमा गर्न आग्रह गर्छौं,’ प्रुडेन्सियल इन्स्योरेन्सका शाखा प्रमुख नन्दु विष्टले भने, ‘अन्य बिमा कम्पनीले जस्तो अभिकर्ताहरू राखेर घरमै पुगेको भए बिमा गर्ने धेरै हुने थिए ।’

बाग्लुङमा धेरै संघ–संस्थाहरू आफंैले सम्पर्क गरी बीमा गरिरहेको शिखर इन्स्योरेन्सका शाखा प्रमुख अञ्जली श्रेष्ठले बताइन् । ‘व्यक्तिगतभन्दा धेरै संघ–संस्थाहरूले बिमा गरिरहेका छन्,’ शाखा प्रमुख श्रेष्ठले भनिन्, ‘कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका संघ–संस्थाहरूले आफ्ना कर्मचारीको सामूहिक बिमा गरिरहेका छन् ।’

बाग्लुङमा सबैभन्दा धेरै बिमा गरेको आईएमई जनरल इन्स्योरेन्सले १ जनाको बिमा दाबी रकम भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीले अहिले २ जनाको भुक्तानी प्रक्रियामा पुगेको बताएको छ ।

कोरोना बिमालेखमा १ लाख र ५० हजार गरी दुई प्रकारको बीमांक तोकिएको छ । १ लाख रुपैयाँको बिमाका लागि व्यक्तिले १ हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घरपरिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

५० हजार रुपैयाँ बीमांकको बिमालेखका लागि प्रतिव्यक्ति ५ सय र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । यी दुवै बिमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ । सरकारी कर्मचारीहरूको सामूहिक कोरोना बिमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध हुने व्यवस्था छ ।

बिमा दाबीका लागि बिमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइए  बिमालेखबमोजिमको कम्पनीहरूले दाबी भुक्तानी गर्नेछन् । बिमा कम्पनीले दावी निवेदन पेस गरेको ७ दिनभित्रै बीमितलाई भुक्तानी दिनुपर्छ । यदि दाबी भुक्तानी नहँुदै बीमितको मृत्यु भए उसले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्