ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सञ्चय कोषको अगुवाइमा बनाइँदै बेतन कर्णाली जलविद्युत् आयोजना

२०७७ असोज, ७  
विकास
Image Not Found

अल्पकालीन निक्षेप लिएर जलविद्युत् जस्ता दीर्घकालीन आयोजनामा लगानी गर्नुपर्ने भएकोले आपूmहरूले ठूलो जोखिम बेहोर्नुपरेको भन्ने गुनासो नेपालका बैंक र वित्तीय संस्थाहरूको हुने गरेको छ । यस्तो अवस्थामा कमर्चारी सञ्चय कोषले आफू र आफ्ना सञ्चयकर्ताको समेत लगानीमा सुर्खेत र अछाम भएर बहने कर्णाली नदीमा बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्दै छ ।

यो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कं.लि. र सर्वसाधारणको पनि लगानी रहनेछ । विभिन्न देशमा कर्मचारी सञ्चयकोष जस्ता संस्थाहरूले नै जलविद्युत्मा लगानी गरेका सफल उदाहरणहरू छन् । यस्ता संस्थाहरूका निक्षेपकर्ताले जम्मा गरेको निक्षेप वर्षौंपछि भुक्तानी गर्नुपर्ने हुँदा संस्थालाई जलविद्युत् जस्ता पूर्वाधार परियोजनामा गरेको लगानीबाट तत्कालै फाइदा उठाउनुपर्ने दबाब कम हुन्छ । यसले गर्दा कर्मचारी सञ्चयकोषले ठूलो आयोजनामा लगानी गर्नु सकारात्मक मान्नुपर्छ ।

बेतन कर्णाली आयोजनाको उपल्लो तटमा ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना तथा तल्लो तटमा १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजना रहेका छन् । यो आयोजनाको प्रस्तावित पावरहाउस (विद्युत्गृह)सम्म सडक बाटो पुगिसकेको छ भने बाँध क्षेत्र तथा परियोजनाका अन्य संरचनासम्म पुग्न करीब २० किलोमिटर बाटो बनाउनुपर्ने हुन्छ । कम्पनीले ६८८ मेगावाटको आयोजनाको अध्ययन गर्ने इजाजत पाए पनि थप अध्ययनपछि लाभ लागतको हिसाबले करीब ४४० मेगावाटको आयोजना बनाउँदा सबैभन्दा उपयुक्त हुने देखिएको छ । आयोजनाले १४० मिटर अग्लो बाँध बनाएर विद्युत्को माग कम हुने दिउँसो र रातिको समयमा ३ करोड ६० लाख घनमिटर पानी सञ्चय गरी बिहान र बेलुका ६–६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेगरी यो आयोजनाको निर्माण गरिँदै छ । बाँधबाट ५३६ घनमिटर पानी फर्काई करीब दुई किलोमिटर लामो तेर्साे सुरुङबाट सर्ज साफ्टसम्म पु¥याइनेछ । र, त्यहाँबाट फलामे पाइपबाट पानी करीब १०० मिटर झारेर ४३१ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यसैगरी आयोजनाको बाँधबाट पर्यावरणका लागि अविरल छाड्नैपर्ने पानीबाट करीब ८.७ मेगावाट विद्युत् वर्षैभरि उत्पादन गरिनेछ ।

यो आयोजनाबाट उत्पादित विद्युत् करीब ५ किलोमिटरको दूरीमा रहेको बाघमारा सबस्टेशनसम्म पुर्‍याई राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाले वार्षिक रूपमा २ अर्ब ३० करोड युनिट विद्युत् उत्पादन गर्नेछ । आयोजना निर्माण गर्न करीब ६ वर्ष र झण्डै ९४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजना अध्ययनकै क्रममा भएकाले यसका संरचना, खर्च र निर्माण अवधि पनि परिवर्तन हुन सक्छन् । यो आयोजनाको वित्तीय व्यवस्थापन समेत भइसकेको छ, जस अनुसार बैंकहरू ४९ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् ।

बेतन कर्णाली आयोजनामा बैंकका अलावा सरकारी कर्मचारी, सार्वजनिक संस्था तथा सर्वसाधारण जनताको समेत लगानी रहनेछ । त्यसो हुँदा यो आयोजनाले लगानीकर्तालाई दिने प्रतिफल सुनिश्चित हुनुपर्दछ । जलविद्युत् आयोजनाहरू विभिन्न जोखिमका शिकार हुन्छन् । बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, हिमतालको विष्फोट जस्ता प्राकृतिक जोखिम त पूर्वानुमान गर्न सकिन्छ । साथै तिनको न्यूनीकरणका लागि विभिन्न उपाय अवलम्बन गर्नुपर्छ । त्यसैगरी व्यवस्थापनको कमजोरीले आउन सक्ने समस्या पनि भयावह हुन सक्छन् । निर्माणको चरणमा हुने ढिलाइ र मूल्यवृद्धिको जोखिम नेपालका प्रायः सबै जलविद्युत्् आयोजनाको समस्या हो । त्यसमाथि सरकारी वा सार्वजनिक संस्थाबाट निर्माण गरिने आयोजनाको इतिहास त्यति उत्साहजनक छैन । सरकारी वा सार्वजनिक संस्थाबाट निर्माण गरिएका आयोजनाको लागत सरकारी नियम कानूनका कारण तथा संस्थाको अनिर्णयका कारणले व्यापक रूपमा बढेको पाइन्छ । यी प्राकृतिक तथा व्यवस्थापकीय कारणबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका उपाय आयोजना शुरू गर्नुभन्दा अगाडि नै गरिसक्नुपर्छ । यो आयोजनालाई आर्थिक–प्राविधिक रूपले थप आकर्षक बनाई प्रतिफल सुनिश्चित गर्नु आवश्यक छ । हालसम्म अध्ययनकै चरणमा भएकाले प्राविधिक डिजाइन र व्यवस्थापन विधिमा परिवर्तन वा वित्तीय व्यवस्थापनमा नवीनतम अवधारणाको प्रयोग गरी यो आयोजनालाई थप आकर्षक बनाउन सकिन्छ ।

विद्यमान विद्युत् खरीद नीति अनुसार यस्ता दैनिक रूपमा पानी सञ्चय गर्न सक्ने आयोजनाको विद्युत् प्रतियुनिट सरदर रू. ६.५० मा प्राधिकरणले खरीद गर्छ । यो आयोजनामा लगानी गर्दा अनुमानित खर्चलाई ध्यानमा राख्नुपर्छ । साथै जलविद्युत् आयोजनाहरूमा अन्य कारणले खर्च बढ्न सक्ने सम्भावनालाई विचार गरेर मात्र लगानी गर्नुपर्दछ ।

अर्को कुरा, नेपालको सबैभन्दा ठूलो र आकर्षक मानिएको कर्णाली चिसापानी आयोजना बनेपछि बेतन कर्णाली आयोजनाको विद्युत् उत्पादन गर्ने क्षमता आधा जति घट्छ । सार्वजनिक संस्थाबाट झण्डै खर्ब रुपैयाँको लगानी हुने एउटा आयोजनाले पछि आउने विकास आयोजनालाई बाधा पुग्नेगरी वा विवादमा पार्नेगरी आयोजना छनोट गर्नु त्यति उपयुक्त देखिँदैन । कर्णाली चिसापानी आयोजनाको निर्माण गर्ने बेला बेतन कर्णाली आयोजनाको कारण ठूलो विवाद निम्त्याउने देखिएको छ । अहिले त्यस्तै विवाद काबेली ए आयोजना र प्रस्तावित तमोर जलाशय आयोजानाबीच शुरू भइसकेको छ ।

नेपालको विकट क्षेत्रमा झण्डै १ खर्ब रुपैयाँ लगानी हुने भएकाले कर्णाली क्षेत्रका लागि बेतन कर्णाली आयोजनाले ठूलो महत्त्व राख्छ । कथंकदाचित यो आयोजनाले लगानीकर्तालाई अपेक्षित प्रतिफल दिन नसक्ने अवस्था आएमा आयोजनालाई एकैसाथ नाफामूलक र समाजको विकासमा योगदान पुर्‍याउने गरी निर्माण गर्नुपर्ने चुनौती आइपर्छ । यस्तो अवस्थामा आयोजनाले यी दुवै लक्ष्य हासिल गर्ने वातावरण बनाउन सरकार स्वयंले नै उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसो भएमा कर्णालीवासी, आयोजनाका लगानीकर्ता र उक्त आयोजनाबाट उत्पादित विद्युत् उपभोग गर्ने नेपाली उपभोक्ता सबैले जितेको अनुभूत गर्न सक्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्