ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्वतका सात बस्ती स्थानान्तरण गर्न सिफारिस

२०७७ असोज, ७  
गण्डकी प्रदेश
NA
author avatar रोशन तिवारी

पर्वत । लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका ७ वटा बस्ती जोखिममा परेका छन् ।

वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सात बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको हो ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरका सात बस्ती स्थानान्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारिस गरेको छ । ७ वटा बस्तीका झण्डै १ सय घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेको थियो । उक्त अनुगमनपछि बसेको विपद् व्यवस्थापन समिति बैठकले बस्ती नै स्थानान्तरण गर्न लागि सिफारिस गरेको हो ।

नगर विपद् व्यवस्थापन समितिका अनुसार वडा–४ मुडिकुवाको चुरी, वडा–१० कुर्घाको फल्ला, वडा–२ थापाठानाको दरदरे, वडा–३ शंकरपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा–६ देविस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिए ।

अधिकांश बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् । सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन् । संघ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुन सक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाइने योजना व्यवस्थापक देबीप्रसाद तिमिल्सिनाले बताए ।  त्यस्तै, बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका आयोजनामा पनि क्षति पुगेको छ । ती आयोजना मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ ।

वर्षाले स्तरोन्नति भइरहेको दोबिल्ला–फलेवास सडक खण्डसहित दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरो नपन्छाएसम्म सडकमा यातायात सञ्चालन हुन सक्ने अवस्था नभएको  तिमिल्सिनाले बताए  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्